शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनजाति महासंघको महाधिवेशनप्रति प्रधानमन्त्री देउवाको चासो

बिहीबार, १० चैत २०७८, १६ : २२
बिहीबार, १० चैत २०७८

आदिवासी जनजाति महासंघको महाधिवेशनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो लिएका छन् । नवलपरासीको कावासोतीमा जारी महाधिवेशनबाट चयन हुने महासंघको कार्यसमिति गठबन्धनअनुसार बनाउन प्रधानमन्त्री देउवाले खबर पठाएको स्रोतले जनाएको हाे । 

महासंघमा एमाले पहिलो स्थानमा छ भने काँग्रेस दोस्रो स्थानमा छ । त्यसपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् । तर, २१ सदस्यीय पदाधिकारीमा काँग्रेस र एमालेले भागबण्डा गरेपछि माओवादी केन्द्र र जसपाको भागमा कुनै भाग परेन । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर महासंघमा गठबन्धन अनुसार सीट बाँडफाँड गर्न आग्रह गरेका छन् । उनको आग्रहपछि प्रधानमन्त्री देउवाले आफ्ना स्वकीय सचिव भानु देउवालाई महासंघको महाधिवेशनबाट चयन हुने कार्यसमितिमा गठबन्धन अनुसार मिलाउन भनेका छन् । 

प्रधानमन्त्री देउवाको निर्देशनपछि भानु देउवाले महासंघमा रहेका काँग्रेस निकट नेता इन्द्रबहादुर गुरुङलाई फोन गरेर महासंघको पदाधिकारीमा माओवादी केन्द्रलाई पनि समेट्न भनेका छन् । प्रधानमन्त्री देउवाको निर्देशन गएपछि अहिले महासंघमा सत्ता गठबन्धन अनुसार कसरी पदको व्यवस्थापन गर्ने काँग्रेस निकट जनजातिहरूले छलफल गरिरहेका छन् । २१ पदाधिकारीमध्ये एमालेको भागमा ११ परेको छ भने काँग्रेसको भागमा ९ परेको छ । दुई दलबीच भागबण्डा भइसकेपछि अब काँग्रेसले आफ्नो भागबाट माओवादी केन्द्र र जसपालाई दियो भने छुट्टै कुरा हो तर आफूहरु आफ्नो भागबाट नदिने एमाले निकट जनजातिका नेताहरुले बताए । अहिले महाधिवेशनको बन्दसत्र चलि रहेको छ । 

कार्यसमिति चयनदेखि लिएर अन्य विषयमा छलफलका लागि काँग्रेस पार्टीले पार्टीका नेता इन्द्रबहादुर गुरुङ, दीलमान पाख्रिन र रेशम गुरुङ गरी तीन सदस्य कार्यदल बनाएको छ । त्यस्तै, एमालेले गोकुल धर्तीमगर, पसाङ शेर्पा र राजकुमार लेखसहितको कार्यदल बनाएको छ भने माओवादी केन्द्रले सुरेश आलेमगर र परशुराम तमाङसहितको कार्यदल बनाएको छ । यी तीनटै कार्यदलको बीचमा संयुक्त छलफल पनि भएको छ तर भागबण्डामा काँग्रेस र एमालेबीच मात्र कुरा मिलेको छ । अहिलेसम्मको सहमति अनुसार काँग्रेसले अध्यक्षमा दावी गरेको छ । चुनावै भयो भने काँग्रेस र एमालेबाहेक अरु कुनै दलको तर्फबाट पदाधिकारी आउन सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप