बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेजमा लगानीकर्ताको आकर्षण, ४५ प्लटमा आवेदन माग हुँदा 'ओभर डिमान्ड'

किन बढ्यो उद्योगीको आकर्षण ?
मङ्गलबार, ०८ चैत २०७८, १७ : ४८
मङ्गलबार, ०८ चैत २०७८

भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योगीहरूको आकर्षण बढेको छ । आर्थिक क्षेत्रभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीबाट आवेदन माग गरेको  विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले भैरहवा सेजमा लगानीकर्ताको आकर्षण बढेको जानकारी दिएको हो ।

प्राधिकरणले आवेदनका लागि दिएको समयभित्र ५५ वटा प्लट माग्दै २१ वटा उद्योग प्राधिकरणको सम्पर्कमा आएको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले रातोपाटीलाई बताए । प्राधिकरणले जम्मा ४५ वटा प्लटमा उद्योग स्थापना निम्ति आह्वान गरेको थियो ।

‘हामीले खाली रहेको ४५ वटा प्लटमा आवेदन मागेका थियौं । तर, ५५ वटा प्लटको माग आएको छ,’ भट्टले भने, ‘भैरहवामा रहेको प्लटभन्दा बढी प्लट मागिएको छ । यसलाई हामीले सेजमा उद्योगीहरू आकर्षित भएको बुझेका छौं ।’ यसअघि भैरहवा आर्थिक क्षेत्रमा ७ वटा उद्योग मात्रै सञ्चालनमा थिए ।

क्षमताभन्दा बढी माग आएपछि लगानी रकम, रोजगारी श्रृजना र निर्यात क्षमताका आधारमा उद्योग छनोट गर्ने प्राधिकरणको तयारी छ । कुल २१ वटा उद्योगले भैरहवा सेजमा प्लान्ट स्थापनाको इच्छा देखाएका छन्‌ । ती मध्ये ४ वटासम्म उद्योग बाहिरिन सक्छन् ।

यी उद्योगबाट करिब ८ अर्ब रुपैयाँ बराबर लगानी र २ हजार जनालाई रोजगारी श्रृजना गर्ने प्रतिबद्धता आएको प्राधिकरणले जनाएको छ । यस्तै, पहिलोपटक उद्योग स्थापना गर्न लागिएको सिमरा आर्थिक क्षेत्रमा पनि उद्योगहरू प्लान्ट स्थापनाका लागि सम्पर्कमा आएका छन् । सिमरामा ९ वटा लगानी समूहले उद्योग स्थापनाको इच्छा देखाएका छन् । प्राधिकरणले सिमरा आर्थिक क्षेत्रमा ६८ वटा प्लटमा आवेदन माग गरेको थियो । यसमध्ये अहिलेसम्म २७ वटा प्लटमा आवेदन परेको निर्देशक भट्टले बताए ।

यी आर्थिक क्षेत्रमा राइस कुकर, प्रेसर कुकर, हिटर र किचनका सामग्री उत्पादन गर्ने लगायतका उद्योगले प्लान्ट स्थापनाको इच्छा देखाएका छन् । यस्तै गार्मेन्ट, कार्पेट, विद्युतीय सवारी एसेम्बल कम्पनी र हर्बल कम्पनीहरूले समेत उद्योग स्थापनाका लागि प्लट माग्दै आवेदन दिएका छन् ।

‘भैरहवा आर्थिक क्षेत्रमा पहिलेदेखि सञ्चालनमा रहेका उद्योगले समेत थप प्लट माग गरेका छन्,’ भट्टले भने, ‘यस्तै, यसअघि पटक–पटक सूचना जारी गर्दा पनि लगानी इच्छा नदेखाउने उद्योगले पनि अहिले चाहना देखाएका छन् ।’ यसलाई आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण बढेको रूपमा लिइएको भट्टको भनाइ छ ।

किन बढ्यो उद्योगीको आकर्षण ?

सरकारले उद्योग स्थापना र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन लक्ष्यसहित विशेष आर्थिक क्षेत्र परिकल्पना गरेको थियो । सोहीअनुसार देशका विभिन्न स्थानमा आर्थिक क्षेत्र निर्माणाधीन अवस्थामा समेत छन् । तर, सञ्चालनमा रहेका आर्थिक क्षेत्रमा प्लान्ट स्थापना गर्न उद्योगीहरूमा खास रूचि देखिएन ।

खासगरी आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगले पहिलो वर्ष शून्य निर्यात गरेपनि सञ्चालनमा आएको दोस्रो वर्षदेखि ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ । यस्तै, आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगसँग लिइने भाडा पनि महँगो भएको उद्योगीहरूको गुनासो थियो । यही दुई वटा कारणले उद्योगीहरू आर्थिक क्षेत्रमा नआएको जानकारी पाएपछि उद्योग मन्त्रालय र प्राधिकरण यी दुई व्यवस्थामा लचकता अपनाउन उद्योगीसँग प्रारम्भिक सहमति गरेका छन् ।

उद्योगी, मन्त्रालय र प्राधिकरणबीच भएको सम्झौताअनुसार यसअघिको व्यवस्था परिमार्जन गर्नतर्फ काम भइरहेको निर्देशक भट्टको भनाइ छ । ‘नयाँ व्यवस्थाअनुसार स्थापनाको दुई वर्षसम्म उद्योगले निर्यात गर्नु नपर्ने, तेस्रो वर्ष उत्पादनको २० प्रतिशत निर्यात गर्नुपर्ने, चौथो वर्ष ४० र पाँचौं वर्ष ६० प्रतिशत निर्यात गरे पुग्छ,’ उनले रातोपाटीलाई भने । हाल यो व्यवस्था संशोधन क्रममा रहेको भट्टले बताए ।

‘उद्योग स्थापना भएको दोस्रो वर्षमै उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थाले उद्योगीलाई समस्या भएको पाइएपछि नयाँ व्यवस्था गर्न लागिएको हो,’ उनले भने, ‘अब उद्योगीले प्लान्ट स्थापना गरिसकेपछि विस्तारै विदेशी बजार खोजेर निर्यात बढाउँदै लग्न सक्छन् । सञ्चालनमा आएको दुई वर्षसम्म सम्पूर्ण उत्पादन स्वदेशी बजारमै बेच्न सक्छन् ।’ यही व्यवस्था गरेपछि उद्योगमा लगानीकर्ताको आकर्षण बढेको भट्ट बताउँछन् ।

निर्यातमा लचकता अपनाउनुका साथै भाडा पनि घटाउने गरेर नयाँ व्यवस्था ल्याउने त्रिपक्षीय सहमति भइसकेको छ । यो सहमतिले पनि उद्योगीलाई विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि आकर्षित गरेको प्राधिकरणको बुझाइ छ

भैरहवा आर्थिक क्षेत्रका हकमा यसअघि झाडी र अव्यवस्थित थियो । अहिले झाडी हटाइएको छ भने सरसफाइ र विद्युत, पानी र सुरक्षाको विषयलाई समेत चुस्त बनाइएको छ । यसले पनि उद्योगीको आकर्षण बढेको बुझाइ प्राधिकरणको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप