जंगबहादुर राणासँग जोडिएको घरको अनौठो कथा
काठमाडौंस्थित वसन्तपुर दरबारबाट ५० कदम जति दक्षिणतर्फ मरु टोलमा अवस्थित अट्कोनारायण थान मन्दिरको अगाडि रहेको यो घर (हेर्नुहोस्ः तस्विर) ले ऐतिहासिक महत्व बोकेको छ । यो घरको तत्कालीन साहुको नाम धर्म नारायण मानन्धर हो । यो पुरै बस्ती मानन्धरहरुको थलो हो । हालै काम विशेषले मरु टोल जाँदा यही घर अगाडि २ घन्टा जति भुल्ने अवसर मिल्यो । ऐतिहासिक महत्व बोकेको यो घरबारे केही कुरा लेख्न मन लाग्यो ।
जंगबहादुर राणासँग जोडिएको यो घरको कथा अनौठो छ । तर घरको कुरा गर्नुअघि जंगबहादुर राणाकै कुरा गर्नु मनासिव होला । कुनैबेला जंगबहादुर राणा प्रधानमन्त्री हुनुअघि सामान्य सरकारी जागिरे थिए । दुइ दुइ पटक पजनीमा परेर उनी बेरोजगार बनेका थिए । त्यही बेला उनको परिवारलाई समेत दिनदशाले घेरेको थियो । जंगबहादुर त्यो बेला बेरोजगारीले कतिसम्म थलिएका थिए भने उनी जागिर खोज्न बनारससम्म पुगेका थिए । उनी स्वदेश फर्किंदा उनकी श्रीमतीको निधन भइसकेको थियो । पत्नीको निधन भैसकेकोले जंगवहादुरले साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने योजना बनाए । अनि, ससुरासमक्ष प्रस्ताव राखे । तर बेरोजगार र चरम अभावले सडकछाप भएका जंगबहादुरलाई ससुराले छोरी दिन मानेनन् । उनलाई हप्काउँदै घोक्रेठ्याक लगाएर बाहिर निकाले ।
समय फेरियो । जंगबहादुर प्रधानमन्त्रीको कुर्सीमा विराजमान भए । प्रधानमन्त्री हुँदासम्म उनको सालीको विहे अन्यत्र भैसकेको थियो । पछि जंगबहादुर सालीको घर गए । सालीको लोग्नेलाई खाँबोमा बाँधेर, सालीलाई अपहरण गरेर ल्याईछाडे र पत्नी बनाए । जंग बहादुरमा सत्ता र शक्तिको तीब्र लालसा पलाउनु र सत्ताको शिखरमा पुगेर सर्वशक्तिमान भएपछि तरुनीहरुको भीड लगाएर राशलीलामा डुबुल्की मार्नुमा उनको मनमा गढेको यही ईख र गरेरै देखाउने बदलाको भावना थियो सायद ।
बेरोजगारी र अभावले उनी विक्षिप्त भएर बरालिएका थिए र जुवाको लतमा लागेका थिए, ऋण काढेर उनी जुवा खेल्थे । एकपटक जंगे ठूलो जुवाको खालमा हारेर टाट पल्टिए र तिर्नुपर्ने रकम त्यो बेलाको ११ हजार नाघेको थियो । जंगेले अब पैसा तिर्न सक्दैन भनेर मरु टोलको चर्चा गरिएको सोही घर अगाडि उनीबाट पैसा लिन पर्नेहरुले उनलाई घेराउ गरेर निर्घात कुटपिट गरे । उनको धन्नै ज्यान गएको थियो ।
सो घरको साहु नेपालकै सबैभन्दा धनी मानिन्थे । जंगबहादुर त्यता आइरहने हुनाले जंगसँग यो घरको साहुसँग राम्रो चिनजान थियो । जंगको मरणासन्न हालत देखेर साहुलाई उनीप्रति दया पलायो । र, उनले जंगले तिर्नुपर्ने ११ हजार रकम सम्बन्धित ब्यक्तिहरुलाई तिरिदिए । अनि, जंगलाई मुक्त गराए ।
यसरी जंगबहादुर नेपालको राज्यशक्तिको शिखरमा पुग्न सक्नुमा यो घरको साहुको महत्वपूर्ण भूमिका छ । यी मानन्धर साहुले जंगबहादुरलाई आजीवन आर्थिक सहयोग गरे । जंगबहादुर शक्तिको शिखरमा रहँदा समेत यी साहुसँग सुमधुर सम्बन्ध रह्यो । यी साहु कतिसम्म धनाढय रहेछन् भने जंगबहादुरको समयमा नेपाल र तिब्बतबिच युद्धको वातावरण सिर्जना भयो । तर नेपालसँग युद्ध लड्ने पैसाको अभाव रहेछ । जंगबहादुरले यिनै साहुसँग राय सुझाव लिए । साहुले जंगलाई भनेछन्, ‘कदाचित युद्ध भैहाल्यो भने पछि नहट्नु, युद्धको खर्च म ब्यहोर्छु ।’
साहुको ढाडस पाएपछि जंगले तिब्बतबिरुद्ध सेना पठाएर हमला गरे र तिब्बती सेनालाई आत्मसमर्पण गर्न बाध्य तुल्याए । त्यो युद्धको लागि यो घरको साहुले त्यो बेलाको १३ लाख खर्च गरेछन् । अब त्यो बेलाको १३ लाख कति हो त ?
अब त्यो बेलाको विभिन्न बस्तुहरुको मूल्य दर र आजको मूल्यदर तुलना गरेर हेरौं । विसं १९०८ को मूल्य दरअनुसार एक रुपैयाँमा एक धार्नी घ्यू किन्न पाइन्थ्यो । त्यस्तै १ रुपैयाँमा ३० माना मार्सी चामल, रहरको दाल १४ माना, मासको दाल २० माना पाइन्थ्यो । त्यो बेला जति घ्यु १ रुपैयामा पाइन्थ्यो, त्यति घ्यू अहिले किन्न पर्दा १८ सय रुपैयाँ पर्छ । यस हिसाबले यो अबधिमा सरदर १८ सय गुणाले मूल्य वृद्धि भएछ ।
यी मानन्धर साहुले त्यो बेला तिब्बतसँग युद्ध लड्न खर्च गरेको १३ लाखलाई १८ सयले गुणा गर्दा आजको मूल्य अनुसार मूल्याङ्कन गर्दा २ अर्ब ३४ करोड हुन आउँछ । अब यो प्रसंगलाई यसरी पनि हेरौं, त्यो बेला एकजना नेपाली ब्यापारीले देश संकटमा पर्दा राज्यको लागि निजी ढंगले २ अर्ब ३४ करोड रुपैयाँ खर्च गर्न तयार भएछन् ।
अब अहिलेका धनाढ्यहरु हेरौं त, कर छली गर्ने र सरकारी जमिन हड्पेर दोहन गर्नु बाहेक अरु केही योगदान छ र ? उ जमानाका यस्तै साहु महाजनहरुले जात्रा, पर्व, संस्कृति, परम्परा र सम्पदाहरु सदा कालको लागि जोगाउन स्थापित गरेको गुठी र जग्गाहरु लुटेर धनाढ्य कहलिने कपूतहरु यहाँ अहिले ठालु पल्टेका छन् । गुठीको जग्गा कौडीको भाउमा लुटेर खाने सुमार्गी, बतासेहरु अहिलेका धनाढ्य रे ! राज्यको ढुकुटी दोहन गरेर बिरालोले बच्चा ओसारे झैं पैसा जति हुन्डी मार्फत बिदेश थुपार्ने अहिलेका नेता, कर्मचारी, कथित धनाढ्यले यी साहुबाट सिक्न पर्ने हो कि ? यहाँ त अहिले देशमा कोरोना महामारकिो प्राकृतिक बिपत्ति परेर देश संकटमा फँस्दा त्यही संकटलाई अकुत पैसा कमाउने अवसरको रुपमा दुरुपयोग गर्ने अवसरवादीहरुको भीड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन