शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चेम्बरको विज्ञहरुसँग छलफल : कृषि क्षेत्र किन अगाडि बढ्न सकेन ?

बुधबार, ०९ चैत २०७८, १७ : ३३
बुधबार, ०९ चैत २०७८

नेपाल चेम्बर अफ कमर्शले नेपालको कृषि क्षेत्र अगाडि बढ्न नसक्नुको कारण खोज्न विज्ञहरुसँग छलफल गरेको छ । चेम्बरले आज एक कार्यक्रमको आयोजना गरेर कृषि मन्त्री, इजरायलका लागि पूर्व राजदूत, विज्ञहरू र कृषकसँग छलफल गरेको हो ।

कार्यक्रममा इजरायलका लागि नेपालकी पूर्व राजदूत डा. अन्जान शाक्यले नेपालले कृषि क्षेत्रका विकास गर्न नसक्नुमा कानूनी झन्झट मूख्य कारण रहेको बताइन् । उनले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति र विकासको उदाहरण दिँदै सरकारले कृषकलाई उद्यमीका रूपमा विकास नगर्दासम्म यस क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरिन् ।

‘इजरायलमा कृषि क्षेत्रको विकासका लागि सरकार लागिपरेको हुन्छ । सरकारले कृषकहरूलाई प्रविधिमा सहयोग गर्छ र उत्पादन बिग्रेमा त्यसबारेमा सोधखोज गर्छ,’ उनले भनिन्, ‘नेपालमा त्यस्तो स्थिति छैन । कृषकहरू ओझेलमा छन् । र, उनीहरूलाई उद्यमीका रूपमा अगाडि बढाउन सकिएको छैन ।’

यस्तै, इजरायलमा उच्च शिक्षा हासिल गरेर लमजुङमा व्यवसायिक कृषि खेती गर्दै आइरहेका कृषक कृष्ण बजगाईंले नेपालको कानूनी झन्झट नै कृषि क्षेत्रले फड्को मार्न नसक्नुको मूख्य कारण भएको उल्लेख गरे । उनले कार्यक्रममा बोल्दै भने, ‘इजरायलले विकास गरेको विभिन्न फलफूलको बिउ नेपाल ल्याउन प्रयास गर्दा कानूनी झन्झटले गर्दा सकिएन,’ उनले भने, ‘नेपालमा सूचीकृत नरहेको बीउ ल्याउन अत्यन्तै मुस्किल रहेछ ।’

भक्तपुरमा च्याउ खेती र च्याउको बीउ उत्पादन गर्दै आइरहेका कृषक आकाश बादेले नेपालको कानून कृषिमैत्री नभएको बताए । नेपालमा च्याउ खेती र निर्यातको सम्भावना हुँदाहुँदै परीक्षण, अनुसन्धान र विदेशबाट उच्च प्रजातिका बीउ बिजन आयात गर्न नसक्दा खेतीमा समस्या भइरहेको उनको भनाई छ । बेल्जियमबाट च्याउको एउटा प्रजातिको बिउ ल्याउनलाई मुस्किल परेको र अनुमति माग्दा पनि नपाएको उनको गुनासो छ ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री महिन्द्र राय यादवले कृषि पेसा सम्भावना बोकेको क्षेत्र भएपनि अपेक्षितरूपमा यसलाई अघि बढाउन नसकिएको बताए । उनले इजरायलमा पढेर स्वदेश फर्किएका युवा नेपालको कृषि पेसाको सम्पत्ति भएको र उनीहरूले कृषिमा उन्नती गर्न सक्ने उनको भनाइ छ । यस्तै, बढ्दै गएको बाँझोपनालाई सम्बोधन गर्ने गरेर कृषिलाई विशेष प्राथमिकतामा राख्ने योजनामा मन्त्रालय रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालले चालू वर्षमा अर्बौ रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात गरेको बताए । नेपालमा उत्पादन सम्भावना बोकेका कृषि उपजका वस्तु समेत आयात भइरहेको र यसको वृद्धि दिनानुदिन उकालो लागिरहेको अध्यक्ष मल्लको भनाइ छ । अब राज्यले कृषि पेसालाई उचित ढंगले अगाडि बढाउनका लागि योजना बनाउनुपर्ने मल्लले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप