सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङका प्रमुख जिल्ला अधिकारी भन्छन्– लेटाङ घटना हुनुमा अराजकता प्रमुख कारण

सोमबार, ०७ चैत २०७८, २२ : ०९
सोमबार, ०७ चैत २०७८

एक जना प्रहरी जवानको ज्यान जाने गरी भएको लेटाङ घटनामा संलग्न आशङ्का गरिएका ८ जना पक्राउ परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए अनुसार सोमबार बेलुकासम्ममा ८ जनालाई पक्राउ गरिएको हो ।

यस्तै प्रशासनले आह्वान गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपित शिक्षकलाई भिडले नै कारवाही गर्न खोजेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लैजान खोजेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सो घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका छन् ।

सोमबार लेटाङमा पुगेर प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले घटनाको स्थलगत जानकारी लिएको छ । घटनास्थलमा पुगेर फर्किएपछि त्यहाँको अवस्थाको बारेमा रातोपाटीले प्रमुख जिल्ला अधिकारी दाहालसँग संक्षिप्त कुराकानी गरेको छ ।

प्रस्तुत छ, प्रमुख जिल्ला अधिकारी दाहालसँग गरिएको कुराकानीका सम्पादित अंश–
 

घटना हुनुको मुख्य कारण के रहेछ ?

यसखालको घटना हुनु भनेको मुख्य कारण अराजकता नै हो । चेतनाको कमी समाजमा अझै देखिन्छ । अराजक प्रवृत्ति देखिन्छ । यस्ता प्रवृत्ति निरुत्साहित गर्ने सामाजिक भावना राजनीतिक दल, अगुवाहरुमा अझै देखिएन । हिजैदेखि हामीले प्रयास ग¥यौं, सबै राजनीतिक दलका स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म हामीले वातावरण सहज बनाउन पहल ग¥यौं । तर, त्यहाँ त्यसखालको प्रयास गर्दा गर्दै घटना न्यूनीकरणमा समाधान हुने खालको परिस्थिति बनेन । राजनीतिक दलको नेतृत्वको सहयोगबाट पनि हामीले मास कन्ट्रोल गर्न सकेनौं ।

घटनाको अनुसन्धान कसरी भइरहेको छ ?

अहिलेसम्म हत्याको घटनामा संलग्न आशंकित ८ जनालाई हामीले पक्राउ गरेका छौं । आजमात्रै कर्फ्यु उल्लंघन गर्ने १२ जनालाई हामीले पक्राउ गरेका छौं । घटनाको अनुसन्धान गम्भीर ढङ्गले भइरहेको छ र दोषीलाई सजाय दिलाउँछौं ।

अहिले लेटाङको अवस्था के छ ? कर्फ्यु थपिन्छ ?

आज हामी पुगेपछि वडाध्यक्षलगायत जनप्रतिनिधिसम्म जानकारी लिएका छौं । बाहिरबाट मानिसको घुसपैठ भएको कुरा पनि आएको छ । त्यसखालको परिस्थिति अन्त्य हुने अवस्था आयो भने हामीले घटनालाई सामान्यीकरण गर्दै कर्फ्यु छोट्याउन सकिन्छ । 

बलात्कार आरोपित शिक्षकमाथि कारवाहीको माग गर्दै त्यत्रो भिड जम्मा भइसकेको अवस्थामा प्रहरीको पहल ढिलो भएको हो ?

त्यस्तो होइन । आइतबार दिउँसो १२ बजेतिर मात्रै प्रहरी प्रशासनले त्यो इस्युबारे थाहा पाएको हो । केही समय छलफल हुँदाहुँदै झडपको अवस्था भयो है भन्ने अवस्था त २ बजेतिर मात्रै भयो । त्यसपछि त्यहाँ अभिभावक विद्यार्थीहरुको भिड जम्मा हुँदै गयो । ४ बजेतिर त्यहाँको टोलीले नसक्ने भन्ने भएपछि हामीले थप बल पठाएका हौं । बेलुका ७ देखि साढे ७ बजेसम्ममा अर्को घटना भएको हो ।

 घटनामा बाहिरका मानिसहरु संलग्न थिए ?

त्यस्तो कुरा पनि आएको छ । हामी अनुसन्धान कै क्रममा छौं । मोरङका प्रहरी प्रमुख एसपी साब नजानु भएको भए त्यहाँ अझै ठूलो दुर्घटना हुने थियो । किनकि स्कुलमा उपमेयर हुनुुहन्थ्यो, प्रअ, शिक्षकहरु, वडाध्यक्षहरू, प्रहरी पनि त्यहीँ थिए । उहाँहरुलाई त रेस्क्यु गर्नैपर्ने अवस्था थियो । त्यसक्रममा मास एक्कासी आयो र झडप भयो । स्कुलको एउटा गेटमा भएका अभिभावकलाई छक्याएर अर्को गेटबाट मानिस निकाल्न खोज्दा स्कुलबाट झण्डै साढे २ सय मिटर जति टाढा मास आएर आक्रमण सुरु गरेको देखिन्छ । 

हामीले त्यहाँको जनजीवन सामान्य बनाउने प्रयास गरिरहेका छौं । फेरि पनि त्यस्तो घटना नहुने गरी काम गरिरहेका छौं ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप