बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

आइतबार, ०६ चैत २०७८, १२ : ५२
आइतबार, ०६ चैत २०७८

संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को २ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा ४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । 

बैतडीको दशरथ चन्द नगरपालिका–१० भाटलामा सु प प्र ०१– ०० २ त ५५९८ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना हुँदा चालक अर्जुन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

पर्साको ठोरी गाउँपालिका–३ मा प्रदेश २–०३–००१ ह ६२८ नम्बरको अटो दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीय वीर बहादुर बिश्वकर्मा रहेका छन् । उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका–५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडामा से २ प ९६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक हस्ते चौधरीको मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप