मधेस प्रदेश : तेस्रो लहर सकियो, सकिएन होल्डिङ सेन्टरको निर्माण
जनकपुर । मधेस प्रदेशमा कोरोना संक्रमण दर न्यून हुँदै गएको छ । कोरोना संक्रमण भएको आशंकामा चेकजाँच गराउनेको संख्यामा पनि पछिल्लो समय निकै कम देखिन्छ । कतिपयले यसलाई कोरोना संक्रमणको तेस्रो लहर अन्त्य भएको अर्थमा पनि व्याख्या गरेका छन् ।
अर्कोतिर, यूरोप तथा केही एसियाली मुलुकमा कोरोना संक्रमण दर विस्तारै उकालो लाग्दै गएको छ । विज्ञहरु यसलाई कोरोना संक्रमणको चौथो लहर आगमनको संकेत भन्दै सचेत हुन आह्वान गरिरहेका छन् । यसको विस्तार नेपालमा पनि केही महिनामा नहोला भन्ने ग्यारेन्टी छैन । तर मधेस प्रदेश सरकारले भने कोरोना संक्रमण दर कम भएको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणमा बेवास्ता गर्दै आएको देखिन्छ ।
मधेस प्रदेशको पर्सा, बारा, रौतहट, धनुषा, सिरहा जिल्लामा कोरोना संक्रमणको परीक्षण बिहीबार भएन । तर सर्लाही, महोत्तरी र सप्तरीमा भएको कोरोना परीक्षणमा सहभागीमध्ये शतप्रतिशतलाई कोरोना संक्रमण भएको पाइएको मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सर्लाहीमा ३५, महोत्तरीमा १६ र सप्तरीमा ४ जनामा कोरोना संक्रमणको चेकजाँच हुँदा सबैमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य जिल्लामा भने कोरोना संक्रमणको चेकजाँच नै गराउन नआउँदा शून्यमा झरेको तथ्यांकमा देखाइएको छ ।
कोरोना संक्रमणको तेश्रो लहर आउनु अघि प्रदेश सरकारले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै प्रदेशको राजधानी प्रवेश गर्ने आगन्तुकका लागि होल्डिङ सेन्टर स्थापना गर्ने, व्यापक रुपमा चेकजाँच बढाउने, कोरोना अस्पतालको स्थापनालगायत विभिन्न निर्णय गरेको थियो । सो निर्णय भएको करिब एक वर्ष बित्न लागेको छ । तर मधेस प्रदेश सरकारले त्यतिबेला कोरोना चेकजाँचलाई प्रभावकारीरुपमा अघि बढाएकोजस्तो देखिए पनि होल्डिङ सेन्टर स्थापना र व्यवस्थित तथा प्रभावकारी कोरोना अस्पतालको भने अहिलेसम्म व्यवस्था गरिएको छैन ।
कोरोना अस्पतालका लागि बालबालिकालाई लक्षित गर्दै मधेस प्रदेश सरकारले जनकपुरधामस्थित मुजेलियामा रहेको निर्माणाधीन मणिपाल अस्पताललाई नै कोरोना अस्पतालको रुपमा स्थापना गरेको छ । तर धनुषाको ढल्केवर, बाराको पथलैयालगायत विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने मधेस सरकारको योजना भने अझै कार्यान्वयन हुन सकेको छैन ।
करिब एक वर्षपछि कोरोना संक्रमणको ग्राफ ह्वात्तै घट्दै गएसँगै मधेस सरकारले होल्डिङ सेन्टर स्थापना गर्ने योजनालाई बेवास्ता गरेको देखिन्छ । होल्डिङ सेन्टर स्थापना गर्ने काम सुरुवात नै हुन सकेको छैन । यस्तो अवस्थामा संक्रमणको चौथो लहर आए चेकजाँच तथा संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्नेमा स्वाभाविक रुपमा ठुलो प्रश्न उब्जिन्छ ।
स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजयकुमार झाले विगतमा सरकारले केही निश्चित स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरे पनि पछि विस्तारै कोरोना संक्रमण न्यून हुन थालेपछि सोतर्फ स्वाभाविकरुपमा कसैले चासो नदेखाउँदा स्थापना हुन नसकेको बताए ।
उनले मधेस प्रदेशका अधिकांश जिल्लामा कोरोना संक्रमण दर प्रायः शून्यमा झरेको बताउँदै भने, ‘होल्डिङ सेन्टर स्थापना गर्नुको उद्देश्य बाहिरबाट आएका शंकास्पद कोरोना संक्रमितको स्वास्थ्य चेकजाँच गरी केही दिन त्यहीँ राख्ने र पछि संक्रमण नदेखिएको खण्डमा जान दिने भन्ने थियो ।’
तर त्यो स्थापना नभए पनि मधेस प्रदेशको चार वटा नाकामा अस्थायी पोस्ट स्थापना गरी एन्टिजेन विधिबाट कोरोना चेकजाँच गर्ने, कोरोना संक्रमित पुष्टि भएमा ट्रयाक गर्न टोली परिचालन गरिने काम अहिले पनि भइरहेको उनले बताए ।
मधेस प्रदेश अन्तर्गत नेपाल–भारत सीमा नाकामा पर्ने पर्साको वीरगञ्ज भन्सार, इनर्वा नाका, रौतहटको गौर नाका, महोत्तरीको जलेश्वरस्थित भिठ्ठामोड भन्सार नाका र सिरहाको माडर नाकामा अस्थायी चेकजाँच पोस्ट निर्माण गरिएको छ भने ती नाकामा दिनहुँजसो शंकास्पदको स्वास्थ्य चेकजाँच हुने गरेको छ ।
बिहीबार वीरगञ्ज नाकामा ८५ जनाको चेकजाँच गर्दा ८५ जनामै कोरोना संक्रमण पुष्टि भएको छ भने गौर नाकामा ४, भिठ्ठामोड नाकामा ६१ र माडर नाकामा ३६ जनामा कोरोना संक्रमण चेकजाँच भएको थियो । चेकजाँच भएका सबैजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पुष्टि भएकामध्ये कतिपयलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र कतिपय घरमै आइसोलेसनमा रहेको जनाइएको छ ।
निर्देशक झाले भने, ‘हाम्रो मुलुकमा पनि कोरोना संक्रमण कम हुँदै गएपछि सर्वसाधारण लापरवाह हुन थालेका छन् ।’
उनले आममानिसले स्वास्थ्यप्रति लापरवाही हुँदै मास्कको प्रयोग गर्न छाडेकोमा चिन्ता व्यक्त गरे । उनले मास्क, सेनिटाइजर प्रयोग गर्नुपर्ने आवश्यकता अहिले पनि त्यतिकै रहेको बताए । उनले कोरोना संक्रमण दर कम हुनुमा खोपको मुख्य भूमिका रहेको बताउँदै खोप लगाउन बाँकी रहेकाले पनि समयमै खोप लगाएर सुरक्षित हुनुपर्नेमा जोड दिए ।
आर्थिक वर्ष २०७७÷०७८ को प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोरोना संक्रमण रोक्न विशेष योजना घोषणा गरिएको थियो तर ती योजना अहिलेसम्म कागजमै सीमित बनेको छ ।
कोभिड १९ महामारीको जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रको लगानी दोब्बर गरिने घोषणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा रहे पनि त्यसको कार्यान्वयन भएको देखिँदैन ।
प्रदेश सरकारले सरुवा रोग तथा आकस्मिक महामारीबाट बच्न एकीकृत स्वास्थ्य नीतिका साथै २०० शय्यासहितको प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बारा जिल्लाको कलैया उपमहानगरपालिका–१६ झिटकैया र महोत्तरीको जलेश्वरमा निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटेको थियो ।
नीति तथा कार्यक्रममा मधेस सरकारले प्रदेशका जनताको रोग प्रतिरोधात्मक क्षमता बढाउन कार्यक्रम ल्याइने घोषणा पनि गरेको थियो । तर सो योजना पनि कार्यान्वयनमा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी
-
स्पेनलाई ‘अन्तिम’ टुर्नामेन्ट जिताएर यात्राको विट मार्न चाहान्छन् नाडाल
-
प्रचण्डको चाइना कार्ड अभिव्यक्तिबारे बाबुरामको टिप्पणी : यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद !
-
प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम छर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : महासचिव पोखरेल
-
पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क
-
१० बजे, १० समाचार