शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रवासमा रहेका माओवादीलाई प्रचण्डले प्रशिक्षण दिँदै

बुधबार, ०९ चैत २०७८, १५ : २३
बुधबार, ०९ चैत २०७८

नेकपा माओवादी केन्द्रको चुनावी अभियानअन्तर्गत जारी विशेष प्रशिक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सबै प्रदेशमा प्रशिक्षण तथा भेला सम्पन्न गरिसकेको माओवादीले बुधबार प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रम राखेको छ । 
माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका नेता कार्यकर्ताका लागि बुधबार साँझ भर्चुअल माध्यममार्फत अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए । 

माओवादी केन्द्रको युरोप र अमेरिकासहित विभिन्न देशमा शुभेच्छुक संस्थाको रुपमा जन प्रगतिशील मञ्च अस्तित्वमा रहेका छन् । ती मञ्चका नेता तथा अगुवा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले चुनाव केन्द्रीत राजनीतिक प्रशिक्षण दिनेछन् । 
माओवादी केन्द्रले यसअघि नै बागमती प्रदेशमा फागुन २५ गते, कर्णाली प्रदेशमा फागुन २७ गते, प्रदेश १ मा फागुन २९ गते, सुदूरपश्चिम प्रदेशमा फागुन ३० गते, उपत्यका विदेश र सम्पर्क समन्वय कमिटीमा चैत २ गते, लुम्बिनीमा चैत ३ गते, गण्डकीमा चैत ६ गते र मधेस प्रदेशमा चैत ८ गते प्रदेश भेला र प्रशिक्षण दिइसकेको छ।  ती सबै प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । 

प्रशिक्षणमार्फत माओवादीले गठबन्धन बनाएर भन्दा पनि आफ्नै तागतमा स्थानीय चुनावमा जानुपर्नेमा जोड दिँदै आएको छ । परिवर्तनको नेतृत्व माओवादीले गरेकाले परिवर्तनविरोधी तत्त्वहरुलाई सक्रिय हुन नदिनका लागि पनि पार्टीले जित्नुपर्ने बताउँदै आएको छ । गत केन्द्रीय समिति बैठकबाट माओवादीले २ महिने चुनावी कार्यक्रम तय गरेको थियो । सोहीअनुसार पहिलो चरणमा प्रशिक्षणसहितका कार्यक्रम गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप