सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखीकरण थालनी

शुक्रबार, ११ चैत २०७८, २२ : २०
शुक्रबार, ११ चैत २०७८

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ को शुभारम्भ गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो ।

अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।  काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले ब्यानर पढेर औपचारिक शुभारम्भ गरे ।
सो अवसरमा विषय विज्ञ एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा.महेन्द्र विष्टले अनलाइन पत्रकारितालाई भरपर्दो र थप विश्वसनीय बनाउन अभिमुखीकरण आवश्यक भएको भन्दै निरन्तरता दिनुपर्ने बताए ।

अनलाइन र युट्युबका नाममा बढ्दो बेथिति रोक्न काउन्सिललाई थप बलियो बनाउनुपर्ने, मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने धारणा राखे । 

विषय विज्ञ एवं महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यले काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र विभिन्न निर्देशिकाबारे प्रकाश पारे । उनले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतले गरेको गल्ती हो कि मानवीय त्रुटी छुट्याउन विशेष ध्यान दिनुपर्ने बताए ।

हिजोको दिनमा आचारसंहिताबारे पर्याप्त शिक्षा नपुगेर सञ्चारमाध्यममा सही समाचार नआएको हुनसक्ने अब यस्ता अभिमुखिकरणले सचेतना बढ्ने विश्वास उनले व्यक्त गरे । पत्रकारितालाई मर्यादित गराउन अनुगमन र कारबाहीमात्र भन्दा पनि आचारसंहिता शिक्षासमेत व्यापक बनाउन आवश्यक रहेको भन्दै उनले उजुरी र अनुगमनबारे पत्रकारसँगै आम सर्वसाधारणलाई शिक्षा दिन आवश्यक रहेको बताए ।

काउन्सिलका अध्यक्ष बस्नेतले पछिल्लो समय अनलाइनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिए । उनले भने– ‘काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन सोच–विचारका साथ लागिरहेका छौँ ।’

प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको भन्दै उनले अभिमुखीकरणलाई निरन्तरता दिने बताए । नयाँ मिडियालाई बहिष्कार नगरी परिस्कृत गराउनकै लागि यस्तो कार्यक्रम राखिएको अध्यक्ष बस्नेतको भनाइ थियो । 

सहभागी अनलाइनका सञ्चालक÷सम्पादकहरूले युट्युबलाई कानुनको दायरामा ल्याइनुपर्ने, पत्रकार आचारसंहिताको कार्यान्वयन अवस्था, मिडियाप्रतिको जनगुनासो, काउन्सिलले गर्ने अनुगमन तथा कारबाहीको विषयमा जिज्ञासा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप