युक्रेन युद्ध : इन्डोनेसियामा चाउचाउ अभाव

युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाइबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ ।
युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ । युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।
तसर्थ, गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा इन्स्ट्यान्ट नुडल्सलको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ । यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहने व्यक्तिले यही चाउचाउ चाहन्छन् ।