शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावसम्म गठबन्धन कायम रहन्छ : आरजु राणा

बिहीबार, १० चैत २०७८, ११ : ५२
बिहीबार, १० चैत २०७८

नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् ।

नेतृ डा.राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरू सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा.देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा काँग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् । 

उनले भनिन्, ‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’ 

स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन काँग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरिन् ।
उनले आफ्ना विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताइन् ।

नेतृ डा.देउवाले काँग्रेसका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मिलेर र एकजुट भएर लाग्न आग्रह पनि गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप