शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक आज बस्दै, अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

मङ्गलबार, ०८ चैत २०७८, १० : २९
मङ्गलबार, ०८ चैत २०७८

बागमती प्रदेशसभा बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । लामो समयदेखि एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक गत फागुन २९ र ३० गते बसेको थियो । फागुन २९ गतेको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका विषयमा जवाफ दिएपछि सदन चलेको थियो ।

गत पुस ८ गतेदेखि एमालेले अवरोध गर्दै आएको सदन फागुन २९ मा खुलेको थियो । एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको, मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाउँदै सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो । विगतका सरकारले ल्याएका योजनाहरू यथावत् रूपमा सञ्चालन गर्नुपर्ने र आफ्ना मागका सम्बन्धमा सरकारको उचित जवाफ नआएसम्म एमाले सदन चल्न नदिने बताउँदै सदन अवरोध गर्दै आएको थियो ।

उक्त विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिँदै प्रमुख प्रतिपक्ष दल एमाले र अन्य दलहरूसँग सहकार्य गरेर जाने अभिव्यक्ति दिएपछि सदनमा अवरोध गरेको थियो । करिब ३ महिनासम्म एमालेको अवरोध खेपेको प्रदेशसभा बैठकको गत २९ र ३० मा गरी २ दिन चलेको सदनमा २ वटा ऐन संशोधनका विधेयक, एक नयाँ विधेयक पेस भएको थियो भने २ वटा विधेयक पारित भएको थियो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनका लागि सदनमा पेस गरेका थिए । उनले संशोधनका लागि पेस गरेको विधेयकहरू सम्बन्धित समितिहरूमा पठाइएको छ ।

उक्त बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको थियो । त्यस्तै मन्त्री खनालले सदनमा पेस गरेको प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो भने त्यसमा माथि सांसदहरूले आफ्नो धारण राखेका थिए ।

२ दिन चलेको प्रदेशसभाको दोस्रो दिन भने प्रदेश सरकारका काम कारबाही र योजनाका बारेमा प्रदेशसभा सदस्यहरूले धारणा राखेका थिए ।

यस्तो छ आजको कार्यसूची

प्रदेशसभाको आज बस्ने बैठकमा ३ वटा विधेयक माथि छलफल हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा यस अघि सदनमा पेस भएको विभिन्न २ वटा विधेयक माथि छलफल भएर समितिमा पठाइने कार्यसूची रहेको छ ।

बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने र त्यसको दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी थालेको हो ।

आज बस्ने प्रदेशसभाको बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारले योजना बनाएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

‘प्रदेशसभामा केही विधेयक बाँकी छ । त्यसलाई आजको बैठकले पास गर्नेछ । ती विधेयकहरु पास भएपछि हामी अधिवेशन अन्त्य गर्छौँ । समय रहेसम्म आजै अधिवेशन अन्त्य हुन्छ ।’ उनले भने । अधिवेशन अन्त्यका लागि आजको प्रदेशसभा बैठक पछि प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।

समय रहेसम्म आजै मन्त्रिपरिषद् बैठक बसेर प्रदेशसभाको अधिवेशन अन्त्य गरिने र समय अभाव रहे भोलि गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाका एक कर्मचारीले बताए । सरकारले बजेट निर्माणको काम तीव्र रूपमा गरिरहेकाले संसद्को बजेट (वर्षे) अधिवेशन छिट्टै आह्वान गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप