शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मुसिकोट सबस्टेशन उद्घाटन, सबै नागरिकका घरमा विद्युत् पुर्‍याउँछौँ  : ऊर्जा मन्त्री भुसाल

सोमबार, ०७ चैत २०७८, २० : ०४
सोमबार, ०७ चैत २०७८

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले आज मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेशनको संयुक्त रुपमा उद्घाटन गरे ।

सबस्टेशनबाट रुकुमपश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिने छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकाले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् । 

अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’ मा परिणत भएको चर्चा गर्दै पूर्वऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, “विद्युत् आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ ।”

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए । सल्यान सित्तलपाटी सबस्टेशनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत् लगेर सबस्टेशन सञ्चालनमा ल्याएको हो । सबस्टेशनमा तीन एमभिए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेशन सञ्चालनमा आएपछि रुकुममा विद्युत्को भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ । 

जाजरकोटको कुदु सबस्टेशनबाट पनि जिल्लाभरी विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत् अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा बत्ती बाल्न सकिन्छ । सबस्टेशनबाट विद्युत् आपूर्तिका लागि फिडर निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत् आपूर्ति भइरहेको छ । बाँकी फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा झनै सुधार आउने छ । रुकुमपूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको पाँच मेगावाटको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् यही मुसिकोट सबस्टेशनमा जोडिने छ ।

सबस्टेशन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिराको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेशन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालिसँग रु आठ करोड ८८ लाखमा ठेक्का सम्झौता भएको थियो । 

रुकुम पश्चिममा तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका सबैमा विद्युत् पुगेको छ । सबै वडामा भने विद्युत् पुगेको छैन । पालिकाको वडा सङ्ख्या ७३ रहेकोमा ५२ वटा वडामा विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजल विद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप