शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘शीर ठाडो पारेर स्वदेशमै कर्म गर्नुको मज्जा बेग्लै’

पाहुनाका लागि सजाइएका टेबलमा ढाका टोपी
आइतबार, ०६ चैत २०७८, १५ : १०
आइतबार, ०६ चैत २०७८

पर्यटकीय नगरी पोखरामा होटेल, रेष्टुरेन्टको भीडभाड छ । त्यही भीडभाडका एक उदयीमान युवा व्यवसायी हुन् महेश अर्याल । जो, विगत ७ वर्षदेखि पोखराको फेवा किनारमा व्यवसाय ‘ढाका टोपी एण्ड रेष्ट्रो’ सञ्चालन गर्दै आएका छन् । हिजो सानो लगानीमा सुरु गरेर महेशले आफ्नो व्यवसायलाई हाल करिब अढाई करोडको मूल्याङ्कनमा पुर्याइसकेका छन् ।

‘ढाकाटोपी एण्ड रेष्ट्रो’मा महेश आफै ढाका टोपीमा ठाँटिएर पाहुनाको सत्कार गर्न सधैंजसो तयार भेटिन्छन् । पाहुनाका लागि सजाइएका टेबलमा पनि उनले एउटा टोपी राखिदिने गरेका छन् । महेशलाई लाग्छ कि, नेपालीको पहिचान अनि संस्कारलाई विश्वका जुनसुकै कुनबाट आउने पर्यटकलाई पनि नेपालीको पहिचान बारेमा ज्ञान होस् ।

फेवातालको चिसो सिरेटोको स्पर्शमा साँझमा मज्जासँग लेकसाइडको रात्रीकालिन दृश्यावलोकन गर्न अनि विहानीपख शान्त फेवाताललाई अनूभुत गर्न सकिने ठाउँ हो ‘ढाकाटोपी एण्ड रेष्ट्रो ।’ जसरी विदेशी मुलुकमा समुन्द्रका किनारमा रेष्टुरेन्टहरू खुलेका छन् र व्यवस्थित पनि छन् । त्यही अनुरुप आफूले नेपाली संस्कार र संस्कृतिलाई जोड्दै यहाँ व्यावसाय सुरु गरेको महेशको जिकिर छ ।

महेश थप्छन्, ‘तालको संरक्षण गर्दै, यसको पर्यावरणीय पाटोलाई ध्यानमा राख्दै, फोहोरको व्यवस्थापनमा विशेष ध्यान दिएर व्यावसाय गर्दा हुन्छ भनेर गरिरहेको छु । यो दृिष्टकोणबाट काम गर्ने हो भने त देशभित्रै छन् नि, स्वीजरल्याण्ड र अमेरिका’, उनी आफू जस्तै युवा साथीहरूलाई हौस्याउन चाहन्छन् ।

व्यवसायमा हात हाल्न महेशलाई सहज थिएन तर आँट गरे । सुनाउँछन्, ‘म आफ्नो कथा/व्यथा भन्न डराउँदिन, लजाउँदिन’, रातोपाटीसँगको भेटमा आफ्नो व्यवसायिक जीवन खोस्रिन थाले उनी । ‘२०४६ सालमा कास्कीको भरतपोखरीमा जन्मिएर हुर्किएको हुँ, विद्यालय गाउँमै पढेँ अनि प्लस टू चाँहि पोखरा बजारमा । आमा मगरकी छोरी, बुबा ब्राह्मणको । यसरी मेरो वाल्यकाल मिश्रित संस्कारमा बित्यो । खेल क्षेत्रमा नाम कमाउने र राष्ट्रलाई प्रतिष्ठित मेडल जिताउने सपना देखेर हुर्किएको थिएँ, तर उमेरसँगै हुर्किएको दिमागले नेपाली खेल क्षेत्रमा भविष्य सुनिश्चित देखेन अनि व्यवसायमा मोडिएँ।’

उनका बाल्यकालका साथीसंगी धेरै विदेश गए छन्, कोही लाहुर पनि गए । तर, केहीमा सन्तुष्टि देखेका छैनन् उनले । ‘साथीहरू धेरै विदेश गए तर दुःख पाएर फर्किए । त्यसैले मैले चाँहि ३४/३५ वर्षको उमेरमा यतिको गर्न सकेको छु’, खुसीका साथ महेश थप्छन्, ‘सानो लगानीमा सुरु गरेको व्यापारमा कमाउँदै थप्दै गरिरहेको छु । केही बैंकमा ऋण छ, कमाउँदै चुक्ता गर्दैछु ।’

नेपालमै पहिलो पटक विदेशका विभिन्न होटेल तथा रेष्ट्रोहरूमा प्रचलनमा रहेको ‘स्विङ’/पिङलाई व्यावसायसँग जोडेका छन् महेशले । ‘विशेष गरेर रेष्टुरेन्ट तथा होटेलमा ठूल्ठूला पिङ लगाउने सुरुवात मैले नै गरेको हुँ । आज नेपालका विभिन्न भागमा यसको कपि गरिएको छ ।’ महेश दावीका साथ भन्छन्,‘विदेशमा पिङलाई व्यवस्थित रुपमा सञ्चालन गरिएको पाइन्छ । त्यो कन्सेप्टलाई नेपालमा देखिने दृष्य, डाँडाकाँडा अनि भीरहरूमा प्रयोग गर्न मिल्ने गरी नयाँ कन्सेप्टका रुपमा पिङको सुरुवात गरेको हुँ । आज धेरै ठाउँमा यसलाई व्यावसायिक रुपमा प्रयोग गरेको देख्दा खुसी लाग्छ ।’

लेकसाइडमा मात्र नभएर उनले पछिल्लो समय पोखरा महानगरपालिका–३३ मा ‘ढाका टोपी एण्ड रेष्ट्रो’को अर्को ब्रान्च पनि खोलेका छन्, जहाँबाट पोखरा बजार र अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरीदेखि लमजुङ हिमालसम्म एउटै कोठाबाट अवलोकन गर्न सकिन्छ ।

कोरोना कहरले उनके व्यावसाय चौपट भयो । २०/२२ जना कर्मचारीलाई तलव व्यवस्थापनमै उनलाई हम्मे हम्मे पर्यो । सुनाउँछन्, ‘कर्मचारी साथीहरूको व्यवस्थापन गरेर कानूनको पालना गर्दै कष्टका साथ कोभिडको समय कटाएँ, अहिले कर्मचारी घटाएर आफै खटिरहेको छु ।’ 

‘रेष्ट्रोलाई कति समय दिन सक्छु पूरै दिन्छु । आफू खटेपछि बाँकी १४/१५ जना कर्मचारीलाई पनि उर्जा मिल्ने रहेछ, त्यसमा म चनाखो पनि छु,’ महेश मुस्कुराउँदै भन्छन्,‘काम गर्न लजाउनु हुन्न, म के शुक्रबार, के शनिबार ढाकाटोपीमा ठाँटिएर भाँडा माझिरहेकै हुन्छु,’ उनी आफ्नै देशमा पौरख गर्न हरेक युवालाई यसरी नै हौस्याइ रहन्छन् ।

लामो अनुभव बोकेका महेशलाई लाग्छ, होटेल तथा रेष्ट्रो व्यावसायमा मुख्य चुनौती भनेको पाहुनालाई पस्कनुपर्ने नयाँ र मीठो स्वाद, छिटो छरितो सेवा अनि परिस्कृत प्रविधि र संरचना हो । यसलाई सन्तुलनमा राख्न सके पाहुनाको मन जित्न सकिने महेशको बुझाई छ । भन्छन्,‘होटेल तथा रेष्टुरेन्ट व्यावसायमा ठूूलो प्रतिस्पर्धा छ । अझ नेपालीहरू धेरै नै सौखिन हुनाले जहाँ पनि पैसा नै तिरेर खाने हो भन्ने भावका कारण नयाँ नयाँ विशेषताका गन्तव्य उहाँहरूको रोजाइ हुन्छ । त्यसैले मैले पनि आफ्नो रेष्ट्रोलाई ६/६ महिनामा परिस्कृत गर्ने गरेको छु । कलर अनि डेकोरेसनमा विशेष ध्यान दिने गरेको छु ।’

व्यावसायसँगै महेश अन्य स्थानीय सामाजिक संस्थामा पनि आवद्ध छन् । तर, देशको अर्थ व्यवस्थामा सानो अंश भएपनि साथ र सपोर्टका लागि व्यावसायिक पाटो महत्वपूर्ण ठान्छन् उनी । पर्यटन प्रवर्द्धनमा होटेल व्यावसायको महत्वपूर्ण हिस्सा हुने हुनाले हरेक नागरिक कहिँ न कहिँ उद्यमशील हुनुपर्नेमा उनको विशेष आग्रह छ । भन्छन्, ‘शीर ठाडो पारेर स्वदेशमै कर्म गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप