बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

बुधबार, ०९ चैत २०७८, १५ : १७
बुधबार, ०९ चैत २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको  विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राखे । 

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको उनले बताए । उनले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको  जानकारी दिए ।

उनले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारीता देखाउन आवश्यक रहेको विचार व्यक्त गरे । उनले आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सर्मथकमाथि स्थानीय समुदायले  खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।    

प्रमुख आयुक्त थपलियाले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएको चर्चा गर्दै आयोगले यसपटकको निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा नयाँ रणनीति कार्यान्वयन गर्न लागेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप