शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा क्षयरोग नियन्त्रणमा चुनौती बढ्दै

औषधि प्रतिरोधी क्षयरोगीको सङ्ख्या चिन्ताजनक
बिहीबार, १० चैत २०७८, ०८ : ५५
बिहीबार, १० चैत २०७८

नेपालमा क्षयरोग (टीबी) नियन्त्रणमा चुनौती बढ्न थालेको छ । औषधिले समेत निको नहुने खालको क्षयरोग सङ्क्रमितको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन् । नेपालमा बर्सेनि औषधि प्रतिरोधी क्षयरोगी अर्थात् औषधिले काम नगर्ने अनुमानित २२ सय बिरामी फेला पर्छन् । जनसङ्ख्याको अनुपातमा यो सङ्ख्या चिन्ताजनक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नेपाल औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको देशमध्ये एक हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि नै औषधि प्रतिरोधी क्षयरोगीको उच्च प्रकोप भएका ३० देशको सूची समावेश गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममा ५६९ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४१८ जना बिरामीमात्र उपचारको दायरामा आएका थिए । राष्ट्रिय क्षय रोग केन्द्रका निर्देशक सञ्जय ठाकुरले अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागेर उपचारको पहुँचमा आएको सङ्ख्यालाई हेर्दा झनै चुनौती थपिएको बताए ।

सरकारले प्रत्येक वर्ष ४१ हजार ५०० क्षयरोगीलाई उपचारको दायरामा ल्याउन सकेको छैन । क्षयरोगीलाई पत्ता लगाई उपचारको दायरामा ल्याउन आवश्यक देखिएको डा.ठाकुरले बताए । उनले भने, ‘राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौती हो ।’

टीबी रोगको औषधि लगातार ६ महिनासम्म खानुपर्छ । धेरै बिरामीले एकदुई महिनामात्रै औषधि सेवन गरी स्वस्थ भएको महसुस गरी बीचमै औषधि छाड्दा रोग नियन्त्रण गर्न समस्या भएको उनले बताए । नेपालमा स्वास्थ्य सेवा प्रणाली कमजोर भएका कारण क्षयरोग नियन्त्रण गर्न कठिन भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

केन्द्रका अनुसार नेपालमा प्रत्येक दिन १९१ जना क्षयरोगका नयाँ बिरामी थपिने गर्छन् । दैनिक ११५ केस उपचारको दायरामा आउँदैनन् र क्षयरोगकै कारण दैनिक ४४ जनाको मृत्यु हुने गर्छ ।

२०७४/७५ मा गरिएको सर्वेक्षणले नेपालमा नयाँ र पुराना गरी क्षयरोगका १ लाख १७ हजार बिरामी छन् । यस्तै, क्षयरोगका नयाँ बिरामी बर्सेनि ६९ हजारको हाराहारीमा थपिने गर्छन् । यो रोगबाट वर्षमा १६ हजार जनाको मृत्यु हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को  तथ्याङ्क अनुसार नेपालमा २८ हजार ६७७ क्षयरोगका बिरामी उपचारको दायरा आएका छन् । केन्द्रका अनुसार यस रोगको उपचार सफलता ९१ प्रतिशत छ । जसमध्ये ३३ प्रतिशत महिला, ६७ प्रतिशत पुरुष र ७ प्रतिशत बालबालिका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोग नियमित उपचारले निको हुने रोग भए पनि वार्षिक १५ लाख मानिसको मृत्यु यही रोगका कारण हुने गर्छ । संसारभरि करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित छन् । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख  महिला र ११ लाख बालबालिका छन् ।

स्वास्थ्य मन्त्रालयले क्षयरोग प्रिभिलेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनको सिफारिसमा नेपालमा क्षयरोगको अन्त्य र लक्ष्य प्राप्तिसम्बन्धमा आर्थिक वर्ष २०७८/७९ देखि पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिएको निर्देशक ठाकुरले बताए ।

यस रणनीतिले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढीकरण गरी क्षयरोग सेवाको सुधार गर्ने उनको जिकिर छ । मेडिकल कलेज, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चित गर्ने, देशका विभिन्न ४ स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना, जिनएक्सपर्ट माइक्रोस्कोपिक केन्द्रहरूमा विस्तार गर्ने, स्वास्थ्य र परिवारमा आधारित डट्स सेवाको विस्तार तथा लागू गर्ने योजना यो रणनीतिमा समावेश छन् । यस्तै, केन्द्रस्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन साथै ७ प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विकास तथा विस्तार गर्ने, स्वास्थ्य संस्थामा बिरामीको विस्तृत विवरणमा आधारित विद्युतीय निगरानी प्रणालीलाई सुदृढीकरण गर्ने रणनीति रहेको उनले सुनाए ।

केन्द्रका अनुसार, क्षयरोग मुक्त नेपाल घोषणा अभियानमा राजनीतिक प्रतिबद्धता, समुदायको अपनत्व र सरकारी र निजी क्षेत्रको सहभागितामा प्रत्येक स्थानीय तहलाई क्षयरोग मुक्त गर्ने लक्ष्य गरेको उनको भनाइ छ । क्षयरोग निवारणको लक्ष्य हासिल गर्न २५ वटा स्थानीय तहमा पहिला कार्यान्वयन गरिने योजना रहेको उनले सुनाए ।

क्षयरोग माइक्रोब्याक्टेरिया ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक रोग सरुवा रोग हो । यो रोग लाग्दा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहन्छ । साझँपख ज्वरो आउने, खकारमा कहिलेकाहीँ रगत देखापर्ने, खाना खान मन नलाग्ने, शरीरको तौल घट्ने, छाती दुख्ने जस्ता लक्षण यो रोगका बिरामीमा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप