बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी फुटाउने प्रयास असफल भयो  : प्रचण्ड

बुधबार, ०९ चैत २०७८, १० : ००
बुधबार, ०९ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा गरिएको सुझबुझपूर्ण निर्णयले माओवादीलाई फुटाउने प्रयास असफल भएको बताएका छन् । बुधबार माओवादी केन्द्रको प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्तिले माओवादीलाई फुटाउन तथा कमजोर बनाउन अनेक षड्यन्त्र गरेको बताउँदै प्रचण्डले त्यसकै लागि एमसीसीमा दाउ हेरे पनि त्यो सम्भव नभएको बताए ।

‘अहिलेपनि पार्टीभित्र कुनै फाटो सिर्जना गर्न सकिन्छ कि भनेर निकै प्रयास भयो । तर एमसीसीबारेको व्याख्यात्मक घोषणाले त्यो षड्यन्त्र असफल भएको  छ’, उनले भने । एमसीसी पास भएपछि पार्टीभित्र फाटो ल्याउन प्रयास भएपनि सबै फरक मतलाई सम्बोधन गरिने भएपछि पार्टी एकढिक्का भएको बताए ।

केन्द्रीय समिति बैठकमा फरक मतलाई समेटेर अघि बढ्ने र आवश्यक परे सबै फरक मतबारे पार्टीमा उपयुक्त समयमा हुने प्रचण्डले बताए । उनले पार्टी अहिले एकढिक्का भएर अघि बढेको बताउँदै आगामी चुनावमा पार्टीलाई जिताउन भूमिका खेल्न प्रवासका अगुवा नेताहरुलाई आग्रह गरे ।

उनले आफ्नो पाटीलाई देशी विदेशी प्रतिक्रियावादीहरुले अपमानित गर्ने प्रयास गरेपनि राजनीतिको केन्द्रविन्दुमा भने माओवादी नै रहेको बताए । प्रचण्डले भन्नेहरुले पार्टी सिद्धियो भनेपनि लड्दै उड्दै पार्टी नै राजनीतिको केन्द्रमा रहेको बताए । 

‘अवसरवादीहरुबाट निरन्तर हामीलाई अपमानित गर्ने  प्रयास भएको छ । तर राजनीतिको केन्द्रबिन्दु माओवादी नै  हो’, प्रचण्डले भने, ‘माओवादी हजारौँ पटक सिद्धियो भनेका छन् तर केन्द्रमा हामी नै छौँ । यसबाट उनीहरुलाई सहिसक्नु भएको छैन’, प्रचण्डले भने, ‘पार्टी फुटाउने र कमजोर पार्ने षड्यन्त्रहरु चलिनै रहेका छन् । अरुहरुका लागि यो सामान्य चुनाव मात्रै हो, माओवादीको लागि सामान्य चुनाव मात्रै होइन । एउटा ब्याटल हो ।’

चण्डले कुनै पनि हालतमा आगामी स्थानीयसहित तीनै तहको चुनावमा माओवादी बलियो शक्तिको रुपमा स्थापित हुनपर्ने बताएका छन् । परिवर्तन विरोधी शक्ति सल्बलाएकाले उनीहरुको षडयन्त्रलाई रोक्न माओवादी बलियो शक्तिका रुपमा स्थापित हुनुपर्ने प्रचण्डको भनाइ छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप