बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

सोमबार, ०७ चैत २०७८, ०७ : २८
सोमबार, ०७ चैत २०७८

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो  । 

बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।

गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ । 

एमाले सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवार पार्टीको वडा कमिटीबाट सिफारिस गरी जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने तथा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिश जिल्ला र प्रदेश कमिटीले गरेपछि निर्णय केन्द्रले गर्नेगरी एमाले सचिवालयले प्रस्ताव गरेको थियो । 

सो प्रस्ताव पोलिटब्युरोमा छलफलपछि केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने एमालेको तयारी छ । एमाले पोलिटब्युरो कमिटीमा केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप