शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको नजरमा चुनाव जित्ने यस्ता छन् १८ आधार

बुधबार, ०९ चैत २०७८, १६ : १०
बुधबार, ०९ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव जित्न १८ आधार अघि सारेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले जीतका पर्याप्त आधार भएको उल्लेख गरेका छन् । 

‘यावत घेराबन्दी आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टी प्रतिको जनविश्वास अखण्डित र अक्षुण रहनु एवं यस्तो जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै त्यो मुख्य आधार हो, जसले नेकपा (एमाले) को जीतलाई सुनिश्चित गर्नेछ’, ओलीले पहिलो आधार बनाएका छन् ।  उनले पाँच दलीय गठबन्धनका कारण नेकपा (एमाले) लाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको भएपनि  ‘हामी स्पष्ट हुनुपर्छ– गठबन्धन या मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो’ उनले भनेका छन् । 

उनले  भनेका छन्, ‘बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरूरी छ । गत निर्वाचनमा पनि हामीले काङ्ग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एक्लै ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौं । निर्वाचनमा नेकपा (एमाले) को विजयका आधार सुदृढ छन्, जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वास स्थापित गर्न जरूरी छ ।’  
पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान तथा केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको विषयलाई चुनाव जित्ने आधार भएको उनले बताएका छन् । 

त्यस्तै परिवर्तन र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय तहदेखि नै महिला र दलितको समावेशीताका लागि पार्टीको भूमिका राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान, प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकलगायत ओली सरकारका पालमा भएको कामलाई सूचीवद्ध पेश गर्दै आधारका रुपमा लिएका छन् ।

निर्वाचन तयारीका ११ काम 

अध्यक्ष ओलीले निर्वाचन तयारीका लागि ११ वटा काम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । जसमा शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आंकलन गर्ने, जसअनुसार निर्णय गर्नसक्नुपर्ने, मूलतः एक्लै विजय हो गर्ने तयारीका साथ अगाडि बढ्नुपर्ने,  जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकास दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर चयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्ने उल्लेख छ । 

त्यस्तै विजयको सुनिश्चितता शासन र विकास प्रतिको आधार बनाएर उम्मेदवार चयन गर्नुपर्ने तथा महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरूको उम्मेदवार चयन सम्बन्धित कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले, नगर प्रमुख र तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको चयन पालिका कमिटी र सिफारिसमा प्रदेश कमिटीले तथा सो मातहतका उम्मेदवारबारे वडा र पालिका कमिटीको सिफारिसमा जिल्लाले निर्णय गर्ने तर  केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । नेताहरुलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा फर्कनुपर्नेदेखि प्रवासमा रहेका पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई स्वदेश फर्केर सहभागी हुन आह्वान गर्ने, निर्वाचन परिचालनका लागि पालिका र वडास्तरमा तत्काल निर्वाचन परिचालन गर्नुपर्ने लगायत गर्नुपर्ने कामबारे उल्लेख छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप