बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हुम्ला अस्पतालबाट विशेषज्ञ सेवा दिने सम्झौता

सोमबार, ०७ चैत २०७८, १७ : ३३
सोमबार, ०७ चैत २०७८

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । 

हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । 

प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीबीच सम्झौता भएको हो । थप दुईजना विशेषज्ञ चिकित्सक पठाएर सेवालाई प्रभावकारी बनाउन लागिएको छ । सम्झौता अनुसार आगामी वैशाख अगावै विशेषज्ञ चिकित्सक हुम्ला अस्पताल पुग्नेछन् । हुम्ला अस्पतालमा सर्जिकल, ओटी र गाइनोलोजिष्टलगायतका विशषज्ञ सेवा सञ्चालनलाई तीन चिकित्सक पठाइने उपकुलपति डा.रावलले बताए । 

यसपछि जटिल शल्यक्रिया हुम्लामै गर्न सकिने छ । बिरामी बाहिर पठाउने कार्यलाई निरुत्साहित बनाइने छ । देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो । 

प्रतिष्ठान कर्णालीको मात्र नभइ पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा विकास भइरहेकोले सोही अनुसार प्रतिष्ठानले आफ्नो सेवा, शिक्षा तथा अनुसन्धानको दायरालाई पनि बढाउँदै गएको प्रतिष्ठानका उपकुलपति डा रावलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप