आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि मन्त्री यादवले भने- ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सन्तोषजनक काम गरेन’

बुधबार, ०९ चैत २०७८, १७ : २०
बुधबार, ०९ चैत २०७८

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् । नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु गरेको १३ औं बागवानी गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानको लागि के कति काम गरेको समिक्षा हुनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ, त्यसबाट जनताले कति फाइदा लिए, किसानले कति फाइदा लिए त्यसको बारेमा पनि समिक्षा हुनुपर्छ ।’ परियोजनाले सोचेजस्तो प्रगति गर्न नसकेको बताउँदै उनले प्रधानमन्त्रीको नाममा खोलिएको परियोजना भएको हुनाले त्यसको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्ने बताए । उनले एक अर्को प्रसङ्गमा विदेश जाने युवालाई कृषिप्रति आकर्षित गर्नका लागि बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । देशमा थुप्रै बाँझो जमिन छन् तर त्यसलाई कसरी प्रयोगमा ल्याउने त्यसको बारेमा सोच्नुपर्ने बताउँदै उनले जोसँग जमिन छैन, त्यसलाई बाँझो जमिन दिएर कृषिप्रति आकर्षित गर्नुपर्ने बताए । 

बिहीबारसम्म चल्ने सो गोष्ठीमा बागवानी सम्बन्धि विभिन्न कार्यपत्र प्रस्तुत हुने भनिएको छ । बागवानीका विज्ञहरु कौशलकुमार पौडेल, किशोर चन्द्र दाहाल अनिलकुमार आचार्य, विनोद कुमार भट्टराई, डा.हरिबहादुर केसी, डा.उमेशकुमार आचार्य, सुरेन्द्रलाल श्रेष्ठ, प्रदीपराज रोकया, डा.गरिधारी सुवेदी, जीतनारानायण चौधरी, राजेन्द्र गौतम, जीवन श्रेष्ठ, श्यामप्रसाद पौडेल, डा.कालिका प्रसाद पौडेललगायतले आआफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ । 

बागवानी क्षेत्रको विकासमार्फत बाँझो जग्गाको उपयोग प्रवर्धन गर्न सरोकारवालाहरूलाई सुझाव प्रदान गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको सोसाइटीका अध्यक्ष इन्द्रराज पाण्डेले बताए । यो गोष्ठीपछि कोभिड १९ (कोरोना) ले जन जीविकामा पारेको असरबाट मुक्ति पाउन बागवानी क्षेत्रले खाद्य तथा पोषण सुरक्षा र आय आर्जनमा खेल्न सक्ने भूमिकाको विश्लेषण गरी सरकारलाई सुधारात्मक सुझाव समेत दिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप