गठबन्धन यात्राका आयाम
गठबन्धन अहिले नेपाली राजनीतिको यथार्थ बनेको छ । गठबन्धन भन्ने बित्तिकै कतिपयले त्यसलाई बाध्यता र कतिपयले त्यसलाई आवश्यकताका रुपमा हेर्छन् । राजनीतिक दलहरु कुनै खास उद्देश्य प्राप्तिका लागि केही आधारहरू तय गरी सहयात्रा गर्न सहमत हुन्छन् । त्यसलाई सामान्यतः गठबन्धनको राजनीतिका रुपमा हेरिन्छ ।
नेपाली राजनीतिमा गठबन्धनको प्रयोग नवीन होइन । २०४६ सालको जनआन्दोलन नेपाली काँग्रेस र तत्कालीन वामपन्थी शक्ति एकजुट भएर नगरेको भए त्यो किमार्थ सफल हुँदैनथ्यो । पंचायतकालभरी नेपाली काँग्रेसभित्र लामो समयसम्म गन्थन मन्थन हुँदै रहे कि कम्युनिष्टहरुसँग संघर्ष यात्रा गर्ने कि नगर्ने ? २०४६ साल पश्चातको विभिन्न घुम्तीमा सरकार निर्माण गर्दा गठबन्धन वाध्यता भएर आयो । गठबन्धन कुनैबेला वाध्यता र कुनैबेला आवश्यकता बन्न पुग्छ, त्यसको अत्यन्त मसिनो अन्तर छ ।
माओवादीको आतंक फैलिँदै गैराख्दा र त्यसको ओतमा ज्ञानेन्द्र शाहको निरंकुश शासक बन्ने महत्वाकांक्षा टुसाउन थाल्दा नेपाली काँग्रेसका अग्ला नेता गिरिजाप्रसाद कोइरालाले गठबन्धनलाई राष्ट्रिय आवश्यकताको रुपमा परिभाषित गर्नुभयो । त्यो परिभाषाप्रति राष्ट्रिय र अन्तरराष्ट्रिय बुझाइ अत्यन्त उन्नत र दरिलो बन्न पुग्यो । जनआन्दोलन ऐतिहासिकरुपमै नेपालको कुना काप्चासम्म स्पन्दित भएर आयो । माओवादीहरू यस प्रयत्नका प्रति निहुरे र उनीहरु शान्ति प्रकृयामा आए । छोटो अवधिमा ज्ञानेन्द्र शाह पदमुक्त भए र सदियौँ पुरानो राजसंस्था ढल्यो । त्यसपछि नयाँ राजनीतिको बिहानीमा नव नेपालको नारा गुञ्जायमान हुँदा शान्ति प्रकृयाको कार्यान्वयन, अन्तरिम संविधान निर्माणका कार्यहरुका लागि सर्वदलीय संयन्त्रहरु बने । नेपाली राजनीतिमा यो सर्वथा नवीन र मौलिक प्रयोग थियो । यो तत्कालीन समयमा राष्ट्रिय आवश्यकता थियो । संविधान २०७२ कोर्न सफल हुनुमा गठबन्धन संस्कृतिकै विस्तारित रुप थियो ।
संविधान कार्यान्वयनका लागि भएको निर्वाचन पश्चात खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा बनेको सरकार शक्तिमा यति लठ्ठियो कि लोकतान्त्रिक लोकमार्गका सबै मूल्य चिन्हहरु भत्काउँदै लगे । निर्वाचित अधिनायक भोग्नुपर्ने डर नेपाली जनमानसमा व्याप्त भयो । यस्तो अवस्थामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि एउटा ऐतिहासिक संकल्प लिनुभयो र ओली तन्त्रलाई ढाल्नुभो । त्यसका लागि उहाँले फेरि केही वामपन्थी शक्तिहरुलाई आफ्नो नेतृत्वमा हिँडाउन थाल्नुभएको छ । त्यसको सोझो अभिप्राय चालु संविधानलाई जोगाउने, संविधानप्रतिको जनभरोसालाई फराकिलो बनाउने , संवैधानिक संस्थाहरुको स्वतन्त्रतालाई अक्षुण्ण बनाउने हो ।
वर्तमान नेपाली काँग्रेसको नेतृत्वको सरकारमा यही गठबन्धन तालमेल मिलाउन नेपाली काँग्रेस हैसियतभन्दा कम आकारमा मन्त्रिमण्डलमा छ । अझै पनि प्रधानमन्त्री देउवा केही अन्य दलहरुलाई मन्त्रिमण्डलमा ठाउँ दिन प्रतिवद्ध हुनुहुन्छ ।
अहिलेको मुख्य राष्ट्रिय कार्यभार संविधानको कार्यान्वयन, वर्तमान संघीय लोकतान्त्रिक पद्धतिलाई आम नेपालीको समृद्धिमा अनुवाद गर्ने नै छ । यो काम कुनै एउटा दल विशेषले गर्न सक्दैन । अहिलेको गठबन्धन यात्रा जनआन्दोलन २०६२।०६३ कै उपल्लो रुप हो । यस्तोमा संविधानको यात्रा सकुशल पार गर्ने विभिन्न जटिल मुद्दाहरूको निरुपण जरुरी छ । नेपालका नागरिकको भविष्यमा प्रगति र सम्पन्नता लेखिएको छ । तर, कुर्दाकुर्दै आधुनिक युगका ७० बर्ष गुज्रिसके । आज त्यस्तो प्रगति र सम्पन्नताका लागि संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउने, क्षेत्रीय तनावहरुलाई न्यून गर्ने र राजनीतिक स्थिरता पूर्व शर्तका रुपमा रहेका छन् । यी शर्त पूरा हुने नहुने कुरा गठबन्धनको चाल र चरित्रमाथि निर्भर गर्छ ।
यो संविधान नेपालको राष्ट्रिय एकताको प्रतीक हो । यसलाई यसै अनुकूल आम नेपालीले भरोसा गरुन् । यसका लागि यही संवैधानिक यात्रा मार्फत् सम्पन्नताको सुनिश्चित यात्रालाई अघि बढ्न आवश्यक छ । गठबन्धन यात्राका बारेमा कतिपय सवालहरुलाई कार्पेट मुनि लुकाएर राखिएको छ ।
नेपाली काँग्रेसका शक्तिशाली सभापति एवं गठबन्धन राजनीतिका कुशल अभियन्ता प्रधानमन्त्री देउवाले पटक पटक भनिराख्नुभएको छ कि गठबन्धनलाई असर पर्ने अभिव्यक्ति नदिऔं । उहाँले यसको गतिलाई मत्थर पार्ने कार्य काँग्रेसीजनलाई बोल्न रोक लगाउनुभएको छ । सभापतिको आदेशलाई आम अनुशासित कार्यकर्ताले शिरोधार्य गर्नैपर्छ ।
काँग्रेसभित्र गठबन्धनको अर्थ गलत ढंगले बुझेको देखिन्छ । कम्युनिष्टहरुको आलोचना र गठबन्धनको आलोचना उस्तै उस्तै लाग्न सक्छ जुन स्वभाविक हो । किनभने यसबारे नेपाली काँग्रेस वृत्तमा बहस र छलफल भएकै छैन । गठबन्धन हुनुपर्ने र नहुनुपर्ने दुई विपरीत विचार मात्र अघि सारिएका छन् । कम्युनिष्टहरुको नाम र रुप जे भए पनि तिनीहरुको अवधारणा नै नेपाली काँग्रेसभन्दा भिन्न छ । नेपाली समाजको बनोटले गर्दा नेपाली काँग्रेसको खाँचो परेको हो ।
नेपाली समाजमा जुन किसिमको जातीय, भाषिक, सांस्कृतिक विविधता छ, त्यसलाई कम्युनिष्टहरुले व्यवस्थापन गर्न सकेनन् । बरु उनीहरुले जब जब मौका प¥यो तब तब सलाई कोर्ने काम मात्रै गरे । नेपालको राजनीतिमा ऐतिहासिक रुपमै संसदभित्र अत्यन्त अनुकूलको गणित प्राप्त गर्दा उनीहरुले कसरी लोकतन्त्रका आधारभूत मूल्यहरूमाथि बलमिँच्याई गरे त्यो जगजाहेर छ । कम्युनिष्टहरु शासनमा आए उनीहरुले संविधानको अर्थ र आयाम नै फेर्न लागी पर्छन् । नेपाली काँग्रेसले यो निकट अतितको दुखान्तलाई बिर्सन मिल्दैन । कम्युनिष्टहरू बलिया भए भने दक्षिणपन्थीहरु हौसिन्छन् । आखिर किन ? यतिखेर यो प्रश्न गर्नु नेपाली काँग्रेसका लागि घातक मानिनु हुँदैन ।
नेपाली काँग्रेस र कम्युनिष्टहरु भनेका एउटै होइनन् । यो हात्ती र हात्ती छाप चप्पल जस्तो एक होइनन् । कम्युनिष्टहरुसँग किन सहकार्य गर्ने ? यसको तत्कालीन र दीर्घकालिन लक्ष्य के हो ? त्यसका बारेमा नेपाली काँग्रेसभित्र पारदर्शी, समाजशास्त्रीय तथा व्यवहारिकतामा आधारित छलफल र बहसको माध्यमबाट मात्रै यी जटिल प्रश्नहरुका छिनोफानो गर्न सकिन्छ । गठबन्धन भनेको “मेल्टिंग पट” बनाउनु होइन । काँग्रेसीजन र कम्युनिष्टजन सबैको मानस घुलन भएर एउटै “बस्तु” बनाउनु छैन । मेल्टिंग पटको सिद्धान्त काँग्रेस कम्युनिष्ट गणबीच काम लाग्दैन । यति बेला काँग्रेसको विशिष्ट पहिचान जोगाउन उपयुक्त हुन सक्छ ।
अहिले दुईटा अवस्था छ– एउटा सरकार सञ्चालन र अर्को निर्वाचन । सरकार सञ्चालनका लागि कम्युनिष्ट घटक दलसँगको सहयात्रा पूरै अप्रासङ्गिक हुने भन्नेचाँहि होइन । केपी शर्मा ओली बुढो बाघजस्तै सुनको बाला लिएर सत्ता राजनीतिको उपल्लो डिलमा बसिरहेका छन् । उनले कुनै पनि बेला ग्रेटर कम्युनिष्ट एलाइन्सको भूराजनीतिक तुरुप फाल्न सक्छन् । संसदीय लोकतन्त्रमा सदनभित्रका कुनै पनि दलले आफूलाई सत्ताको अंशियार बनाउने रणनीति बनाउन सक्छन् । यही त लोकतन्त्रको बिशेषता हो । तर, ओली एउटा दल बिशेषका प्रमुख मात्र होइनन् । बरु उनी प्रवृत्ति हुन् । यो लोकतन्त्र विरोधी प्रवृत्ति हो । त्यसलाई रोक्न नेपाली काँग्रेसले समावेशी लोकतन्त्रलाई मान्ने पक्षहरुलाई एक ठाउँमा गोलबन्द गराउन जरुरी छ । प्रधानमन्त्री देउवाले सम्भवतः यही चाहेका हुन् ।
नेपाली काँग्रेसले लोकतन्त्र जोगाउने कित्ताका बीच अन्तरदलीय छलफल गर्न जरुरी छ । यस्ता छलफलहरुमा कल्चरल ग्याप प्रशस्तै आउने गरेको छ । यस्ता छलफलहरु प्रायः सरकारका गति र मतिका बारेमा हुन्छन् । कम्युसनिष्ट दलहरु काँग्रेसमाथि दबाब दिएर जहिले पनि केही झार्न चाहन्छन् । यसले लोकतन्त्रलाई हित गरिराखेको छैन ।
निश्चित रुपमा गठबन्धन भनेको एक प्रकारको सम्झौता हो । त्यसकारण यो दबावकारी हुन सक्दैन, स्वेच्छिक हुन्छ । यो कसैमाथि लाद्न सकिदैन, लाद्न मिल्दैन । गठबन्धन सबै समस्याका समाधानको रामवाण भने कदापि होइन । गठबन्धनका नाउँमा सरकारमा नेपाली काँग्रेस कत्तिको लचिलो हुने त्यसको ध्यान त दिनैपर्छ । तर यो गठबन्धनलाई एउटा ऐतिहासिक र अत्यन्त ठूलो संगठन भएको नेपाली काँग्रेसले निर्वाचनमा लग्ने कि नलग्ने ? यसबारे आम काँग्रेसीले के सोचिराखेका छन् ? यसको हेक्का राख्नैपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण
-
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
-
कोप–२९ मा सांसद शाक्य: बढी मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले असरको क्षतिपूर्ति दिनुपर्छ
-
जलवायु वित्तको माग गर्दै काठमाडौँमा र्याली (तस्बिरहरू)
-
जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार
-
भक्तपुरमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते