सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लगानी नडुब्ने वातावरण सुनिश्चित गरे कृषि क्षेत्रमा लगानी गर्न तयार : बैंकर

बुधबार, ०९ चैत २०७८, २१ : १८
बुधबार, ०९ चैत २०७८

नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेसँगै चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।

कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।

मेलाको उद्घाटन गर्दै गभर्नर अधिकारीले राज्यको नीति अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजेपनि त्यसो हुन नसकेको बताए । अधिकारीले राज्यको नीति कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउन खोजिए पनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमश घट्दो गएको स्वीकारेका हुन् ।

‘राज्यको नीति हेर्दा अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजिएको देखिन्छ, तर अर्थतन्त्रको ड्राइभर भने रेमिट्यान्स हुन खोजिरहेको छ,’ अधिकारीले भने, ‘कृषि र त्यसको इकोसिस्टमसँग गाँसिएको समस्या निकै जटिल छन् । युवामा कृषि प्रमुख पेशा हुनसक्छ, परिवार धान्न र कमाउन सक्छु भन्ने आत्मविश्वास जगाउनुपर्छ ।’

अधिकारीले कृषिको लागि आत्मविश्वास मात्रै भएर नहुने भन्दै जमिन, सिञ्चाई, बिउ, मल, विषादी र प्रविधिको व्यवस्था पनि हुनुपर्ने बताए । ‘उत्पादनलाई बजारीकरण पनि चाहिन्छ, बजारीकरणका लागि उचित सप्लाइ चेन चाहियो,’ उनले भने, ‘कयौं ठाउँमा त्यो चेनमा ब्रेक भएको पाउँछौँ, जसले गर्दा कृषि सही दिशामा अगाडि बढ्न सकेको छैन ।’

कृषि क्षेत्रको विकासको लागि राज्यबाट चालिएका कदमहरू कमी भने नरहेको उनले बताए । ‘राज्यले सहुलियतपूर्ण कर्जा, राष्ट्र बैंकले २०८१÷८२ सम्मको कूल कर्जाको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । मलमा करिब ५५ प्रतिशत अनुदान सरकारले दिएको छ,’ उनले भने, ‘त्यही पनि के मिलेको छैन, जसले गर्दा सोचअनुसार कृषिबाट अर्थतन्त्रले योगदान पाउन सकेको छैन । कृषक सन्तुष्ट भएका छैनन् ।’

यद्यपि कृषि क्षेत्रमा केही परिवर्तन भने भएको उनको तर्क छ । ‘विदेशबाट फर्केर आएको कयौं युवाले आफ्नो सीपको क्षेत्रमा गरेको लगानी धेरै ठूलो छ । कृषिलाई व्यवसायीकरण गर्ने र कृषिमा आत्मनिर्भरतर्फ मुलुक उन्मुख छ,’ उनले भने, ‘एक दशक अगाडि बैंकहरुले कृषि कर्जालाई सबैभन्दा जोखिमयुक्त रुपमा लिने गरेका थिए,’ उनले विगत सम्झँदै भने, ‘अहिले साना तथा कृषि कर्जा डुब्दैन भनेर बैंकहरू नै कृषिमा कर्जा लगानी गर्न आकर्षित भएका छन् । कृषिमा १५ प्रतिशत लगानी गर्नै पर्छ भनेर पनि बैंकहरू त्यतातिर निर्देशित भएका छन् ।’

कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झन्झटिलो प्रक्रिया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् ।

कृषि सचिव गोविन्दप्रसाद शर्माले अहिले पनि किसानहरुले धितोको कारण कृषि कर्जाबाट हामी बञ्चित भयौं भन्ने गुनासो गर्ने गरेको बताए । ‘किसानको धितोको कारण कृषि कर्जा पाएनौं भन्ने गुनासो छ, त्यसलाई समाधान गर्न परियोजना धितो राखेर अथवा अन्य माध्यमबाट भएपनि कृषकले कर्जा पाउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘कृषिमा कर्जासँगै बीमाका पहुँच विस्तार गर्न आवश्यक छ, कृषक रजिस्ट्रेसन सुरु गर्यौं तर, कार्ड दिन सकेनौँ, त्यसले पनि केही समस्या समाधान गर्न सक्थ्यो ।’

नबिल बैंकका अध्यक्ष समेत रहेका ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यू’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मूल्य श्रृखंला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए । ‘नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,’ उनले भने, ‘हाम्रो उर्वर जमिन भोलि रहन्छ कि रहँदैन, भोलिको दिनमा सन्ततिको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो,’ उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि बैंकहरुले कृषि क्षेत्रमा पर्याप्त रुपमा कर्जा लगानी गरेको बताए । उनले कुल कर्जा ‘फोर्टफोलियो’ बाट ५२५ अर्ब कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा ४४० अर्ब लगानी भइसकेको बताए ।

‘४४० अर्ब कर्जा कृषि क्षेत्रमा लगानी भएको छ, करिब १ खर्ब कम छौं । अहिले बैंकमा स्रोतको समस्या छ, स्रोत अभावलाई कम गर्दै कृषि क्षेत्रमा बैंकहरुको लगानी वृद्धि भइरहेको छ,’ उनले भने, ‘१० लाखसम्मको कृषि कर्जामा १ पानामा स्वीकृत गर्ने भनेर बैंकर्स संघबाट बैंकहरुलाई सर्कुलर गरेका छौं, अब कर्जा मात्रै नभएर कृषिको विकासको लागि सबै मिलेर ‘चेन म्यानेजमेन्टमा’ काम गरौं ।’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । शाहले आफ्नाे अनुभव सुनाउँदै भने, ‘धेरै ठाउँमा जाँदा तपाईंहरु किसानलाई कर्जा दिनु हुँदैन रु बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो ? घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनु हुन्न भन्ने गरेको सुनिन्छ,’ उनले सुनाए ।

 ‘नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसनसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरुले पैसा रोपेर केही हुँदैन बीज चाहियो भन्ने रहेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप