बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन’ शुक्रबारदेखि, ९ वटा पेपर प्रस्तुती र गोलमेच कार्यक्रम गरिने

बुधबार, ०९ चैत २०७८, १६ : ४९
बुधबार, ०९ चैत २०७८

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले यहि चैत ११ र १२ गते काठमाण्डौमा राष्ट्रिय सभागृहमा ‘प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८’ आयोजना गर्दैछ । उद्‌घाटन समारोह चैत ११ गते २ बजेदेखि ५ बजेसम्म र चैत १२ गते बिहान ७:३० बजेदेखि दिनभर विभिन्न प्रस्तुती तथा गोलमेचसम्मका कार्यक्रम हुने संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी दिएका छन् ।

सम्मेलनमा अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, योजना आयोग, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ तथा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू तथा विश्वविद्यालयका पदाधिकारीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ । दशकौं अघिदेखिको न्यून आर्थिक वृद्धि, गरिबी, असमानता, बेरोजगारी, निर्वाहमुखी कृषि, न्यून पूँजीगत खर्च, उच्च मुद्रास्फीति, उच्च व्यपार घाटा, कमजोर पूर्वाधार तथा औद्योगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र, आयातमुखी राजश्व जस्ता आर्थिक मुद्दाहरूमा बहस हुने पनि बताइएको छ ।

बहसमार्फत यी समाधानसहित सरकार र प्रमुख राजनीतिक दलहरूलाई कार्यान्वयन गर्न सुझाव दिनु आयोजकको प्रमुख उद्देश्य छ । सम्मेलनमा अहिलेको अर्थतन्त्रका जल्दो–बल्दो मुद्दाहरूबारे ९ वटा विषयहरूमा ‘पेपर’ प्रस्तुत हुनेछ । डा. जीवन अंगाईले ‘नेपाली अर्थतन्त्रको परिदृष्य र समसामयिक मुद्दाहरू’,  हरि रोकाले ‘समाजवाद उन्मुख अर्थतन्त्रको कार्यदिशा’ र डा. मीनबहादुर श्रेष्ठले ‘नेपालमा योजना र बजेट : समन्वय, कार्यान्वयन र प्रभावकारिता’ विषयमा प्रस्तुती दिनेछन्‌ ।

यस्तै, डा. गणेशराज जोशीले ‘कृषिको व्यवसायिकरण र औधोगिकीकरणका चुनौतीहरू’, सिद्धराज भट्ट र भरतराम ढुंगानाले ‘वित्तीय पहुँच, उत्पादनशील लगानी र वित्तीय स्थायित्व’, डा. उत्तम खनालले ‘औद्योगिकीकरणमा निजी क्षेत्र’ र डा. सुनीलकुमार पोखरेलले ‘दीगो आर्थिक विकासका लागि प्राकृतिक स्रोतको उपयोग’ शीर्षकको पेपर प्रस्तुत गर्नेछन्‌ । डा. ज्ञानेन्द्र पौडेलले ‘सहकारी अभियानको ६५ वर्षको अभियान र हालको अवस्था’ तथा वैकुण्ठ पाण्डेले ‘नेपाली अर्थतन्त्रमा नवउदारवादको प्रभाव’ विषयक प्रस्तुती दिनेछन्‌ ।

सम्मेलनमा समाजवाद उन्मुख समुन्नत अर्थतन्त्र निर्माणका लागि साझा आर्थिक एजेन्डाको बारेमा गोलमेच छलफलसमेत हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रस्तुत पेपर र छलफलका निष्कर्षलाई सम्पादन र प्रकाशन गरी विभिन्न निकायहरूमा सुझावको रूपमा पेश हुने राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप