शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृहनगरमा राप्रपाले गर्‍यो मेयरको दाबी

राप्रपा र एमालेको तालमेलको सम्भावना कति ?
मङ्गलबार, ०८ चैत २०७८, ०९ : ४३
मङ्गलबार, ०८ चैत २०७८

झापा । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ । मध्यान्हमा मुख्य चोकमा ओर्लिएपछि हामीले अटो चालकलाई सोध्यौँ, तपाईंलाई राप्रपाका नेता राम थापाको घर थाहा छ ? दमकबासीलाई राम थापाको घर थाहा नहुने कुरै भएन । हामी अटो चढेर थापाको घरमा पुग्यौं । चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्रपाले मोरङको कमाण्डर तोकेको छ ।

झापामा राप्रपाका तीन हस्तीमध्ये थापा एक मानिन्छन् । राप्रपाका तीन नेतामध्ये पार्टी अध्यक्ष बनेका राजेन्द्र लिङदेन ०७४ को चुनावमा केपी ओलीको साथ पाएर प्रतिनिधिसभा सदस्य बनिसकेका छन् । अर्का हस्ती एवं केन्द्रीय सदस्य अम्बरबहादुर विष्ट एमालेसँग गठबन्धन बन्न नसक्दा हालै राष्ट्रिय सभाको चुनावमा पराजित बनेका छन् ।  अब राम थापाको पालो आएको छ, दमक नगरपालिकाको मेयर बनेरै छाड्ने सपना बुनेका थापालाई नेकपा एमालेले सघाउँछ या सघाउँदैन ? 

आगामी वैशाख ३० मा हुने दमक नगरपालिकाको चुनावमा एमाले र राप्रपाबीच तालमेल भएन भने संसदीय चुनावमा पनि एमालेसँग  झापामा भोट साटासाटको सम्भावना कमै देखिएको छ  । 

तराई मधेसमा काँग्रेस, माओवादी र जसपाको प्रभाव क्षेत्र भत्काउने रणनीतिमा लागेका एमाले अध्यक्ष ओलीले शायद आफ्नो गृहनगर दमकमा एमालेलाई कसैले चुनौती दिन नसक्ने सोचेका छन् । तर, दमक नगरपालिकाभित्र राप्रपा ‘सुतेको बाघ’ जस्तै पोजिसनमा देखिएको छ, जसको भूमिकाले नै आगामी चुनावमा एमालेको शिकार निश्चित हुनेछ ।

०७४ को चुनावमा ओलीले निर्वाचन क्षेत्र नम्बर ५ मा राप्रपाको करिब ८ हजार भोट आफ्नो बाक्सामा पारेका थिए । त्यसको बदलामा उनले क्षेत्र नम्बर ३ को एमालेको सम्पूर्ण मत राजेन्द्र लिङ्देनको बाक्सामा खन्याएका थिए । राप्रपाको भोटले ओलीले जितेका थिए भने एमालेको भोटले लिङ्देनले जितेका थिए । ओली र लिङ्देनबीच गठबन्धन हुँदा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौलाजस्ता काँग्रेसका हस्तीले हारेका थिए । 

दमक नगरपालिकाको विशेषता अन्य स्थानीय तहको भन्दा फरक छ । देशैभरि प्रायः काँग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहँदा दमकमा भने एमाले र राप्रपा एक–अर्काका प्रतिस्पर्धी हुन् । ०७४ को स्थानीय चुनावमा यहाँ एमाले पहिलो र राप्रपा दोस्रो बनेका थिए भने माओवादी तेस्रो र काँग्रेस चौथो शक्तिमा खुम्चिएका थिए । 

नगरपालिकामा राप्रपासँग प्रतिस्पर्धा गरेको एमालेले संघीय चुनावमा भने राप्रपासँगै साँठगाँठ गरेको थियो । ०७४ को संसदीय चुनावमा झापामा ओली र  लिङ्देनबीच भोट साटासाट भयो । ओलीले क्षेत्र नं ३ मा लिङ्देनलाई सघाए भने क्षेत्र नं ५ मा राप्रपाले ओलीलाई सघायो । 

०७४ को चुनावमा ओलीले निर्वाचन क्षेत्र नम्बर ५ मा राप्रपाको करिब ८ हजार भोट आफ्नो बाक्सामा पारेका थिए । त्यसको बदलामा उनले क्षेत्र नम्बर ३ को एमालेको सम्पूर्ण मत राजेन्द्र लिङ्देनको बाक्सामा खन्याएका थिए । राप्रपाको भोटले ओलीले जितेका थिए भने एमालेको भोटले लिङ्देनले जितेका थिए । ओली र लिङ्देनबीच गठबन्धन हुँदा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौलाजस्ता काँग्रेसका हस्तीले हारेका थिए । 

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र केपी शर्मा ओली नेतृत्वको राप्रपाबीच झापामा ०७४ सालको संसदीय चुनावमा जस्तै आसन्न स्थानीय चुनावमा पनि गठबन्धन होला त ? एमाले र राप्रपाबीच यसपालि गठबन्धन बन्छ, बन्दैन भन्ने हिसाब किताब अब दमक नगरपालिकाबाटै निश्चित हुने राम थापाको विश्लेषण रहेछ ।

दमकको गणित

कुल १० वटा वडाहरू रहेको दमक नगरपालिकामा ०७४ को चुनावमा कुल ५२ जनप्रतिनिधिमध्ये एमाले ४९ र राप्रपाले ३ सीट जितेका थिए भने माओवादी र काँग्रेस शून्य थिए । १० वडामध्ये ८ वडामा एमालेले र दुई वडाध्यक्षमा राप्रपाले जितेको थियो । मेयर र उपमेयर दुवै एमालेले जितेको थियो भने दोस्रो स्थानमा फराकिलो अन्तरसहित राप्रपा थियो । 

आगामी वैशाख ३० मा हुने चुनावमा राप्रपाले काँग्रेस र एमालेमध्ये जसलाई सघाउँछ, उसैले मेयरमा जित्ने अवस्था छ । राप्रपाले कसैलाई सघाएन भने एक्लाएक्लै लड्दा एमालेले जित्ने स्थिति ०७४ को चुनावी गणितले देखाउँछ । 

विगतको गणितलाई हेर्दा काँग्रेस र माओवादीबीच गठबन्धन भयो भने पनि एमाले हार्न सक्छ । तर, राप्रपा एक्लै लडेको अवस्थामा मात्र  । राप्रपाले एमालेलाई सघायो भने दमकमा काँग्रेस र माओवादी मिलेको पनि खासै अर्थ हुने देखिन्न । 

हुन त ओलीले एमाले एकातिर र पाँच दल अर्कातिर भएर लड्दा पनि देशैभरि एमालेले एक्लै चुनाव जित्ने दाबी गरिरहेका छन् । यसको जाँच शायद ओलीकै गृहनगरमा हुनेवाला छ । 

राम थापाको बटमलाइन : एमालेले राप्रपालाई मेयरमा सघाओस्

प्रदेश अध्यक्षसमेत रहेका थापाले यसपटक दमक नगरपालिकाको मेयरमा जित्ने आफ्नो लक्ष रहेको सुनाए । उनले आफू ६५ वर्ष पुग्न लागेको बताउँदै यसपालि विगतमा जस्तो दोस्रो स्थानमा मात्रै चित्त बुझाउने छुट आफूलाई नभएको पनि बताए । 

तर, चुनावी तालमेल नहुँदा राप्रपाले मात्रै एक्लै जित्छ त भन्ने प्रश्नमा उनले आफलाई मेयरमा सघाउन जुन पार्टी तयार हुन्छ, उसैसँग मात्र तालमेल हुने आफ्नो बटमलाइन सुनाए । ओलीलाई संसदीय चुनावमा राप्रपाले सघाउनुपर्ने हो भने दमकमा एमालेले राप्रपालाई मेयरमा सघाउनैपर्ने उनले सङ्केत गरे । 

सकसमा लिङ्देन र ओली

केपी ओलीले नेकपा एमालेमाथि चौतर्फी हमला भइरहेको बताउँदै आएका छन् । यो अवस्थामा उनकै गृहजिल्लामा एमालेलाई हराउन पाँचदलीय गठबन्धन एक गठ हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । त्यो अवस्थामा आफ्नो गृहनगरमा ओलीले राप्रपासँग तालमेल गर्नुपर्ने हुन सक्छ । तर, राप्रपा नेता राम थापा एमालेले आफूलाई मेयर नदिएसम्म अन्य शर्तमा तालमेल गर्ने पक्षमा छैनन् ।

दमकमा एमालेले राप्रपालाई मेयर दिने सहमति जनायो भने यो भन्दा अर्को ठूलो नैतिक हार एमालेलाई हुने छैन । किनभने, ओलीकै गृहनगरमा राप्रपालाई मेयर दिनु भनेको एमालेको हालत पातलो हुनु हो । 

अर्को विकल्प भनेको मेयर बनेरै छाड्ने सपना बोकेका राम थापालाई राप्रपा छोडाएर एमालेमा प्रवेश गराई मेयरको टिकट दियो भने एमालेले पहिलो विकल्पभन्दा बढी राहत पाउन सक्छ । तर, ४० वर्षसम्म राजावादी विचार बोकेर हिँडेका थापा मेयर पदकै लागि कम्युनिस्ट पार्टीमा लाग्ने सम्भावना न्यून छ । पञ्चायतकालमा उनले धरानमा अखिलबाट निर्घात पिटाइ खाएर झण्डै ज्यान गुमाएको शायदै बिर्सेका छन् । 

​दमकमा सबै एक्लाएक्लै चुनाव लडे भने एमालेले जित्ने प्रायः निश्चित छ । तर, राम थापालाई मेयर अनि काँग्रेसलाई उपमेयर दिने गरी राप्रपा र काँग्रेस मिल्दिए भने एमालेको हार निश्चित हुनेछ । दमकमै एमाले हार्यो भने ओलीलाई आगामी संसदीय चुनावमा पनि असर गर्न सक्छ । 

तर, झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देन र काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच राम्रो सम्बन्ध छैन । त्यसको बाछिटाका कारण दमकमा काँग्रेस र राप्रपाबीच तालमेल हुन त्यति सजिलो छैन । दमकमा काँग्रेसले राप्रपालाई सघाएबापत क्षेत्र नम्बर ३ मा सिटौलालाई राप्रपाले सघाउने अवस्था रहँदैन । दमकमा एमालेलाई हराउन काँग्रेसले राम थापालाई नि:शर्त सघायो भने बेग्लै कुरा । अथवा दमकमा राप्रपालाई सघाउँदा काँग्रेसले उपमेयर र केही वडाहरू लिन सक्छ । 

त्यसो त दमकमा राप्रपा र माओवादीबीच तालमेल भयो भने पनि एमाले हार्न सक्छ । तर, माओवादी र राजावादीको गठबन्धन बन्ने कुनै सम्भावना पनि देखिँदैन ।

कसैसँग पनि गठबन्धन बनेन भने दमकमा सबै पार्टीहरू एक्लाएक्लै लड्दा फेरि पनि एमाले र राप्रपाकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ ।

दमकको चुनावको अर्को पनि पाटो छ । एमालेले स्थानीय तहमा राम थापालाई सघाएन भने आगामी संसदीय चुनावमा ओली र लिङ्देन बीच तालमेल र भोट साटासाटको सम्भावना लगभग समाप्त हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप