बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

बुधबार, ०९ चैत २०७८, १२ : १८
बुधबार, ०९ चैत २०७८

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउने समेत बताए ।

‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट उपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह काँग्रेसमय हुने दाबी गरे । उनले भने, ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।’ 

प्रवक्ता महतले काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरूमा रहेको उल्लेख गरे । ‘काँग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ’, उनले भने । पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने काँग्रेस मात्रै रहेको उनले दाबी गरे ।

काँग्रेसको एक महिने अभियानअन्तर्गत वडा, गाउँ÷नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे । सो अवसरमा धुलिखेल नगरस्थित नेकपा (एमाले) लगायत दलका दर्जन जिल्लास्तरीय नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पार्टीका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला अध्यक्ष तिर्थ लामा लगायतको उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप