बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दर्ता नभएको विप्लवको दलले स्थानीय चुनावमा कसरी भाग लिन सक्छ ?

चुनावको उपयोग गर्ने निर्णय लिए विप्लवका अगाडि २ विकल्प
आइतबार, ०६ चैत २०७८, १७ : ४८
आइतबार, ०६ चैत २०७८

ठीक ५ वर्षअघि यतिबेलाको समयमा राजनीतिक दलहरु स्थानीय तहको चुनावको उत्साहमा थिए । हरेक ५ वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय तहको चुनाव २०५४ सालमा भएपछि लामो अन्तरालमा एकैचोटी २० वर्षपछि चुनाव हुँदै थियो । २०७४ सालमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु चुनाव सफल बनाउने अभियानमा लागिरहेका बेला विप्लव नेतृत्वको तत्कालीन माओवादी दल भने ब्यापक मात्रामा सुतली बम, प्रेसर कुकर बम लगायतका विष्फोटक पदार्थ निर्माणको तयारीमा थिए । उनीहरु जसरी हुन्छ, धेरै भन्दा धेरै स्थानमा चुनाव बिथोल्ने भरमग्दुर प्रयासमा थिए ।

अहिले उनै विप्लव नेतृत्वको माओवादीबाट नाम परिवर्तित दल नेकपामा यतिबेला चुनावमा कसरी जाने भन्ने बारेमा छलफल भइरहेको छ । स्रोतका अनुसार सो दलका नेताहरु चुनावलाई उपयोग गरेर जाने वा नजाने भन्ने दुई पक्षमा बाँडिएका छन् । यसबारे निर्णय भने भइसकेको  छैन । अघिल्लो वर्षदेखि शान्तिपूर्ण बाटोमा आएको यो दलले पछिल्लो समय हिंसात्मक गतिविधि छोडेको छ । सरकारले लगाएको प्रतिबन्ध खुलाएपछि विप्लव समूहका नेताहरु खुला राजनीतिमा सक्रिय छन् तर उनीहरुका केही कार्यकर्ता भने अझै विभिन्न जेलमा छन् ।

विप्लवको दलले चुनावमा सहभागी भएर शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने बाटो समाउन खोजेको देखिन्छ भने अर्कोतिर जेलमा रहेका आफ्ना कार्यकर्ताहरूलाई छुटाउनका लागि पनि पहल गरेको देखिन्छ । गत चैत ४ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको सो दलको केन्द्रीय समितिको बैठक अझै जारी छ । सो बैठकमा आगामी स्थानीय तहको निर्वाचनलाई उपयोग गरेर जाने प्रस्तावमाथि पनि छलफल भइरहेको सो दलका केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् ।

के छलफल हुँदैछ केन्द्रीय समिति बैठकमा ?

शिवगढीको जारी बैठकमा विविध समसामयिक विषयका साथै आगामी स्थानीय तहको चुनावबारे पनि छलफल चलिरहेको छ । सो दलका केन्द्रीय सदस्य माइला लामाले बैठकमा चुनावबारे छलफलको एजेण्डा रहेको र त्यसबारे निर्णय भई नसकेको बताए । उनले भने, ‘चुनावमा जाने वा नजाने भन्नेबारे कुनै निर्णय भएको छैन । यस बारेको प्रस्तावमा छलफल भइरहेको छ । बैठक सकिएपछि मात्रै यसबारे निर्णय आउनेछ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

करिब ५ दिन बस्ने गरी सुरु भएको सो दलको केन्द्रीय कमिटीको बैठक अझै २ दिन लम्बिएको छ । स्रोतका अनुसार सो दलभित्र चुनावलाई उपयोग गरेर जानुपर्ने र चुनावमा जानै नहुने दुई धार देखा परेको छ । तर दलकी केन्द्रीय सदस्य खुमा सुवेदीले भने आफ्नो दल चुनावमा जाने भनेर मिडियामा नकारात्मक प्रचार भइरहेको दावी गरिन् । उनले चुनाव अहिलेको राष्ट्रिय मुद्धा भएकोले पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल हुनु सामान्य कुरा भएको बताइन् । 

माओवादी केन्द्रसँग अनौपचारिक छलफल

हाल पार्टीको छलफलमा व्यस्त रहेकोे विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच अनौपचारिक छलफल भएको छ । चुनावमा जाने विषयका साथै सँगै अघि बढ्न सकिने सम्भावनाका बारेमा छलफल भइरहेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए ।

उनले विप्लव नेतृत्वको दल छलफलमा रहेको र चुनावमा सँगै जानेबारे निर्णय भने भई नसकेको बताए । उनले भने, ‘चुनावमा सँगै जाने तथा एउटै पार्टीको रुपमा जाने बारेमा पनि अनौपचारिक छलफल भइरहेको छ । तर कार्यदल बनाएर औपचारिक रुपमा छलफलको काम भने अघि बढेको छैन । उहाँहरुको पार्टीको अहिले बैठक बसिरहेको छ । त्यहाँबाट कस्तो निर्णय आउँछ, आगामी सम्बन्ध कसरी अगाडि बढ्ने हो, त्यसमै निर्भर गर्छ ।’

गत मंसिर ४ गते नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरुले माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । यस्तै फागुनको दोश्रो साता यी नेताहरुले विभिन्न दलका नेताहरूसँगको भेटघाटलाई तीब्र पारेका थिए । खास गरी संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि उनीहरुले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता भीम रावल, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा माओवादी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए । 

यी हुन् विप्लव नेतृत्वको नेकपालाई चुनावमा जाने विकल्प

विप्लव नेतृत्वको नेकपा चुनावमा जाने हो भने पनि निर्वाचन कार्यतालिका अनुसार ढिला भइसकेको छ । निर्वाचन आयोगले चुनावमा भाग लिने दल दर्ता गरिसकेको छ भने फेरि दल दर्ताका लागि म्याद पनि सकिएको छ । यतिबेला आयोग मतदाता नामावलीमाथिको दावी विरोध छानविन गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा रहेको छ । साथै आयोगले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । अहिलेको अवस्थामा विप्लव नेतृत्वको नेकपालाई चुनावमा भाग लिनका लागि पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने तथा अन्य दललाई सघाउने गरी दुई बाटो उपयुक्त हुन सक्छ ।

पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी

विप्लव नेतृत्वको नेकपा आगामी स्थानीय तहको चुनावमा सहभागी हुनेबारे पार्टीमा छलफल भए पनि निर्वाचन आयोगमा भने यो दल दर्ता छैन । दर्ता नभएको दलले राजनीतिक दलको हैसियतले चुनावमा भाग लिन सहज छैन । तर उनीहरुले स्वतन्त्र उम्मेदवार खडा गरेर चुनावमा भाग लिने विकल्प भने खुला रहेको छ ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनमा भाग लिन फागुन १५ गतेसम्म समय रहेकोले त्यसअघि दर्ता भएका दलले मात्रै चुनावमा भाग लिन सक्ने बताए । सो अवधिमा दर्ता नभएका कुनै दलले चुनावमा भाग लिन चाहेमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा भाग लिन सक्ने उनको भनाइ छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा रोल्पाको थवाङमा काँग्रेससँग तालमेल गरेर अपवादको रुपमा विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दर्ता गराएको थियो । अमित घर्तीले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । यदि सो दलको बैठकले चुनावमा जाने निर्णय गरेमा स्वतन्त्र उम्मेदवारलाई अगाडि सार्ने बाटो खुला रहेको छ ।

अन्य दललाई सघाउने 

अघिल्लो स्थानीय तहको चुनावमा विप्लव नेतृत्वको दलले बहिष्कार मात्र गरेको थिएन, भाँड्ने रणनीतिका साथ आफ्ना गतिविधि अघि बढाएको थियो । तर यतिबेला आगामी चुनावप्रतिको उनीहरुको दृष्टिकोण सार्वजनिक भइसकेको छैन । यदि चुनावमा उम्मेदवार खडा नगरे पनि सो दलसँग आवद्ध रहेका मतदाताले अन्य कुनै दललाई सघाउने अर्को बाटो पनि खुला रहेको छ । यद्यपी विप्लव नेतृत्वको दल स्थानीय तहको चुनावमा सहभागी हुनेबारे भने निश्चित भइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप