चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोह : पहिलो पटक नगरकोट, दोस्रो पटक चन्द्रागिरी र अहिले– शिवपुरी
![चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोह : पहिलो पटक नगरकोट, दोस्रो पटक चन्द्रागिरी र अहिले– शिवपुरी](https://rpcdn.ratopati.com/media/albums/Wang-Yi_oxgj1ITTNR_8pM9B6nqsh.jpg)
तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबको केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दैछन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो ।
चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ । अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा निस्कदैनन् । तर नेपाल भ्रमणमा आएको बेला उनी हाइकिङ गर्न छुटाउँदैनन् । नेपालका सुन्दर पहाडले उनलाई लोभ्याउने गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार यस पटकको भ्रमणमा पनि उनी हाइकिङ्मा निस्कने छन् । पहिलोपटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रोपटक आउँदा उनको रोजाइमा परेको छ– शिवपुरी ।
शनिबार विहान उनले शिवपुरी हाइकिङमा जाने कार्यक्रम तय भएको छ । उनले हाइकिङमा कति समय बिताउँछन् भन्ने केही खुलाइएको छैन । अघिल्ला भ्रमणमा उनले एक देखि डेढ घण्टा हाइकिङमा बिताउने गरेका थिए ।
वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले भक्तपुरको नगरकोट पुगी हाइकिङ गरेका थिए । वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गरेका छन् । भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ ।
सन् २०१४ को डिसेम्बरमा उनी हिँड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उनी त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाएका थिए । उनी सूर्योदय र सूर्यास्त अवलोकन गर्न नगरकोट पुगेका थिए । सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उनी सिधै नगरकोट पुगेका थिए । पछि मात्र थाहा भयो नगरकोटमा उनले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसकेका रहेछन् । उनी रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गरेका थिए ।
वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि उनी सुटुक्क हाइकिङमा निस्केका थिए । सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उनी केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातीर्थ भञ्ज्याङसम्म हाइकिङ गरेका थिए । उनी चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन ।
मातातीर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उनी चन्द्रागिरी नै फर्केका थिए । उनले करिव डेढ घण्टा हाइकिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोको कहर, शनिबार मात्र ९ जनाको मृत्यु
-
देशभर झन्डै १० प्रतिशत क्षेत्रमा सकियो रोपाइँ
-
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पक्राउ
-
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज
-
देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
-
समयमै काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ : महर्जन