'चिनियाँ विदेशमन्त्रीलाई स्वागत गर्न तयार छौँ'
नेकपा (एमाले) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ । नेपालले सबै देशसँग आफ्नो मूल्यअनुसार सम्बन्ध राख्नुपर्छ, हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौँ । अब सम्झौता कार्यान्वयनको बारेमा हामीले बढी ध्यान दिनुपर्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल र चीनबीच उच्चस्तरको भ्रमण हुनु सकारात्मक भएको उल्लेख गरे । उनले भने,‘चिनियाँ विदेशमन्त्रीको औपचारिक भ्रमणको घोषणा भएको छैन । नेपाल र चीनबीचको सम्बन्ध पुरानो छ । हामी सहकार्यको युगमा छौँ । चीनसँग १९६२ मा सीमा सम्झौतामा हस्ताक्षर भएता कुनै पनि समस्या छैन । समस्यारहित सम्बन्धको रूपमा हेर्न चाहन्छौँ । चीनको विकासबाट नेपालले पनि लाभ पाउनुपर्छ । नेपाल र चीनबीच यो बीचमा उच्चस्तरको भ्रमण भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीस्तरमा भ्रमण आदानप्रदान भएका छन् । पछिल्लो समय कोभिडको कारण उच्चस्तरको भ्रमण भएको थिएन ।’
रिजालले अहिले हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्ने कुरामा एमाले विश्वस्त रहेको सुनाए । उनले वर्तमान सरकारले विदेश सम्बन्ध सञ्चालनमा असफलता प्रकट गरिरहेको आरोप लगाए । उनले भने,‘यो सरकारले विदेश सम्बन्धलाई खेलाँचीको रूपमा लिएको छ । चीन अहिले राजदूतविहीन छ । वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई कति महत्त्व दिएको छ ? भन्ने कुरा यहीँबाट थाहा हुन्छ । हामी त भारत र चीनबाट लाभ लिने कुरा गरिरहेका छौँ । भारतमा हामीले राजदूत नियुक्त गर्यौँ । तर चीनमा राजदूत अहिलेसम्म नियुक्त भएका छैनन् । के यही हो त समान व्यवहार ?’
जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले पनि आफूहरू चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । उनले भने,‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्वीकार गर्छौँ । सबै देशसँग समान व्यवहार गर्छौँ । भारत र चीनसँग विशेष सम्बन्ध रहनुपर्छ । भारत र चीन भनेको त हाम्रो नजिकका छिमेकी हुन्, हामीलाई कुनै आपत् र विपद् पर्यो भने उहाँहरू नै नजिक हुनुहुन्छ, विश्वमै एउटा उदयमान शक्ति चीनका विदेशमन्त्रीको नेपाल भ्रमण हुँदैछ, जसपाले उहाँको आगमनलाई विशेष रूपमा लिएको छ।’
भारतजस्तै चीन पनि नेपालको लागि विशेष मुलुक भएको सुमनले उल्लेख गरे । उनले भने,‘तर, उहाँहरूको नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप नहोस् । चिनियाँ राजदूतले सक्रिय भूमिका खेलेको कुरा अहिले उठेको छ, उहाँले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने कुरा बाहिर आएको थियो, अहिले प्रचण्डले पनि कहीँ कहीँ बोल्न थाल्नुभएको छ, चीनको विदेशमन्त्रीको भ्रमणलाई ईंगित गर्दै यस्तो कुरा बोलिएको छ। दलगत रूपमा चीनसँग विशेष सम्बन्ध हुन्छ। विशेष सम्बन्ध हुँदैमा कुनै पनि देशको आन्तरिक राजनीतिमा हस्तक्षेप हुनुहुँदैन । नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी हुनुपर्छ भन्ने राजदूत कान्छीको भनाई आएको थियो । यो आपत्तिजनक कुरा हो । उनी त चीनको राजदूत हो नि ।’
पूर्व राजदूत डा. सुरेश चालिसेले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास दिलाए । उनले भने,‘सैद्धान्तिक रूपमा के हो भने कुनै पनि देशको उच्चस्तरको भ्रमण भयो भने सम्बन्ध राम्रो हुन्छ। एमसीसी अस्ति पारित भयो, त्यसमा चीनले पनि आफ्नो टीकाटिप्पणी गरेको थियो । चीनको टीकाटिप्पणीको साथ साथ अमेरिकाले पनि आफ्नो प्रतिक्रिया जनाएको थियो । अहिले चीनको विदेश मन्त्रीले नेपालमा चाँडै भ्रमण गर्न लाग्नुभएको छ। मलाई लाग्छ, उहाँको नेपाल भ्रमण यही मार्च २६, २७ तिर होला । उता, अप्रिलको पहिलो हप्तामा अमेरिकाका २५ जना कंग्रेसम्यानहरु नेपाल भ्रमणमा आउँदै छन् । ठुला–ठुला देशका उच्चस्तरीय भ्रमण हुनु राम्रो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान