आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘थाइल्याण्डविरुद्धको खेल वरीयता सुधार र एसियन कप छनोटका लागि महत्त्वपूर्ण छ’

आइतबार, ०६ चैत २०७८, १९ : ०१
आइतबार, ०६ चैत २०७८

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल फिफा वरीयता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरीयतामा सुधार हुने बताएका हुन् । 

‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना गर्नेछ । थाइल्याण्ड त्यही क्षेत्रको हो जहाँ इन्डोनेसिया पर्छ र उनीहरू जोर्डन र कुवेतको वरीयतामा रहेका छन् । त्यसैले हाम्रो लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ,’ अल्मुताइरीले भने । 

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।  ​अल्मुताईरीले थाइल्याण्ड र चोनबरी एफसीसँगको खेलमा युवा खेलाडीहरुले अवसर पाउने बताएका छन् । आफ्नो लागि नतिजाभन्दा पनि खेलाडीको प्रदर्शनमा सुधार ल्याउनु महत्त्वपूर्ण भएको उनले बताए । 

‘मलाई नतिजासँग भन्दा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरुन् भन्ने हो । त्यसैले मैले दुवै खेलमा युवा खेलाडीलाई प्राथमिकता दिनेछु,’ अल्मुताइरीले भने । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ ।

एएफसी एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । 

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप