काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले गरे बन्द आह्वान
खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाली काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ । बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो ।
गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञप्तिमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेको छ ।
एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको काँग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए । बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
एमाले सम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए । उनीहरूले एस्काभेटर चलाउँदै आएका काँग्रेस सम्बद्ध तारामान राईसँग सडक निर्माण योजनाबापत १५ हजार कमिसन मागेको विष्टको भनाइ छ । एमाले र काँग्रेस सम्बद्ध युवा बसिरहेको ठाउँमा बस्नेत बोलाइएका थिए । स्थानीयका अनुसार उनीहरू मादक पदार्थ सेवन गरेर बसिरहेका थिए ।
एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहेको गाउँपालिकामा पाँच वर्षको अवधिमा आफ्नो दलमा आबद्ध व्यक्तिलाई उपभोक्ता समितिमा राखेर कमिसन माग्ने, करारका कर्मचारीमार्फत घुसखोरी गरी भ्रष्टाचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधारणलाई आतंकित बनाउने काम भएको गठबन्धन दलको ठहर छ ।
एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञप्तीमा जनाइएको छ । विरोधमा गठबन्धन दलले संयुक्त विरोधसभा गर्ने तयारी गरेको छ ।
व्यक्तिगत विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै एमालेको ध्यानाकर्षण
नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले भने जाँड रक्सी खानेक्रममा भएको केही व्यक्तिको विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले विज्ञप्ती जारी गर्दै जाँड खानेक्रममा केही व्यक्तिबीचमा व्यक्तिगत विषयमा भएको विवादलाई राजनैतिक रंग दिएर एमालेप्रति घृणा र द्वेष फैलाउने षडयन्त्र रचिएको बताएका छन् ।
एमालेले अस्वस्थ र अमर्यादित गतिविधि गरेर एमालेलाई बदनाम गराउने कुचेष्टा नगर्न सचेत गराएको छ । विज्ञप्तिमा एमालेको कार्यालय भवन शिलान्यास लगायतका कार्यक्रमलाई प्रभावित बनाउनेगरी बन्द हडताल गरेर नागरिकमा भय, त्रास र आतंक सिर्जना भएकोप्रति दुःख व्यक्त गरिएको छ ।
कार्यालय बन्द नगर्न गाउँपालिकाको निर्देशन
गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले निर्देशन जारी गर्दै शुक्रबार कुनै पनि सरकारी बिदा नपरेको र सरकारी कार्यालय बन्द नहुने स्पष्ट पारेको छ ।
गाउँपालिका अध्यक्ष शंखबहादुर राईले जारी गरेको निर्देशनमा कुनै पनि विद्यालय वा सरकारी कार्यालय बन्द गरी कर्मचारी तथा शिक्षक अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन एन २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । गाउँपालिकामा बन्द गर्ने र बन्द गर्न नदिने पक्षका मुठभेडको अवस्था सिर्जना हुनसक्ने खतरा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान