शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीको अग्निपरीक्षा, मकवानपुरमा कति सफल होला ?

मङ्गलबार, ०८ चैत २०७८, ०५ : ४२
मङ्गलबार, ०८ चैत २०७८

मकवानपुर । नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले मकवानपुरमा स्थानीय तहको निर्वाचन लक्षित गरेर विभिन्न कार्यक्रम सुरु गरेको छ । कान्छो दल भए पनि यसले बागमती प्रदेश सरकारको नेतृत्व गरेको छ । त्यसैले मकवानपुरका सबै पालिकामा यो पार्टीले आफ्नो उपस्थिति जनाइसकेको छ ।

नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचन लक्षित गरी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएको छ । मकवानपुरका ८ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा आफ्नो संगठन निर्माण गरेर वडा, टोल र गाउँ कमिटी निर्माण थालिएको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।

उनका अनुसार मकवानपुरको १०२ वटा वडामध्ये ९९ वटामा पार्टीको कमिटी निर्माण गरी निर्वाचनमा परिचालित हुन निर्देशन दिइएको छ ।

एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सो पार्टीको जिल्ला सचिवालय बैठकले अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो ।

कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमिति समेटिएको जनाइएको छ । सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ता पनि तोकेको छ ।

जसमा हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष पोखरेल, थाहा नगरपालिकामा पोलिटब्युरो सदस्य ललित बस्नेत, मनहरी गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान र प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र सूर्यचन्द्र न्यौपाने छन् ।

त्यस्तै राक्सिराङ गाउँपालिकामा कल्याण विक्रम घलान, बागमती गाउँपालिकामा प्रदेश कमिटी सदस्य यादव गजुरेल, बकैया गाउँपालिकामा पार्टी सचिव विष्णु दाहाल, इन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने र निर्वाचन आयोग सदस्य रामचन्द्र बल, कैलाश गाउँपालिकामा प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङलाई सहजकर्ता चयन गरिएको छ ।

सचिवालय बैठकले सबै पालिकामा चैत १५ भित्र बैठक बसेर चुनावी अभियानलाई सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

यस्तो छ मकवानपुरमा एकीकृत समाजवादीको अवस्था

एमालेबाट चार पटकसम्म सांसद् भएका मकवानपुरका नेता विरोध खतिवडा अहिले एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका छन् । उनी हाल संघीय सरकारको स्वास्थ्यमन्त्री पनि हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा खतिवडाको पनि महत्वपूर्ण भूमिका छ । उनी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद् हुन् ।

उनले सो निर्वाचनमा ४६ हजार ४८१ मत ल्याएर जितेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले ३४ हजार ९० मत पाएकी थिइन् । १२ हजारभन्दा बढी मतान्तरले सो निर्वाचन जितेका खतिवडा अहिले एकीकृत समाजवादी मकवानपुरको अभिभावकीय भूमिकामा छन् ।

उनी एकीकृत समाजवादीमा आवद्ध भएपछि नेकपा एमाले तुलनात्मक रुपमा मकवानपुरमा केही कमजोर देखिएको छ । तर उनी नेकपा एकीकृत समाजवादीबाट पनि आफ्नो विजययात्रालाई आगामी निर्वाचनमा कायम राख्न सक्लान् त ? यो पनि चासोको विषय बनेको छ । 

यता खतिवडाकी पत्नी एवम् नेकपा एमाले मकवानपुरकी तत्कालीन अध्यक्ष मुनु सिग्देल पनि एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् । उनी एमालेकै बलमा मकवानपुरबाट समानुपातिकतर्फबाट बागमती प्रदेशसभा सदस्य चयन भइन् । हाल उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य छिन् । उनलाई पार्टी संगठनको बलमा आगामी निर्वाचन प्रत्यक्ष रुपमा जित्न चुनौती कम छैन ।

यता हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा पनि एमाले त्यागेर एकीकृत समाजवादी पार्टीमा आवद्ध भएकी छन् । उनी एमालेबाट २०७४ मा भएको निर्वाचनमा २३ हजार ४३७ मत ल्याएर विजयी भइन् । हाल उनले एकीकृत समाजवादीबाट हेटौंडाको मेयरमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेकी छन् ।

एमालेको बर्चश्व र काँग्रेसको बढ्दो लोकप्रियताका बीच मेयरमा आकांक्षा व्यक्त गरेकी लामालाई एकीकृत समाजवादीको भरमा निर्वाचन जित्न निकै कठिन पर्ने लगभग पक्का छ ।

त्यस्तै मकवानपुरका २ गाउँपालिका प्रमुख पनि एमाले छोडेर एकीकृत समाजवादीमा आवद्ध भएका छन् । कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तान र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । हाल उनीहरु एकीकृत समाजवादीमा छन् । उनीहरुले २०७४ को निर्वाचनमा क्रमशः २ हजार ८०२ र ३ हजार २०४ मत ल्याएका थिए ।

कैलाशका अध्यक्ष मोक्तानले नेपाली काँग्रेसका लोक बहादुर मोक्तानलाई पराजित गरेका थिए भने इन्द्रसरोवरका लामाले नेपाली काँग्रेसका विश्वलाल लामालाई पराजित गरे । दुवै जनाले आगामी निर्वाचनमा पुनः अध्यक्षमा दोहोरिने आकांक्षा राखेका छन् । उनीहरु दुवैलाई आगामी निर्वाचनमा एकीकृत समाजवादीको भरमा निर्वाचन जित्नु भने फलामको चिउरा सरह हुने देखिन्छ । चुनावी तालमेल भएको अवस्थामा भने उनीहरुका लागि केही सहज हुने देखिन्छ ।

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पनि एमाले विभाजनपछि एकीकृत समाजवादी पार्टीमा आवद्ध भइन् । उनी नेकपा एमालेबाट २०७४ सालमा मनहरी गाउँपालिकाको उपाध्यक्षमा ४ हजार ६३१ मत सहित विजयी भएकी थिइन् । उनले काँग्रेसकी कमला कार्कीलाई पराजित गरिन् ।

विष्ट एकीकृत समाजवादीमा सामेल भएपछि मनहरीमा नेकपा एमालेलाई धक्का लाग्नु स्वाभाविक नै हो तर विष्टलाई पनि आगामी निर्वाचनमा जित हासिल गर्न सहज भने छैन ।

त्यस्तै हेटौंडा–१३ का वडा अध्यक्ष मनोज कुमार वाइवा, थाहा नगरपालिका–११ का वडा अध्यक्ष किरणमान बलसहित विभिन्न स्थानीय तहका निर्वाचित सदस्यहरु एमाले छोडेर समाजवादीमा आवद्ध भएका छन् ।

हाल एकीकृत समाजवादी पार्टी मकवानपुरमा करिव ६ हजार कार्यकर्ता आवद्ध भइसकेको अध्यक्ष पोखरेलको दाबी छ । तर, आगामी निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवारहरुलाई आफ्नै बलमा जित्न भने सम्भव देखिँदैन ।

मकमावनपुरमा आगामी निर्वाचन एकीकृत समाजवादीका लागि अग्निपरीक्षा हुने निश्चित छ । एमालेबाटै गएका एकीकृत समाजवादीका उम्मेदवारहरूले एमालेको गढ तोड्न कति सफल होलान् भन्ने कुरा निर्वाचनपछि मात्र प्रस्ट हुनेछ । आगामी निर्वाचनले नै तत्कालीन समयमा एमालेबाट उम्मेदवार बनेर विजयी भएका गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएका उनीहरुको शक्ति परीक्षण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप