सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

खै, कसले सुन्ने सुदूरको पीडा ?

बुधबार, ०९ चैत २०७८, १४ : ३६
बुधबार, ०९ चैत २०७८

सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट छ तर रमणीय आकर्षक ठाउँहरुले भरिपूर्ण छ । ९ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा खप्तड राष्ट्रिय निकुञ्ज, अपी सैपाल हिमाल, उग्रतारा मन्दिर, घोडाघोडी ताल, दोधारा चाँदनी नदी लगायत विभिन्न प्राकृतिक सुन्दरताले सुगन्ध थपेको छ । सुदूरपश्चिम प्राकृतिक रूपमा फूलको थुङ्गा झैं सजिए पनि विकासका गतिविधिमा राजनीतिक दलको कोरा आश्वासनमा सीमित छ ।

आगामी बैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ । निर्वाचनको मिति तोकेसँगै अहिले देशभर नै चुनाव प्रचार प्रसारणका लागि नेताहरु गाउँ गाउँ घरदैलोमा जाने क्रम जारी छ । विभिन्न दलले चुनाव प्रचार प्रसारका लागि आआफ्नो तयारीको माहोल बनाइ रहेका छन् । त्यसै क्रममा अहिले सुदूरपश्चिममा समेत नेताहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।

सुदूरपश्चिममा चुनावी माहोल तातिए पनि जनता भने उही पुरानो शब्द गुन्गुनाइ रहेका छन्, त्यो हो ‘कसले के दियो र खै, आफ्नो पीडा आफैंसँग छ ।’ स्थानीय तहमा जनप्रतिनिधि आएपछि सिंहदरबार घरआँगनमै पाउने आशा बोकेका सुदूरका जनताले आश्वासनबाहेक केही पाएनन् । हुन त सुदूरका जनताले केन्द्रमा कैयौ पटक प्रधानमन्त्री पठाए । तर, जनताले सुदूरको छोराले प्रधानमन्त्री पाएको अनुभूति गर्नै पाएन । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरका जनता हितमा खासै उत्साहजनक काम गर्ने नसक्दा जनता रुष्ट छन् । अरु त कुरै छाडौं देउवाको गृहजिल्लामा न व्यवस्थित बसपार्क, न सडक छ, न जनताले विजुली नै पाएका छन् । अचम्मको विषय देउवाको पुख्र्यौली गाउँमा समेत सडक पुग्न सकेको छैन, न त देउवा हुर्केको ठाउँको विद्यालयमा नै सुधार हुन सकेको छ । देउवा मतदान गर्ने जाने विद्यालय क्षेत्र उही पुरानो छानोमा सीमित छ । यस वर्ष मंसिर महिनाको सुरुमै आएको भारी वर्षाले सुदूरका कैयौ परिवार घरबिहिन बनायो, कैयौको मुख नजिक आएको बालीनाली नै खोस्यो । तर, देउवा सोही बेला बलेको आगोमा घिउ थपे झैं हेलिकप्टर हँुदै आफ्नो कार्यकर्तामुखी भेला गरेर केही आश्वासन मात्रै दिएर फर्किए ।

भौगोलिक विकटताका कारण अझै पनि सुदूरपश्चिमका जनता साँझ विहानको छाक टार्ने दौडधुपमै रुमल्लीरहेका छन् । अन्धविश्वास, रुढीवादी, छाउपडी प्रथा, बोक्सी प्रथा जस्ता सोचमा ग्रसित सुदूरपश्चिम प्रदेशका जनताको घाउमा मलम लगाउन सकिएको छैन । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीको पहँुचबाट टाढा रहेको प्रदेशका जनतालाई सिंहदरबार घरमा आएको अनुभूति नै भएको छैन । चुनावको बेला ठूल्ठूला आश्वासनमा रमाएका सुदूरका जनता चुनावपछि नेताहरुको नाकमुख देख्न नपाउँदा खिन्न महशुस गरिरहेका छन् ।

२०७८ को प्रारम्भिक नतिजाअनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि छन् । बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्याङ्कमा उल्लेख छ । गरिबिको रेखामुनि रहेका सुदूरका जनता छिमेकी राष्ट्र भारतमा मजदुरी गरी ज्यान पाल्न बाध्य छन् । स्वदेशमै रोजगारी पाए किन जान्थे र काला पहाड ? सरकार तहबाट सुदूरमा खासै उद्योगधन्दा खुलाउन पहल भएको छैन । 

त्यस्तै, सुदूरका पहाडी जिल्लामा गुणस्तरीय शिक्षाको पहुँच नहुँदा सुदूरका छोराछोरी अभिभावकको पसिनाले आर्जित जेनेतेन रकम बोकेर धनगढी, नेपालगन्ज, काठमाडौं लगायतका सहरमा जानैपर्ने बाध्यता छ । भौगोलिक विगटताका कारण लामो दुरीको पैदल यात्रा गरी जनता सहरसम्म आफ्नो आधारभूत आवश्यकता खरिद गर्ने आउँछन् । दुःख गरी उब्जाएको तरकारी, खेतीपातीले बजार पाउँदैन ।

सुदूरका छोरीहरुको छाउगोठमा सर्पले डसेर मृत्यु हुन्छ, बलात्कारपछि मृत्यु हुन्छ । बोक्सी कुप्रथाको चंगुलमा सुुदूरका छोरी परेकै छन् तर सरकार भने मौन भएर बस्छ । तुइनको अन्त्य गरेको भन्ने सरकारले बालबालिका स्कुल जाँदै गर्दा दार्चुलामा तुइनमा खसेर मृत्यु भयो भन्ने खबर सुन्दा सरकारको मन किन रुदैन  ? अन्धविश्वास जस्ता कुप्रथा अनि महिला बालबालिकाको न्यायका लागि लड्छु भन्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एक विज्ञप्ति निकाल्दै ध्यानाकर्षक बाहेक अरु गर्न सक्दैनन्, किन ? निर्मला पन्त, भागिरथी भट्ट, सम्झना बिक लगायत कैयौ चेलीका हत्याराहरु अझै पनि किन पक्राउ पर्दैनन् ? अब जनता सचेत भई जनताकै हितमा लड्न सक्यो भने मात्र सुदूर समृद्धि अनि सम्भावनाको खानी हुनेछ । नेताहरुको मात्रै कति भर गर्नु ?

लेखक रत्न राज्य लक्ष्मी क्याम्पस, काठमाडौंमा स्नातक तहमा पत्रकारिता अध्ययनरत छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप