शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा हामीलाई हैसियतअनुसारको सहभागिता चाहिन्छ : प्रचण्ड

मङ्गलबार, ०८ चैत २०७८, १८ : १३
मङ्गलबार, ०८ चैत २०७८

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको उनको भनाइ थियो ।

उनले मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको स्पष्ट पारे । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चले पनि अहिलेसम्म औपचारिक रुपमा भने टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि उत्तिकै छ’, उनले भने, ‘मैले प्रधानमन्त्रीजीसँग भनेको पनि छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ ।’

माओवादी केन्द्रले मन्त्रिपरिषद गठनको समयमा त्याग गरेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशनसम्मलाई सहयोग गर्नुस् भनेर भन्नु भएको थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएका छैनौं । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ, सहयोग गर्नु भन्नुभएको थियो । अहिलेसम्म सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको छ ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्रलाई आवश्यक नरहेको दाबी गर्दै उनले गठबन्धन हुने या नहुने भन्ने विषय काँग्रेसमाथि भरपर्ने प्रस्ट पारे ।

माओवादीप्रतिको जनलहर व्यापक चलेकाले माओवादीलाई गठबन्धनले खासै अर्थ नराख्ने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप