आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि यौनहिंसा बढ्यो : राष्ट्रिय महिला आयोग

बिहीबार, १० चैत २०७८, १३ : ४०
बिहीबार, १० चैत २०७८

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन हिंसाका घटना बढेको बताएकी छिन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि प्रहरीले पनि दुःख दिने गरेको उल्लेख गरिन् ।

अध्यक्ष पराजुलीले १० वर्ष मुनिका बालिका र ७० बर्षमाथिका महिलाका बलात्कारी पुरुषलाई जन्मकैदको सजायको व्यवस्था भएपनि कार्यान्वयनमा समस्या रहेको बताइन् । कार्यक्रममा उनले प्रश्न गरिन्– ‘१५ बर्षकी बालिका यौनकर्मी भइन् भनेर कारवाही गर्ने तर १७ वर्ष ११ महिना २९ दिनको बलात्कारी पुरुषलाई किन सजाय नगर्ने ? मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु यौनकर्मी हैनन् तर उनीहरुमाथि यौन हिंसाका घटना भइरहेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई प्रहरीले शरीर मास्ने बेच्ने कसुर अन्तरगत मुद्दा लगाएर दुःख दिने गरेको अवस्था छ ।’

उनले प्रत्यक्ष रुपमा आयोगमा दैनिक ३० देखि ४० वटा महिला हिंसाका उजुरी आएपनि आयोग केही गर्न सक्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्–‘हामी दाँत नभएको बाघको रुपमा रहेका छौँ । उजुरी आएपनि हामीले कारवाही गर्ने, कारवाही सिफारिस गर्ने अवस्था छैन्, मिल्न सक्ने मिलाएर पठाएका छौँ, मिल्न नसक्ने अवस्थाका बिषयलाई अदालत पठाउने गरेका छौँ । महिला आयोग नाम भएपनि हामी अधिकार विहिन जस्तो छौँ ।’

उनले विद्यमान महिला सम्बन्धी कानुनी प्रावधानमा कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर जानका लागि आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप