शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भूतपूर्व सैनिक सम्मेलन शुरु

बुधबार, ०९ चैत २०७८, २२ : ११
बुधबार, ०९ चैत २०७८

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन दिपायलबाट शुरु भएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वयमा निवृत्तिभरणमा रहेका पूर्व सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सैनिक सम्मेलन–२०७८ शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले बुधवार दिपायलस्थित श्री नम्बर–५ बाहिनी अड्डामा सैनिक सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुलामा बस्ने ६५० जना पूर्व सैनिक तथा परिवारको सहभागिता रहेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न पूर्व सैनिकहरूले गरेको भूमिकाको प्रशंसा गरेका छन् । पूर्व सैनिक र तिनका एकल महिलाहरुको सर्वपक्षीय समुन्नति र प्रगति नेपाली सेनाको बलियो आधार स्तम्भ रहेको प्रधान सेनापति शर्माले बताए ।

नेपालमै बसेर परिश्रम गरे सफल भइने बताउँदै शर्माले भने– ‘वेलफेयर भिजन–२०३० अनुरुप हिताधिकारीहरुको चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य राखेका छौं ।’

सैनिक कल्याणकारी कार्यक्रमलाई नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म सेवा, सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गरिने शर्माको भनाई थियो । कार्यक्रममा दिपायलको सिलगढी नगरपालिका–५ बस्ने पूर्व सैनिक ८४ वर्षीय जमदार लक्षिमन भण्डारी, अवकाश प्राप्त स्वर्गीय हुद्दा जय रानाकी पत्नी र केआई सिंह नगरपालिका–५ बस्ने ८६ वर्षीया एकल महिला श्रीमती खिमादेवी रानालाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट उद्यमी व्यवसायीहरुलाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप