शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्ज महानगरपालिकामा काँग्रेस, एमाले र जसपाबीच प्रतिस्पर्धा

गठबन्धन बनाउन कसैलाई छैन चासो
मङ्गलबार, ०८ चैत २०७८, ०६ : १२
मङ्गलबार, ०८ चैत २०७८

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज अहिले चर्चामा छ । स्थानीय तहको निर्वाचन मिति सार्वजनिक भएसँगै सो महानगरपालिकामा मेयरका लागि टिकट हात पार्न आकाङ्क्षीहरू एउटा पार्टी छाडेर अर्कोमा प्रवेश गर्ने होड पनि देखिएको छ । आफू कहाँ सुरक्षित भइन्छ, टिकट कहाँबाट पाइन्छ भन्ने लेखाजोखाका साथ उनीहरू आफ्ना गतिविधि बढाउँदै गएका देखिन्छन् ।

एक महिनाअघि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका राजेशमान सिंह त्यहाँ टिकट नपाउने भएपछि आज जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । वीरगञ्जको टाउनहलमा भएको कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको उपस्थितिमा राजेशमान सिंह सो पार्टीमा प्रवेश गरेका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उनी एमालेमा प्रवेश गरेका थिए । वीरगञ्ज महानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि उनी एमालेमा प्रवेश गरेका थिए तर एमालेले जसपा छाडेर एमालेमा भर्खरै प्रवेश गरेका विजय सरावगीलाई मेयरको टिकट दिने तय गरेपछि राजेशमान सिंह एमाले पार्टी छाडेर जसपामा आएका हुन् ।

जसपाबाट राजेशमान सिंह, एमालेबाट विजय सरावगी, काँग्रेसबाट अजय द्विवेदी, माओवादी केन्द्रबाट रोहबर अन्सारी, लोसपाबाट पुरुषोत्तम झाले वीगरञ्जको मेयरमा उम्मेदवारी दिने लगभग निश्चित छ तर पार्टीस्तरबाट यसबारे औपचारिक निर्णय आउन बाँकी छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि जसपाले राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाउने भएको छ । राजेशमान सिंह यसअघिको स्थानीय चुनाव (वीरगञ्ज महानगरपालिका) तेस्रो स्थानमा सीमित भएका थिए । उनी पुनः चुनाव लड्ने तयारीमा छन् ।

यता, काँग्रेसबाट अजय द्विवेदीले मेयरमा उम्मेदवारी दिने चर्चा छ । उनले यसअघिको चुनावमा दोस्रो स्थान ल्याएका थिए । ​द्विवेदीले भने, ‘यसपटक मेयर नछाड्ने सोच हाम्रो बनिसकेको छ, गठबन्धन बने पनि नबने पनि हामीले महानगरपालिका छाड्ने छैनौँ ।’

केन्द्रले कुन दलसँग कसरी गठबन्धन बनाउँछ, त्यो केन्द्रको सरोकारको विषय भए पनि स्थानीय तहमा खासगरि महानगरपालिकाका लागि गठबन्धनका बारेमा स्थानीय स्तरकै नेताले छलफल गरेर निर्णय लिने उनको भनाइ छ ।

उनले आफ्नो पहिलो रोजाई प्रतिनिधिसभा सदस्य रहेको तर त्यो कन्फर्म नभएको अवस्थामा मेयरमा उम्मेदवार हुने पनि बताए ।

काँग्रेसबाट श्याम पोखरेल, विजय सर्राफ, ओमप्रकाश सर्राफ, नरेन्द्र साहलगायतको पनि मेयरका लागि चर्चामा छ । तर अजय यसअघि चुनाव लडिसकेका र दोस्रो स्थान हासिल गरेका कारण पार्टीले उनलाई नै फेरि मौका दिने सम्भावना रहेको काँग्रेसका स्थानीय नेताको बुझाइ छ ।

२०७४ सालको निर्वाचनमा वीरगञ्जको मेयरमा काँग्रेस पराजित भए पनि उपमेयरमा काँग्रेसकै शान्ति कार्की विजयी भएकी हुन् । तत्कालीन फोरमका विजय सरावगीले १९ हजार ३९३ मत ल्याएर मेयरमा जित्दा उपमेयरमा काँग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत ल्याएकी थिइन् ।

यसअघिको चुनावमा वीरगञ्जको मेयरमा एमालेबाट बसरुद्दीन अन्सारी उम्मेदवार थिए । यसपालि उनी संसद्मा चुनाव लड्ने तयारी गरिरहेका छन् । उनको ठाउँमा विजय सरावगीले मेयरमा उम्मेदवारी दिने भएका छन् ।

यता, माओवादी केन्द्रबाट रोहवर अन्सारीको चर्चा अझै कायम छ । अहिलेसम्म सो पार्टीबाट अरू कसैले इच्छा देखाएका छैनन् । यसअघि माओवादीबाट अन्सारी नै मेयरमा उम्मेदवार बनेका थिए ।

रातोपाटीसँग कुरा गर्दै अन्सारीले भने, ‘महानगरपालिकाको मेयरमा उम्मेदवार दिने तयारी छ, तर भोलि गएर गठबन्धन बन्यो र यो सीट अरूको भागमा गयो भने भन्न सकिँदैन तर अहिलेसम्म म मेयरको दाबेदार छु, पार्टीबाट अरू कसैले दाबी गर्नुभएको छैन ।’

लोसपाबाट पुरुषोतम झा मेयरको उम्मेदवार हुने चर्चा छ । तर सो पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले पार्टीले अहिलेसम्म कसैको बारेमा कुनै निर्णय नलिएको बताए । उनले रातोपाटीसँग भने, ‘महानगरमा लोसपा चुनाव लड्छ तर कसलाई उम्मेदवार बनाउँछ भन्ने कुराको अहिले निर्णय भएको छैन ।’

एमाले र लोसपाबीच महानगरपालिकामा गठबन्धन हुने गृहकार्य पनि सुरु भएको छ । त्यसका लागि लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले गृहकार्य गरिरहेको बुझिएको छ । लोसपाका उम्मेदवार राजेशमान श्रेष्ठ एमाले हुँदै जसपा नेपालमा गइसकेपछि अहिले लोसपासँग बलियो उम्मेदवार देखिएको छैन । एमालेसँग गठबन्धन बन्यो भने लोसपाले उपमेयरमा चित्त बुझाउने छ । यदि लोसपाले एमालेसँगको गठबन्धनमा उपमेयरको कोटा पायो भने पर्सा जिल्लाका पार्टी अध्यक्ष पुरुषोत्तम झाकी श्रीमतीलाई अगाडि सार्ने चर्चा छ ।

वीरगञ्जमा काँग्रेस–जसपा र एमाले–लोसपाको गठबन्धन बनेको खण्डमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच गठबन्धन बन्ने सम्भावना देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप