यस्तो छ नेपाली कविताको वर्तमान अवस्था
नेपाल एकीकरणसँग सुवानन्द दासले सुरु गरेको नेपाली कविता विधा अहिले गणतान्त्रिक युगमा प्रवेश गरिसकेको छ । छापाखानाको प्रारम्भ नभई सुरु भएको नेपाली कविता अहिले त्यो युग पार गर्दै इमेल इन्टरनेटका माध्यमबाट अत्याधुनिक युगमा प्रवेश गरेको छ । हरेक व्यक्तिको सिर्जना एक क्लिक थिचेको भरमा विश्व समुदायले पढ्न सक्ने युगमा प्रवेश गरेको छ । हरेक कविमनहरू आफूले चाहेका सर्जकका कविता औँलाले थिचेको भरमा हेर्न पाउन सक्ने युगमा जुरमुराइरहेका छन् ।
गणतन्त्रको आगमन र अभिव्यक्ति स्वतन्त्रता प्राप्तिपछि हरेक वर्ग, क्षेत्र, लिङ्ग र जातजातिले आफ्ना हेपिएका, पिल्सिएका पीडाका अभिव्यक्ति कवितामार्फत व्यक्त गर्न थाले । आफ्नो पहिचानका विषयवस्तुको उठान गरे । आआफ्ना भाषामा मौलिक संस्कृति झल्काउने कविताहरू लेखिरहेका छन् । यसले हरेक समुदायको वैचारिक अभिव्यक्ति कवितामा आउन थालेका छन् ।
यसका अतिरिक्त नेपालीहरू वैदेशिक रोजगारीमा गई त्यहाँ पाएका दुःख पीडा र आफ्ना गाउँघरका दुःखपीडाका अभिव्यक्तिहरू पनि कवितामार्फत व्यक्त गर्दै आएका छन् । यसले विश्वलाई एउटा गाउँमा बदलेको छ । कवितामार्फत विश्वका कविमनहरू एक ठाउँमा आउन सफल भएका छन् ।
अन्य विधाका तुलनामा अहिले धेरै सर्जक नेपाली कविता क्षेत्रमा प्रवेश गरेका छन् । तर कविताको गुणात्मक अभिव्यक्ति कम हुँदै गएको भान हुन थालेको छ । सोमबार परेको विश्व कविता दिवसको सन्दर्भमा नेपाली कविताको अवस्था कस्तो छ भनेर यस क्षेत्रका विशिष्ट व्यक्तित्व प्राडा. कृष्णहरि बराल र डा. रामप्रसाद ज्ञवालीसँग रातोपाटीका शिखर मोहनले गरेको कुराकानीको सम्पादित सारः
सामाजिक चेतनाका दृष्टिकोणबाट आजका कविता धेरै राम्रा
रामप्रसाद ज्ञवाली
सम्पूर्ण कवितालाई एक ठाउँमा राखेर हेर्दा कविताको स्तर मिश्रित छ । कुनै कविताको स्तर धेरै माथि र कुनै एकदमै सामान्य छन् । विषयवस्तु टिप्ने दृष्टिकोणबाट अहिलेको युगलाई सम्बोधन गर्ने खालका छन् । सामाजिक चेतनाका दृष्टिकोणबाट आजका कविता धेरै राम्रा र माथिल्ला स्तरका छन् ।
कलात्मक दृष्टिकोणबाट परिष्कार गर्नुपर्ने, प्राज्ञिकता ल्याउनुपर्ने, सघनता ल्याउनुपर्ने कुरामा चाहिँ हजारौँ कविमध्ये केही दर्जन कवि मात्रै सक्षम देखिन्छन् । कविताको सङ्ख्या हजारौँ छ तर हजारवटा कविता पाउन कठिन छ ।
पुस्तक बिक्रीका हिसाबले कविताका पाठक एकदमै कम
सामाजिक सञ्जालमा कविताहरू पढ्ने, त्यसमा सक्रिय रहनेको सङ्ख्या निकै ठूलो छ तर पुस्तक बिक्रीका हिसाबले कविताका पाठक एकदमै कम छन् । पढ्ने दृष्टिकोणबाट पाठकको सङ्ख्या निकै ठूलो देखिन्छ ।
अहिले छन्द कविताको पुनर्जागरण युग
छन्द कविताको युग पुनर्जागरण भएको छ । २०१७ देखि २०४६ सालसम्म छन्द कविता असाध्यै ओझेलमा परेको अवस्था थियो । तर २०५० को दशकदेखि अहिलेसम्म छन्दमा लेखिएका महाकाव्यको सङ्ख्या चार सय पुगिसकेको छ भने खण्डकाव्यहरू १३ सयवटा लेखिसकिएका छन् । फुटकर कविताहरू त हजारौँ लेखिसकिएको छ ।
यस पुनर्जागरणमा छन्द तरङ्ग भन्ने अभियानले त टिकट सो नै गरेको छ । नेपाल साहित्यको इतिहासमा कविताको यस्तो सो लगातार दुई वर्षसम्म चलाइएको पहिलो हो । यसैगरी पोखराबाट छन्द बचाऊ आन्दोलन चलिरहेको छ । छन्द निकुञ्ज भन्ने संस्थाले नियमित कार्यक्रम गरि नै रहेको छ ।
बजारमा, सञ्चार माध्यममा, सामाजिक सञ्जालमा छन्द कविता अत्यधिक मात्रामा पाउँछौँ । छन्दका सीडी बनेका छन्, विद्यालय विद्यालयमा छन्दको पढाइ हुन्छ । छन्द प्रतियोगिता भएका छन्, त्यसमा भाग लिने प्रशस्त छन् ।
तर लेखकको सङ्ख्या हेर्दा छन्दमा भन्दा गद्यमा लेख्नेको सङ्ख्या बढी छ । किनभने छन्दमा लेख्न शास्त्रमा लेख्नुपर्यो । गण सिक्नुपर्यो । भाषा र छन्दका बीचमा ताल मिलाउन सक्नुपर्यो । धेरै साधनमा गरेपछि मात्र छन्दमा लेख्न सकिन्छ । साधना गर्न नसक्नेहरू चाहिँ छन्दबाट भाग्छन्, साधना गर्ने र त्यसमा आँट गर्नेहरू लाग्छन् ।
मानवीय मूल्यका पक्षमा लेखौँ
कविता शब्दको जालो मात्र होइन । कविता लेख्नेको मन छुनु पनि पर्छ, पढ्ने मान्छेको मन हल्लाउन सक्नुपर्छ । तर सामाजिक रूपान्तरणका निम्ति काव्यिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसो भएको हुँदा थोरै लेखौँ तर मन छुनेगरी प्रभावकारी तरिकाले सम्प्रेषणीय लेखौँ । नागरिक दायित्व बोध गर्दै मानवीय मूल्यका पक्षमा लेखौँ । यसमा भाषा, कला र विचार, रूप र अन्तरवस्तुको चाहिँ अत्यधिक सन्तुलन भएर लेख्न पाइयो भने जाति हुन्छ ।
कवितालाई विश्वव्यापी बनाउने, विश्वभरिकै कविहरूबीचमा ऐक्यबद्धता स्थापित गर्ने यसको लक्ष्य हुनुपर्छ । प्रत्येक जात धर्म, सम्प्रदाय, वर्ग, क्षेत्र, लिङ्ग सबै क्षेत्रका कविहरूले मानवीय मूल्य, मानवीय संवेदनालाई बढीभन्दा बढी स्तरीय बनाएर काव्यिक मूल्यसहितको प्रस्तुत गर्ने भन्ने अभियानका सन्दर्भमा यो दिवस सफल हुनुपर्छ । यसमा हामी सबैले आआफ्नोतर्फबाट सफल पार्नुपर्छ ।
पहिलेका तुलनामा अहिलेका कविता जटिल
कृष्णहरि बराल
भावबिना कविता नै हुँदैनन् । कुनै पनि विषयवस्तुलाई भावपूर्ण ढङ्गले र इमोसनल रूपले अभिव्यक्त गर्नु कविताको धर्म हो । छन्द मात्र मिलाएर कविता हुँदैन । अहिले गद्यकविताको प्रचलन बढी छ । यसले अझ बढी भाव बोक्ने अपेक्ष गर्छ । विचार र भावको संयमित अवस्थाको अपेक्षा गर्छ । यस्ता कविता लेख्ने धेरै नै छन् । सबैका कविता एकदमै भावपूर्ण छन् भन्न सकिन्न । भर्खर आएका कविहरू जो कवितामा निखार ल्याउन प्रयास गर्दैछन्, उनीहरूका कवितामा भाव केही कम हुनसक्छ । यो अवस्थामा कवितामा भाव र लयको आवश्यकता र गद्यमै पनि एक प्रकारले आन्तरिक लय चाहिने हुनाले त्यो अवश्यै चाहिन्छ । अहिले पनि कविता एकदमै सुस्त एकदमै भावविहीन त छैनन् ।
पहिलेका कविताको तुलनामा विचारको प्रवेश चाहिँ अलि बढी कविताभित्र भएको छ । पाठकले विचार पनि बुझ्नुपर्ने हुन्छ र पाठक पनि अलि बढी सचेत हुनु जरुरी छ ।
भर्खरै प्रकाशित नेत्र एटमको कविता सङ्ग्रहमा पनि एक प्रकारको चमत्कार, फिलभित्र पनि वैचारिकताको प्रवेश भेटिन्छन् । त्यसमा भावको पनि स्पर्श भइदिएको हुनाले ती कविता भिन्न किसिमका र आकर्षक छन् । यस्ता खालका कविता धेरै प्रकाशित छन् ।
पहिलेका कवितामा एउटा लय आउँथ्यो, अनि फिल आउँथ्यो । अहिलेका कवितामा भाषाको खेल पनि अत्यधिक धेरै हुनथालेको छ । विश्वसँग परिचित भएको नाताले विश्वका परिवेश, विश्व चर्चाका विम्बहरू आउन थाले, विश्व संस्कृतिसँग परिचित हुँदा ती कुरा पनि विम्ब र प्रतीकका रूपमा कवितामा पस्न थालेपछि पहिलेका तुलनामा कविता जटिल भएका छन् । लेखनाथ र माधव घिमिरेका कविता पढ्ने मानिसले अहिलेका कविता बुझ्न केही अन्योल भएको छ । अहिलेका पाठकले पनि कविता पढ्न आफूला तयार गर्नुपर्ने अवस्था छ ।
कविताका पाठक घटे
प्रकाशकहरूलाई कविता सङ्ग्रह प्रकाशन गर्न त्यति चाहँदैनन् । त्यो बिक्री कम भएर हो । तर एकदमै धेरै सङ्ग्रह चाहिँ गजल र गीतका निस्किएका छन् ।
यति हुँदाहुँदै पनि कविताको शाश्वत धर्म त चलिरहेकै छ । टिकटक, सामाजिक सञ्जाल, युट्युब आदिमा पनि छन्दका कविता गाएर हाल्ने प्रविधिको विकास भएको छ । यसबाट कविताप्रति अरू पाठकलाई पनि तानेको अवस्था छ ।
छन्दतिर आकर्षण बढेको छ
मोहन कोइराला, भूपि शेरचनहरूले गद्यकवितामा एकदमै ढलीमली गरे र व्यापकता कमाए । त्यो बेलामा केही कम थियो । तर अहिले आएर छन्द कविताको पुनर्जागरण भएको छ । छन्दतिर फेरि आकर्षण बढेको छ । छन्दका कविता लय हालेर पढाउँदा विद्यार्थी खुसी हुन थालेका छन् । मिडियाहरूमा पनि छन्दका कविता प्रशस्त गाइएका छन् ।
कवितामा आफ्नो पहिचान देखाउन सक्नुपर्छ
साहित्यलाई समाजको ऐना हो भनिन्छ । पृथ्वीनारायण शाहका पालामा सुवानन्द दासको कविता, त्यसपछि भक्ति धाराका कविताहरू, त्यसपछि शृङ्गारका कविता मोतीराम भट्टका पालाका कविता पनि रहन्छन् । कवितामा कुनै पनि कुरा निषेध हुँदैन ।
कवितामा दुईवटा कुरा हुन्छन् । एउटा विषयवस्तु; जो भावपूर्ण भएर आउनुपर्छ । अर्को कसरी प्रयोग भएको छ भन्ने शिल्प पक्ष हुन्छ । यी दुईपक्षलाई सन्तुलित गरेर आउने पहिलेका कविहरू थिए । तीभन्दा भिन्न अनुहार देखाउन सक्नुपर्छ कविले । नत्र केन्द्रीयता एउटै हुन्छ, त्यसको पछि लाग्ने होइन्छ । आफू अगाडि लागेर नेतृत्व गर्न विषयवस्तु नयाँ, शिल्प पनि नयाँ ढङ्गले लेखेर भीडभित्र आफ्नो पहिचान नयाँ देखाउन आग्रह गर्छु ।
नवप्रतिभाका कविता प्रकाशन गरे सार्थक
विश्व कविता दिवसको अर्थ कवितालाई सम्मान गर्ने, लेख्ने मात्र होइन । जो कविता लेख्न चाहन्छन्, प्रतिभाका धनी छन्, प्रकाशन गर्न सक्दैनन्, तिनको पनि कविता सङ्ग्रह प्रकाशित गरिदिने संस्थाहरू चाहिन्छ । प्रकाशकहरूले विश्व कविता दिवस पारेर १० प्रकाशकहरूले १० जना पैसा नभएका नयाँ प्रतिभाशाली कविहरूको कविता सङ्ग्रह प्रकाशन गरिदिए वास्तवमा विश्व कविता दिवस सार्थक हुनेथियो ।
कविताको धर्म र मर्म बुझ्ने, कविता लेख्ने, अरूलाई सुनाउने, गाउँठाउँ, कुनाकाप्चामा जहाँ कविहरू पुग्दैनन् त्यो ठाउँमा पनि गएर कवि सम्मेलनहरू गर्नुपर्छ । सरकारले पनि गराउनु पर्ने हो । कवितासँग अझ बढी निकटता राख्ने काम गर्नुपर्छ । कविता दिवसमा पनि टोलटोलमा कविता वाचनका कार्यक्रम होऊन् । सबैमा कविता दिवसको हार्दिक शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै