बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको सूर्यगढीमा तातियो चुनावी माहोल, को–को छन् दाबेदार ?

शुक्रबार, ११ चैत २०७८, ०९ : २२
शुक्रबार, ११ चैत २०७८

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । 
करिब १७ हजार जनसंख्या भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा काँग्रेस विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेसको छ । तर, एमाले र माओवादी पनि यसपटक आफू विजयी हुने दाबी सहित मैदानमा छन् । 

त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । यसमा सबैभन्दा अगाडि काँग्रेसकै स्थानीय नेताहरु रहेका छन् । 

हालसम्म काँग्रेसबाट कुमार गुरुङ, वर्तमान अध्यक्ष सन्तबहादुर घले, शिव अधिकारी, शंकर प्याकुरेल, दिपेन्द्र गिरी, रामजी पौडेललगायत रहका छन् । काँग्रेस नुवाकोट केसी र महत समूहको रुपमा विभाजित रहेकाले आन्तरिक सन्तुलन मिलाएर उम्मेदवार चयन गर्न सकस रहेको स्थानीय नेताहरु बताउँछन् । 

गाउँपालिका अध्यक्षमा दाबी गर्ने कुमार गुरुङको पारिवारिक पृष्ठभूमि  राजनीतिक नै रहेको छ । उनका बुबा २०५४ सालको स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि थिए । नेविसंघको राजनीति हुँदै हाल काँग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनी एक सफल व्यवसायी पनि हुन् । उनलाई गाउँपालिकाको एक सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । 

यस्तै अघिल्लो चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष घलेले आफूले अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि दोहोरिने इच्छा देखाएका छन् । यसैगरी नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका पुराना राजनीतिज्ञका रूपमा रहेका शिव अधिकारी आगामी  निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षीको रूपमा देखिएका छन् । अन्य दावेदार पनि स्थानीय राजनीतिमा परिचित अनुहार हुन् । 

आकांक्षी धेरै रहेकाले सूर्यगढीमा एकजना उम्मेदवार चयन गर्न सकस रहेको बताइएको छ । उसो त एमाले र माओवादीका पनि उम्मेदवारीका लागि दौडधूप गर्ने नेताहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप