नुवाकोटको सूर्यगढीमा तातियो चुनावी माहोल, को–को छन् दाबेदार ?
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् ।
करिब १७ हजार जनसंख्या भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा काँग्रेस विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेसको छ । तर, एमाले र माओवादी पनि यसपटक आफू विजयी हुने दाबी सहित मैदानमा छन् ।
त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । यसमा सबैभन्दा अगाडि काँग्रेसकै स्थानीय नेताहरु रहेका छन् ।
हालसम्म काँग्रेसबाट कुमार गुरुङ, वर्तमान अध्यक्ष सन्तबहादुर घले, शिव अधिकारी, शंकर प्याकुरेल, दिपेन्द्र गिरी, रामजी पौडेललगायत रहका छन् । काँग्रेस नुवाकोट केसी र महत समूहको रुपमा विभाजित रहेकाले आन्तरिक सन्तुलन मिलाएर उम्मेदवार चयन गर्न सकस रहेको स्थानीय नेताहरु बताउँछन् ।
गाउँपालिका अध्यक्षमा दाबी गर्ने कुमार गुरुङको पारिवारिक पृष्ठभूमि राजनीतिक नै रहेको छ । उनका बुबा २०५४ सालको स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि थिए । नेविसंघको राजनीति हुँदै हाल काँग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनी एक सफल व्यवसायी पनि हुन् । उनलाई गाउँपालिकाको एक सशक्त उम्मेदवारका रुपमा हेरिएको छ ।
यस्तै अघिल्लो चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष घलेले आफूले अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि दोहोरिने इच्छा देखाएका छन् । यसैगरी नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका पुराना राजनीतिज्ञका रूपमा रहेका शिव अधिकारी आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षीको रूपमा देखिएका छन् । अन्य दावेदार पनि स्थानीय राजनीतिमा परिचित अनुहार हुन् ।
आकांक्षी धेरै रहेकाले सूर्यगढीमा एकजना उम्मेदवार चयन गर्न सकस रहेको बताइएको छ । उसो त एमाले र माओवादीका पनि उम्मेदवारीका लागि दौडधूप गर्ने नेताहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान