सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

आदिवासी जनजाति पत्रकारका जातीय छाता किन ?

शुक्रबार, ११ चैत २०७८, १४ : ३५
शुक्रबार, ११ चैत २०७८

स्वच्छ र निष्पक्ष पत्रकारिताले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । त्यसैले, पत्रकारितालाई राज्यको चौथो अङ्गको रुपमा लिइन्छ । सञ्चारकर्मीहरुको हक हितको लागि आवाज उठाउन नेपाल पत्रकार महासंघको स्थापना भएको छ । पत्रकार महासंघ श्रमजीवी र व्यावसायिक मैत्रीपूर्ण  संस्थाको रुपमा पत्रकारहरुको साझा छाताको रुपमा रहेको छ । महासंघको पछिल्लो केही महाधिवेशनबाट आदिवासी जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र लगायत पत्रकारको लागि छुट्टाछुट्टै कोटा छुट्याएर समावेशी बनाउने प्रयास गरिएको छ । जसमा आदिवासी जनजातिका लागि २ वटा कोटा आरक्षण गरिएको छ । 

बीसौ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट राजकुमार दिक्पाल (अन्नपूर्ण पोष्ट) तथा उजीर मगर (नागरिक) पत्रकार महासंघको केन्द्रीय सदस्य चुनिएका थिए । त्यस्तै, एक्काइसौं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट खिम घले (कान्तिपुर) तथा दिलिप थापा मगर (नेपाल टेलिभिजन), बाइसौ महाधिवेशनमा लक्की चौधरी (गोरखापत्र) तथा मोहनसिंह लामा (गोरखा एफएम) केन्द्रीय सदस्य चुनिएका थिए । त्यस्तै, तेइसौं महाधिवेशनमा नारायण किलम्बु (कान्तिपुर) सचिव तथा शान्ता आङ्बुहाङ र सन्चु ब्लोन (रेडियो थाहा) केन्द्रीय सदस्य छन् । यसरी एउटा सिङ्गो पत्रकार महासंघ हुँदाहुँदै राई, तामाङ, थारू लगायत जातीय पत्रकार तथा सञ्चारकर्मीहरुको छुट्टाछुट्टै छाता संघहरु पनि खोलिएका छन् । यी छाता संघहरुको सञ्जालको रुपमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्थापना भएको छ । आखिर जनजाति सञ्चारकर्मीलाई किन चाहियो छुट्टै छाता संघहरू ? यो बहसको बिषय हो ।

चितवनको सौराहामा यही चैत ६ र ७ गते  फोनिजको सातौं महाधिवेशन सम्पन्न भएको छ । जसको अध्यक्षमा नेपाल टेलिभिजनमा आबद्ध गजुरधन राई चयन भएका छन् । उम्मेदवारी जवर्जस्ती फिर्ता लिन लगाएको भनेर महाधिवेशन आयोजक जिल्ला चितवन शाखा निर्वाचन प्रक्रियामा नै सहभागी भएन । उता फोनिज गण्डकी प्रदेशले आफूलाई फोनिज संघीय प्रदेशबाट अलग गराई अबदेखि स्वतन्त्र गतिविधि गर्ने घोषणा गरेको छ । पत्रकारहरुको जातीय संस्था बलियो नभई फोनिज बलियो हुँदैन । त्यसैले फोनिजले पत्रकारहरुको जातीय संस्था बलियो बनाउने नीति बनाउनुपर्ने अपरिहार्य देखिन्छ । 

२०६४ सालमा स्थापना भएको किरात राई पत्रकार संघको संस्थापक अध्यक्ष गणेश राई भन्छन्– ‘सर्वप्रथम त जाति, भाषा, संस्कृति तथा अस्तित्व जोगाउनको लागि छुट्टै छाता संघ जरुरी छ । नेपाली मिडियामा बलियो पहुँच र स्वाभिमानको रक्षाको लागि, राज्यको अन्य संरचनाहरु जस्तै एकपक्षीय सांस्कृतिक मान्यताबाट निर्देशित रहेको छ । त्यसैले अब बन्ने संघीय राज्यभित्र किरात राईहरूको उत्थानको लागि किरात राई पत्रकार संघको आवश्यकता महशुस गरी खोलेका हौं ।’ 

मातृभाषा सबै समुदायको ढुकढुकी हो, यसलाई अस्तित्वमा नल्याउने हो भने सबै जातजातिको स्थानीय पहिचान हराउने अवस्थामा पुग्न सक्छ । यी तथ्यहरूलाई मध्यनजर गर्दै हरेक जातजातिले मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्नुपर्छ र संगठित हुनुपर्छ । नयाँ पुस्ताले आफ्नो इतिहासमा गर्व गरुन् तथा पेशागत रुपमा सञ्चार माध्यमलाई दीर्घकालीन रुपमा अंगाल्न सकुन् र पेशागत रुपमा सचेत होऊन् भन्ने  सचेतनाको  लागि किरात राई पत्रकार संघले समय समयमा मातृभाषा विकासको निम्ति तथा दक्ष प्रशिक्षकहरु उपलब्ध गराउनको लागि पनि जातीय पत्रकार संघहरू चाहिएको महशुश गरेको हो । तर केही वर्ष यता किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष गुमनाम भएर यसको कुनै गतिविधि हुन सकिरहेको छैन ।

तामाङ सञ्चार समूह २०६२ सालमा स्थापना भएको हो । करीब २ सय बढीको संख्यामा तामाङ सञ्चारकर्मी यस समूहमा सदस्य छन् । ‘पहिलो त सञ्चार माध्यममा लाग्ने सञ्चारकर्मीहरुको आफ्नै हक हितको लागि तथा क्षमता अभिबृिद्धको साथै पेशा सुरक्षाको लागि, दोश्रो कुरा आफ्नो जातिको राजनीतिक मुद्दालाई छिटो छरितो ढंगले सम्बन्धित निकायससम्म पुर्‍याउनलाई पनि एउटा माध्यमको आवश्यकता भएको सोचले पनि जातीय पत्रकार संघ खोल्नु परेको’ जिकिर गर्छन् तामाङ सञ्चार समूहको पूर्व अध्यक्ष प्रतीक तामाङ । उनले भने– तामाङ सञ्चार समूहलाई जिल्लातिर बिस्तार गर्ने क्रममा छौं । तामाङ समुदायमा रहेका विशिष्ट व्यक्तित्व, समाजसेवी, विज्ञ तथा सभासद् राजनीतिज्ञबीच समय समयमा अन्तरक्रिया गराउनुको साथै तामाङ भाषाको उत्थान र प्रवद्र्धनको लागि तालिमहरु पनि दिने गरेका छौं ।

थारू पत्रकार संघ नेपाल २०६७ साल चैत १६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता भएको छ । संघको अध्यक्ष पूर्व अध्यक्ष विनिता चौधरी भन्छिन्– नेपाल पत्रकार महासंघको एक्लो प्रयासबाट सबै भाषाभाषी पत्रकारहरुको हक हित सुनिश्चित गर्न पहिचान सम्भव छैन । जातीय पत्रकारहरुको सुझाव, आवाज र समस्याहरुलाई पत्रकार महासंघसम्म संगठन मार्फत् पुर्याउन तथा समस्या समाधानका लागि दवाव सिर्जना गर्नका लागि यसको स्थापना गर्नुपरेको हो । यसै गरी थारू जातिका इतिहास, धर्म, संस्कृति, भाषा, चाडपर्व, भेषभुषा र जीवन भोगाई आदिलाई पनि विश्वसामु परिचित गराउन एउटा संगठित पत्रकारिताको माध्यमबाट सहज हुने भएकोले  थारू पत्रकार संघ नेपाल जन्मिएको हो । संघका पूर्व अध्यक्ष लक्की चौधरी भन्छन्– हामीले थारूलगायत अन्य आदिवासी जनजातिको मुद्दालाई पनि उठाउने छौं र संवाद, छलफलका माध्यमबाट निकालिएको निचोडलाई नेपाल पत्रकार महासंघसम्म पुर्याउनेछौं । जसको माध्यमबाट समाधानका उपायहरु अवलम्बन गर्न नेपाल पत्रकार महासंघलाई पनि टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं । 

२०६४ साउन ३१ गते राजधानीमा क्रियाशील मगर पत्रकारहरुको भेलाले मगर आमसञ्चारकर्मी समाज गठन गरेको हो । मगर जातिको जातीय भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक लगायतका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गराउने सञ्चार माध्यममा कार्यरत मगर पत्रकारहरुलाई संगठित गरेर उनीहरुको हकहित र अधिकार संरक्षण तथा व्यवसायिक क्षमता अभिबृद्धि गर्ने, मगर जातिको सर्वाङ्गीण विकासका लागि आमसञ्चार माध्यमको संस्थागत विकास गर्ने  मूल लक्ष्य लिएर स्थापना गरिएको हो ।  

मगर आमसञ्चारकर्मी समाजका मनोज घर्तीमगर भन्छन्– ६ दशक लामो इतिहास बोकेको पत्रकार महासङघलाई सबै पत्रकारले साझा भनेर स्वीकार गरेको भए पनि मूलतः अहिले पनि यो आदिबासी जनजाति पत्रकारहरुको पहुँचभन्दा बाहिर छ । पत्रकार महासंघको निर्वाचनलाई हेर्ने हो भने पनि आदिवासी पत्रकारका लागि छुट्याइएको सदस्यमा बाहेक अन्यमा जनजातिको अनुहार देखिन्न । 

पत्रकार महासंघमा पहुँच नभए पनि जनजाति पत्रकारहरुको  संख्या भने दिन प्रतिदिन बढ्दो छ । उनीहरु पत्रकारिताबाट जीविकोपार्जन गर्ने मात्र नभई आफ्नो पेशाबाट आफ्नो समुदायको उत्थानका लागि केही गर्न चाहन्छन् । तमू जातिको ठुलो पर्व ल्होसारको अवसरमा केही वर्ष पहिले तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले ८ जना गुरुङ पत्रकारहरुलाई पुरस्कृत गरेको थियो । थारू पत्रकार संघले पनि थारू समुदायको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्नेलाई विभिन्न पुरस्कार प्रदान गरिरहेको छ ।

त्यसो त नेपालको पत्रकारितामा पहिलो स्नातकोत्तर गर्ने पत्रकार लालध्वज देउसा राई हुन् । त्यस्तै पहिलो रेडियो सञ्चारकर्मी नारदमुनि थुलुङ हुन् । तर पत्रकारितामा आदिवासी जनजातिहरुको ऐतिहासिक तथ्याङ्क भएर के गर्नु, मूलधारको सञ्चार माध्यममा ती समुदायको प्रतिनिधित्व र पह“ुच अत्यन्तै न्यून छ । 

पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको पह“ुचलाई माथि उठाउने मात्रै होईन, आफ्नो समुदायको जनचेतना माथि उठाउन, वास्तविक मुद्दा उजागार गर्न पनि आदिवासी जनजाति पत्रकारहरु  सङ्गठित हुनु आवश्यक छ । यसका लागि समग्र आदिवासी पत्रकारहरुको छाता सङ्गठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)  र जातीय पत्रकारहरूको छाता संगठनको सक्रियता जरुरी छ । तर फोनिजमा पार्टीगत भागवण्डाले पत्रकारहरुको वास्ताविक समस्या समाधानमा लाग्नुभन्दा राजनीति गर्ने थलोको रुपमा विकास हुन थाल्नु राम्रो संकेत होइन ।

लेखक थारू पत्रकार संघको सल्लाहकार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप