आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

पललाई थुनामा पठाइँदा किन धरौटीमा रिहा भए उनका म्यानेजर ?

बिहीबार, १० चैत २०७८, १५ : ०९
बिहीबार, १० चैत २०७८

नाबालिगमाथि बलात्कार प्रकरणमा  तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । पलसँगै पक्राउ परेका म्यानेजर  कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीलाई भने एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जोशीमाथि  जबरजस्ती करणी सम्बन्धी कसुरको मतियारको कार्य गरेको  अभियोग पत्रमा आरोप लगाइएको थियो । मतियार भनेको कुनै पनि घटना वारदातसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न रहेको व्यक्ति हो । मतियारले पनि कुनै कसूरजन्य कार्य गर्ने गराउने मनसायपूर्वक मुख्य कसूरदारलाई कसूर गर्न सहयोग हुने गरी कुनै काम कारबाही वा क्रियाकलाप गरेको हुनाले उसले गरेको कार्यअनुसार निजलाई पनि फौजदारी दायित्वप्रति कुनै न कुनै रूपमा जिम्मेवार बनाइएको हुन्छ । तर, प्रस्तुत मिसिल कागजात हेर्दा  घटना वारदातको सन्दर्भमा जोशी उक्त म्युजिक भिडियो सुटिङ टोलीमा गएको वा उनले पीडित समेतलाई प्रदीप थापाको घरमा बस्ने व्यवस्था मिलाएको वा पीडितलाई जबरजस्ती करणी गर्ने सिलसिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग सरसल्लाह गरी चाँजोपाँजो मिलाई दिएको भन्ने कुरा जाहेरी लगायत मिसिल संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ तवरले नखुलेको अदालतको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘वारदात गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको भन्ने कुरा जाहेरवालाले पछि दिएको पूरक जाहेरी र पीडितले पछि पुनः गरी दिएको घटना विवरण कागजबाहेक अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट देखिन नआएको हुँदा निज प्रतिवादीलाई प्रस्तुत मुद्दामा थुनछेकको सन्दर्भमा थुनामा नै राख्नुपर्ने सम्मको अवस्था देखिएन ।’

यस्तो छ  कृष्णप्रसाद जोशीबारे अदालतको आदेश :

अर्का प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीको हकमा थुनछेकतर्फ विचार गर्दा निजले पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित वालिका परिवर्तित नाम ०७८–७९ व्यास–१२ का बीच सुमधुर सम्बन्ध जुटाउने वातावरण मिलाई दिएको तथा उक्त घटना वारदातपछि सहप्रतिबादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई जोगाउने उद्देश्यले उक्त घटना प्रकाशमा नल्याउन तथा उजुर वाजुर नगर्नका निम्ति पीडितलाई दबाब दिने तथा धम्क्याउने लगायतका क्रियाकलाप गरी जबरजस्ती करणी सम्बन्धी कसुरको मतियारको कार्य गरेको भन्ने अभियोग पत्रबाट देखिन्छ ।

जाहेरवालाले सुरुमा जाहेरी दिँदा तथा पीडितले कागज गर्दा यी प्रतिवादी कृष्णप्रसाद जोशीलाई पोलेको नभै पछि मिति २०७८।११।२९ मा आएर पूरक जाहेरी परेको र त्यसको लगत्तै पीडितले पनि निजको नाम समेत लेखाएको देखिन आयो।

प्रस्तुत मिसिल कागजात हेर्दा यसमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई पहिले पहिले पनि जबरजस्ती करणी लगायत यौनजन्य दुर्व्यवहार गरेको सन्दर्भ उल्लेख भएतापनि मूलतः मिति २०७४।१।१४ गतेको घटना वारदातलाई लिएर यो मुद्दा दायर भएको हुँदा प्रस्तुत मुद्दाको कारबाही र निर्णय सोही घटना वारदातसँग मात्र सीमित रहनुपर्ने कुरामा विवाद रहेन ।

प्रतिवादी कृष्णप्रसाद जोशीले मौकामा र यस अदालतमा समेत बयान गर्दा आफू सहप्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले दिएको तलबमा काम गर्ने म्यानेजर भएको नाताले निज र पीडित दुवै जनासँग राम्रो सम्बन्ध भएको र पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको करा निज पीडितले भनेपछि मात्र थाहा पाएको हुँ । मैले सह–प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई त्यस्तो नराम्रो काम गर्न कहिल्यै पनि सहयोग गरेको छैन भनी अभियोग दाबीमा पूर्णतः इन्कार रहेको देखिन्छ।

वास्तवमा मतियार भनेको कुनै पनि घटना वारदातसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न रहेको व्यक्ति हो । मतियारले पनि कुनै कसूरजन्य कार्य गर्ने गराउने मनसायपूर्वक मुख्य कसूरदारलाई कसूर गर्न सहयोग हुने गरी कुनै काम कारबाही वा क्रियाकलाप गरेको हुनाले उसले गरेको कार्यअनुसार निजलाई पनि फौजदारी दायित्वप्रति कुनै न कुनै रूपमा जिम्मेवार बनाइएको हुन्छ ।

प्रस्तुत मिसिल कागजात हेर्दा तनहुँ जिल्लाको दुलेगौंडास्थित प्रदीप थापाको घरमा मिति २०७८।१।१४ गते घटेको घटना वारदातको सन्दर्भमा प्रतिवादी कृष्णप्रसाद जोशी उक्त म्युजिक भिडियो सुटिङ टोलीमा गएको वा निजले पीडित समेतलाई प्रदीप थापाको घरमा बस्ने व्यवस्था मिलाएको वा पीडितलाई जबरजस्ती करणी गर्ने सिलसिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग सरसल्लाह गरी चाँजोपाँजो मिलाई दिएको भन्ने कुरा जाहेरी लगायत मिसिल संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ तवरले खुल्न आएको देखिँदैन ।

जहाँसम्म प्रतिवादी कृष्णप्रसाद जोशीले उक्त घटना वारदातपछि सह–प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह विरुद्ध उजुरवाजुर नगर्न तथा त्यसरी न्यायिक कारबाहीतर्फ गए नराम्रो हुनेछ भनी पीडितलाई डरत्रास देखाई धम्की समेत दिएको भन्ने सन्दर्भ छ, तत्सम्बन्धमा यी प्रतिवादीले गरेको उक्त कार्य कसूरबारे सूचना दिन वाधा अवरोध गरेको विषयसँग सम्बन्धित देखिन्छ र त्यस्तो कार्यका निम्ति कानुनले छुट्टै फौजदारी दायित्वको व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा उल्लेखित विषयतर्फ अभियोजन पक्षबाट समुचित ध्यान पुग्न सकेको पाइएन।

कुनै पनि मुद्दामा कस्तो व्यक्तिलाई मतियार मानिन्छ भन्ने सम्बन्धमा Johnson vs. . Younden, KBD, 1950 को मुद्दामा बेलायतको क्वीन्स बेञ्चले Before a person can be convicted of aiding and abetting the commission of an offence, he must at least know the essential matters which constitute the offence भनी उल्लेख गरेको छ । हाम्रो न्यायिक विधिशास्त्रीय दृष्टीकोणतर्फ हेर्दा कुनै व्यक्तिलाई मतियार भनी सजाय गर्नको लागि उसलाई कसूरका अनिवार्य तत्त्वबारे जानकारी रहनु पर्ने कुरा एउटा पूर्व शर्त हो भने कसुरबारे जानकारी र साझा योजनामा सहभागिताको अतिरिक्त उसले गरेको कार्यबाट मूल कसूरदारमा उत्साह थपिएको स्पष्टतः देखिन्छ वा देखिँदैन भन्ने कुराहरू पनि मतियारको आपराधिक दायित्व यकिन गर्ने क्रममा हेरिनु पर्ने हुन्छ ।

मुख्य कसूरदारको हकमा मनसाय (Mens rea) पत्ता लगाउने सन्दर्भमा उसको कार्य (Actus reus) हेरिन्छ भने मतियारको हकमा पनि सोही माध्यम प्रयोग गरिनुपर्दछ भनी श्रवणकुमार श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी दिलीप बस्याल समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट मतियार हुनका लागि आधारभूत तत्त्वहरूका विषयमा व्याख्या भई न्यायिक सिद्धान्त (ने.का.प. २०७७, भाग ६२, अंक २, नि.नं १०४३०, पूर्ण इजलास) प्रतिपादन भएको देखिन्छ । प्रस्तुत न्यायिक सिद्धान्तलाई यस मुद्दाका प्रतिवादी कृष्णप्रसाद जोशीको हकमा पनि विचार गर्नु पर्ने देखिन आयो।

माथिका प्रकरणहरूमा उल्लेख भए अनुसार प्रतिवादी कृष्णप्रसाद जोशीले मिति २०७४।१।१४ को घटना वारदात गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको भन्ने कुरा जाहेरवालाले पछि दिएको पूरक जाहेरी र पीडितले पछि पुनः गरी दिएको घटना विवरण कागज बाहेक अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट देखिन नआएको हुँदा निज प्रतिवादीलाई प्रस्तुत मुद्दामा थुनछेकको सन्दर्भमा थुनामा नै राख्नुपर्ने सम्मको अवस्था देखिएन ।

तत्काल प्राप्त प्रमाणको उक्त अवस्थाको विद्यमानताको बाबजुद यी प्रतिवादीले सो घटना वारदातबारे समयमै थाहा पाएर पनि पीडितलाई न्यायिक उपचारमा जान सल्लाह सुझाव दिनुको सट्टा उल्टै पीडितलाई उजुर वाजुर गर्न अवरोध पुर्‍याउने तथा धम्क्याउने र डरत्रास देखाउने जस्ता कार्य गरेको तथ्य मिसिल कागजातबाट देखिन्छ । सो कुरालाई प्रतिवादी स्वयंले अधिकारप्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत स्वीकार गरेको अवस्था छ । साथै उक्त तथ्य पूरक जाहेरी ब्यहोरा तथा पीडित लगायत घटना विवरणको कागज गर्ने दुर्गा अधिकारीको कागजबाट समेत समर्थित भएको पाइन्छ ।

अतः प्रस्तुत घटना वारदातको प्रकृति, आरोपित कसुरको गम्भीरता र घटना वारदात पश्चात पीडितप्रति प्रतिवादीले देखाएको गैरजिम्मेवारपूर्ण कृयाकलापलाई दृष्टिगत गर्दा यी प्रतिवादी उपर रहन सक्ने फौजदारी दायित्वलाई निरपेक्ष रूपबाट हेर्न सकिने अवस्था देखिएन ।

तसर्थ पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को उपदफा (१) बमोजिम सोहीसंहिताको दफा ७२ मा उल्लेखित आधार र अवस्थाहरूलाई समेत विचार गरी निज प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीबाट रु. १,००,०००। (एक लाख रुपैयाँ) धरौटी माग गरी निजले उक्त धरौटी दिए तारेखमा राखी र दिन नसके थुनामा राख्न पठाई मुद्दाको पुर्पक्ष गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम यो आदेश पर्चा गरी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप