शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिकाबीच इन्जिनियरिङ कलेज सञ्चालनका लागि सम्झौता

शुक्रबार, ११ चैत २०७८, २२ : ०६
शुक्रबार, ११ चैत २०७८

चितवनको रत्ननगरमा एक बर्षभित्र कक्षा सञ्चालन गर्ने गरी इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिकाबीच शुक्रबार सम्झौता भएको छ । सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र रत्ननगरका मेयर नारायण वनले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा हस्तान्तरण गरेका छन् ।

विद्यार्थी संख्या कम भएर समायोजनमा परेको रत्ननगर १२ जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयको जग्गामा आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो । कलेज सञ्चालनका लागि रत्ननगर नगरपालिकाले सामर्थ्यले भ्याएसम्म बजेट उपलब्ध गराउने जनाएको छ । मेयर वनले कलेजको पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए । 

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार डा.विनोद भण्डारीले स्थापनाको २५ वर्षपछि विश्व विद्यालयले पोखरा बाहिर रत्ननगरमा पहिलोपटक रत्ननगरमा आङ्गिक कलेज सञ्चालन गर्न लागेको बताए । आगामी शैक्षिक सत्रबाट रत्ननगरका कक्षा सञ्चालन गर्ने योजनाका साथ विश्वविद्यालय रत्ननगर आएको उनले बताए ।

एक बर्षमा ८० अर्ब रुपैया शिक्षाको लागि विदेशिने भन्दै उनले यसलाई रोक्न पनि पोखरा बाहिर आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो ।  उपकुलपति आचार्यले पोखरा विश्वविद्यालयको इतिहासमै पोखरा बाहिर आङ्गिक कलेज स्थापना गर्न लागिएको भन्दै यसको सञ्चालनको लागि तीनै तहका सरकारको आवश्यकता हुने बताए ।

‘आङ्गिक कलेज सँधै घाटामा चल्ने विद्यालय हो’ उनले भने, ‘यसको दीर्घकालिन सञ्चालनका लागि सरकारको सहयोग जरुरी रहन्छ । हिम्मत गरेर हामी रत्ननगर आएका छौं ।’ उनले भने, ‘यो चितवनको विकासको प्रमुख आधारका रुपमा स्थापित हुनेछ ।

कार्यक्रममा  रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, कार्यदलका संयोजक रामबाबु घिमिरे, शिक्षा समितिका सदस्य तथा कार्यदलका सदस्य विष्णु पौडेल, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका पदाधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समितिका सदस्यहरु, विद्यालयका शिक्षक, व्यवसायीहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप