बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘रूस र युक्रेन युद्ध रोक्न सहमति नजिक’ : टर्की

आइतबार, ०६ चैत २०७८, २३ : २२
आइतबार, ०६ चैत २०७८

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । ​चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’

दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । ​चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद्धरत दुवै मुलुकसँग टर्कीको बलियो सम्बन्ध छ । टर्कीले नै युद्ध अन्त्य गराउन मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ । गत साता नै टर्कीले युक्रेन र रूसका विदेशमन्त्रीलाई अंकारामा स्वागत गरेको थियो । 

चोवाशुग्लूले टर्की दुवै देशका वार्ताकार समितिको सम्पर्कमा रहेको पनि बताएका छन् । टर्कीले इमानदार मध्यस्थकर्ताको भूमिका निभाइरहेको उनको भनाइ छ । टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनका विदेश नीति सल्लाहकार इब्राहिम कालिनले पनि एक अखबारसँग कुरा गर्दै रूस र युक्रेनबीच ६ बुँदे सहमति प्रस्तावमाथि वार्ता भइरहेको बताएका थिए ।

६ बुँदाहरूमा युक्रेनको तटस्थता, असैनिकीकरण तथा सुरक्षा ग्यारेन्टी, गैर नाजीकरण, युक्रेनमा रूसी भाषा प्रयोगमा अवरोध अन्त्य र पृथकतावादी डोनबास क्षेत्रमा रूसको नियन्त्रण तथा सन् २०१४ देखि रूसको नियन्त्रणमा रहेको क्रिमियाको स्थिति सामेल गरिएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि लगातार अपील गरिरहेका छन् । उनले रूसलाई वार्ता प्रस्ताव स्वीकार्न र आक्रमण रोक्न आग्रह गरेका हुन् । शनिबार उनले भनेका थिए, ‘यो मिल्ने र कुराकानी गर्ने समय हो । युक्रेनको क्षेत्रीय अखण्डता र निष्पक्षता नवीकरण गर्ने समय हो ।’ 

टर्कीले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न तयार रहेको पनि बताएको छ । चोवाशुग्लूले शान्तिका लागि आफूहरूले दिनरात काम गरिरहेको र युद्धविराम गर्नेमा आशावादी रहेको बताएका हुन् । 

रूसी सेनाले फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको हो । रूसी राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई रूसको विशेष सैन्य अभियान भएको बताइरहेका छन् । युक्रेन र पश्चिमा मुलुकहरूले भने पुटिनले युक्रेनमा हिंस्रक युद्ध गरिरहेको जनाएका छन् । रूसले केही दिनयता युक्रेनमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र दागिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप