मधेसमा प्रभाव बढाउँदै ओली, उपेन्द्र–महन्थहरुले बनाइदिए ‘स्पेस’
दोस्रो ‘मधेस आन्दोलन’का क्रममा ‘मधेस विरोधी’ भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी केही दिनअघि नेकपा एमालेमा प्रवेश गर्नुले पनि मधेसमा एमालेको प्रभाव बढेको आँकलन गर्न सकिन्छ ।
त्यसो त, निर्वाचन नजिकिएका कारण विभिन्न दलका नेता–कार्यकर्तालाई आफ्नो दलमा भित्र्याउन होडबाजी चल्नु सामान्य विषय हो । तर, मधेसवादी पृष्ठभूमि बनाएका नेताहरुले कुनैबेला ‘मधेस विरोधी’ भन्ने गरेको दललाई नै रोज्नु अर्थपूर्ण छ ।
एमालेका नेताहरुको मधेस दौडाहा र मधेसवादी पृष्ठभूमि भएका नेताहरु एमालेमा प्रवेश गर्नुलाई कतिपयले मधेस र एमालेबीचको सम्बन्ध सुध्रिएको अर्थमा व्याख्या गर्न थालेका छन् । विगतमा माओवादीका कारण मधेसमा आन्दोलन चर्केको थियो । केही समय माओवादीको विरोधमै मधेसको आन्दोलन अगाडि बढ्यो । पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस आन्दोलनका बारेमा नकारात्मक टीकाटिप्पणी गरेपछि मधेस आन्दोलन ओलीविरुद्ध केन्द्रित भयो । सोही क्रममा आन्दोलनकारीले मधेसमा एमालेलाई निषेध गरे । एमालेले सप्तरीको मलेठमा कार्यक्रम गर्दा भएको झडपमा पाँचजना युवाको ज्यान गएको थियो ।
संविधान जारी भएपछि मधेस र एमालेको सम्बन्ध दिनदिनै बिग्रिँदै गइरहेको थियो । यो क्रम २०७४÷०७५ सम्म चल्यो । त्यतिबेलै पनि एमालेले मधेसमा आफ्नो स्पेस बनाउन नखोजेको होइन तर सफल हुन सकिरहेको थिएन ।
मधेस मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोर भने मधेस र एमालेबीचको सम्बन्ध नसुध्रिएको बताउँछन् । तर, एमाले मधेसमा आफ्नो स्पेस बनाउन सफल भने भइरहेको उनको भनाइ छ । ‘मधेस आन्दोलन भावनात्मकरुपमा भएको थियो, त्यसमा हरेक दलबाट मान्छे जोडिएका थिए, त्यहाँबाट अधिकार, पहिचान र संरक्षण पाइन्छ भन्ने सबैको आकांक्षा थियो,’ उनले भने, ‘तर जनताको त्यो इच्छा पूरा भएन । न अधिकार पाए, न पहिचान । न त संरक्षण नै पाए ।’
अधिकार र पहिचानका लागि लडाइँ अझै जारी रहेकै अवस्थामा मधेसवादी दलमा रहेका व्यक्तिहरु संरक्षक खोज्दै अन्य ठूला दलतिर आकर्षित हुन थालेको चन्द्रकिशोरको बुझाइ छ । उनलेख रातोपाटीसँग भने, ‘काँग्रेस हाउसफुल छ, मधेसमा एमाले खाली भएका कारण संरक्षण खोज्दै नेताहरु सो पार्टीमा प्रवेश गर्न थालेका छन् ।’
राज्यको स्रोत र शक्तिको केन्द्रमा काँग्रेस र एमालेको मात्र पहुँच रहेको चन्द्रकिशोरले बताए । ‘राज्यशक्तिको पहुँचमा माओवादी केन्द्र धेरै पछाडि छ । मधेस केन्द्रित दलको सानो अंश पनि छैन,’ उनले भने, ‘नेपालको सेना, प्रहरी, कर्मचारी, अख्तियारलगायत हरेक क्षेत्रमा एमालेको पकड छ । त्यहाँबाट संरक्षण दिन थालेपछि मधेसवादी दल तथा माओवादी केन्द्रमा रहेका नेताहरु एमालेतिर आकर्षित भएका हुन् ।’
उपेन्द्र यादव र महन्थले दिए स्पेस
जब उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले ओली नेतृत्वको सरकारलाई समर्थन गरे, अनि विस्तारै ओलीप्रति मधेसको आक्रोश कम हुँदै गयो ।
उपेन्द्र यादव नेतृत्वको पार्टी ओली नेतृत्वको सरकारमा सहभागी नै भएको थियो भने महन्थ ठाकुर नेतृत्वको राजपाले बाहिरबाट समर्थन गरेको थियो । मधेसको माग पूरा नगरेको भन्दै राजपाले एउटा कालखण्डपछि समर्थन फिर्ता लिएको थियो । उता उपेन्द्र यादवले सरकारलाई निरन्तरता दिइरहे । उपेन्द्र र महन्थले विस्तारै ओलीलाई मधेसमा स्पेस दिन थाले ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमणमा आए । त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुरधाम जनकपुर गए । त्यसपछि मधेसमा ओलीको आउजाउ बढ्न थाल्यो ।
सीके राउतको साथ
मधेसमा आफ्नो पकड बनाएको तत्कालीन फोरम र राजपालाई आफ्नो काबुमा लिइसकेपछि ओलीले मधेसमा अलग राज्यका लागि आन्दोलन गरिरहेको सीके राउतलाई आफ्नो काबुमा लिने प्रयास गरे । त्यसमा उनी सफल पनि भए ।
ओलीले तामझामका साथ सीके राउतसँग ११ बुँदे सम्झौता गरेर उनलाई मुलधारको राजनीतिमा ल्याए । त्यसपछि त सीके राउत पनि ओलीका ‘फ्यान’ भए ।
मधेसमा ओली अर्थात् एमालेको विरुद्धमा बोल्ने कोही भएन । टाउकोमा कालोपट्टी बाँधेर ओलीको पुतला जलाएर विरोध गरेका जनकपुरका सरोज मिश्रलगायत थुप्रै युवा एमालेमै प्रवेश गरे । अब स्वतन्त्र संघ संगठनबाट पनि ओलीको विरोध गर्ने मधेसमा कोही भएनन् ।
हृदयेश त्रिपाठीको साथ
पश्चिम मधेसमा प्रभाव बनाएका हृदयेश त्रिपाठी एमालेको चुनाव चिह्न लिएर नवलपरासीबाट प्रतिनिधिसभामा विजयी भए । उनको समूहका अन्य केही नेताले पनि सूर्य चुनाव चिह्नबाटै जित हासिल गरे । यसले पनि एमालेको प्रभाव बढाउन सहयोग पुर्यायो ।
आफू प्रधानमन्त्री भएको बेला ओलीले त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाएका थिए । त्रिपाठीसँग ओलीको सम्बन्धका कारण पश्चिम मधेसमा पनि ओलीको विरोध मत्थर भएको थियो । मधेसमा ज–जसले आफ्नो र एमालेको विरोध गर्थे, ओलीले सबैलाई आफ्नो पकडमा लिए । यहाँसम्म कि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गर्दा सोही पार्टीको एउटा पक्षले ओलीलाई साथ दिइरहेको थियो ।
उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि ओलीले महन्थ ठाकुरहरुलाई आफ्नो प्रभावमा लिइसकेका थिए । मधेसको सबै माग पूरा गर्दिने प्रतिबद्धताका साथ ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोहरुलाई यसरी प्रभावमा लिए कि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नै विभाजित भयो । महन्थ ठाकुरहरु अहिले पनि ओलीलाई साथ दिइरहेका छन् । अहिले पनि ओलीलाई महन्थ ठाकुर, सीके राउत, हृदयेश त्रिपाठी लगायतको साथ छ । जसले गर्दा आगामी चुनावमा उनीहरुका बीचमा गठबन्धन बन्ने सम्भावना प्रबल छ ।
राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ‘मधेसी जनता ओलीको साथमा जानुभन्दा पहिले उपेन्द्र यादव र महन्थ ठाकुरहरु निवेदन दिएर ओली नेतृत्वको सरकारमा गइसक्नु भएको हो । अहिले तिनै जनता आफ्नो नेता नै ओलीको साथमा जाँदा केही नबिग्रिने, हामी जाँदा के हुन्छ ? भन्दै धमाधम एमालेमा प्रवेश गरिरहेका छन् ।’
लोसपाका नेता शिव पटेलले एमालेमा प्रवेश गर्दा भनेका थिए, ‘हाम्रा नेताहरु ओलीलाई नेता मानेर उहाँको नेतृत्वमा सरकार जानु हुन्छ अनि हामी जहिले पनि ती नेताहरुको कार्यकर्ता भएर बस्नुपर्ने !’
मधेस आन्दोलनको क्रममा एकातिर ओली र अर्कोतिर मधेसी दल थिए । ओलीको विरोधमा त्यतिबेला लागेको नाराले दुवै पक्षलाई फाइदा भयो । ओलीले मधेसीलाई गाली गरेर पहाडी राष्ट्रवादको संरक्षण गर्दै त्यताको विश्वास हासिल गरे भने उता मधेसी नेताहरु ओलीलाई गाली गरेर मधेसमा बलियो भए ।
एक अर्कालाई गाली गरेर दुवै बलियो भएको विश्लेषक साहको बुझाइ छ । अहिले एमालेमा ठाउँ खाली रहेको र ती ठाउँमा मधेसीहरु जान चाहेको उनले बताए । आगामी बैशाखमा हुने स्थानीय चुनावमा प्रदेश २ मा एमालेले कस्तो परिणाम ल्याउला भन्ने विषयले आगामी संघ र प्रदेशको परिणाम आँकलन गर्न सजिलो हुनेछ ।
मधेस प्रदेशमा ३२ वटा संघीय निर्वाचन क्षेत्रहरु छन् भने ६४ वटा प्रदेश सांसदका सीट छन् । यस प्रदेशमा १३७ वटा स्थानीय तह छन् । यहाँ एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका छन् । यीमध्ये वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा मधेसवादी दलले जितेको थियो भने कलैया उपमहानगरपालिकामा काँग्रेसले र जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले जितेको थियो ।