थियटर मलमा ‘शिरीषको फूल’को मग्मगाउँदो बास्ना
यतिबेला काठमाडौंमा ज्याकारन्डा अर्थात् आरु जातका फूलहरू ढकमक्क फुलेर सहरको वातावरण नै मनमोहक देखिएको छ । कीर्तिपुरस्थित राराहिल स्कूल परिसरको थियटर मलमा भने ‘शिरीषको फूल’ फुलिरहेको छ । पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’लाई युवा नाट्यकर्मीहरुको समूह चौथो आयामले नाट्य रुपान्तरण गरेको छ । केदार श्रेष्ठको परिकल्पना अनि अञ्जान प्रदीपको निर्देशनमा ‘शिरीषको फूल’ मञ्चन भैरहेको छ, २७ फागुनदेखि ।
पहिले ‘शिरीषको फूल’ मञ्चन हुनु अघिको कथा खोतल्नु बेस होला । थिएटर मलका संस्थापक केदार श्रेष्ठका अनुसार कोरोना कहर कम हुँदै गएपछि थिएटर मल पनि रिभाइभ हुन खोजिरहेको थियो । मण्डला ड्रामा स्कुलले दर्जन बढी प्रशिक्षार्थीलाई वर्ष दिनसम्म त्यहाँ बसेर एउटा सीप सिक्ने अवसर दिएको थियो । त्यहाँबाट पास आउट भएर प्रोडक्सन नाटक गरिसकेपछि केही गर्न खोजिरहेको थियो त्यो प्रशिक्षार्थी समूह । त्यही प्रशिक्षार्थी समूहले चौथो आयाम बनाई ‘शिरीषको फूल’ उपन्यासलाई नाटकमा ढाल्यो ।
नाटककार श्रेष्ठ अगाडि भन्छन्, ‘थिएटर मल चाहिँ पहिलेदेखि योङ जेनेरेसनहरुसँग बढी काम गर्न रुचाउने अनि नयाँ नयाँ डाइरेक्टर, एक्टरहरु पनि उत्पादन गर्ने थलो हो । पहिला अन्त कतै काम नहुँदा कतै पनि हल नपाउँदा थिएटर मलले हल प्रोभाइड गर्थ्यो । सायद त्यसको पनि प्रभाव थियो होला चौथो आयामलाई ।’ चौथो आयाम टिम थिएटर मल आएको लगभग तीन महिना भयो । करिब अढाइ महिनाको एउटा प्रतिफल स्वरुप अहिले शिरीषको फूल नियमित मन्चनमा छ । एक महिना त यसले रिहर्सलमै बितायो ।
निर्देशक अन्जान प्रदीप भन्छन्, एउटा सामाजिक उत्तरदायित्व हुन्छ कलाकारमा । त्यसैले, हरेक सामाजिक मुद्दामा सचेत रहनुपर्छ । हामीले टियुको लाइबे्ररीमा गएर पुराना किताबहरु खोजेर मन्थन गरयौँ । इन्द्रबहादुर राईको कठपुतलीको मनदेखि अरु कृति पनि पढिहेर्यौँ । त्यसपछि शिरीषको फूलसम्म आइपुग्यौँ । खासमा हामीले भन्न खोजेको कुरा त यो पो रहेछ भन्ने लाग्यो । हामीले यसमा काम गर्न सक्छौँ भन्ने आत्मविश्वास आयो । रुपान्तरणमा, ट्रिटमेन्टमा लामो समय बस्यौँ ।
साहित्यिक कृतिमाथि ‘रिस्क’
चौथो आयाम टिमले धेरै साहित्यिक कृति पढ्यो । अन्ततः तत्कालका लागि शिरीषको फूल नै उपयुक्त हुन्छ भन्ने किन पनि लाग्यो भने चौथो आयामकोे टिम सानो थियो । शिरीषको फूलमा पनि थोरै क्यारक्टर छन् ।
मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’का निर्देशक अन्जान प्रदीप भन्छन्, नेपाली साहित्य रुचाउने धेरैले शिरीषको फूल पढेको होला भन्ने मलाई लाग्छ । रंगमञ्च भनेको साहित्यकै अंग हो । नेपाली रंगमञ्चले विकासक्रम पार गर्दै आउँदा शिरीषको फूलमाथि किन अटेम्पट गरिएन त भन्ने हाम्रो प्रश्न पनि थियो । त्यसले पनि सायद हामीलाई उर्जा दियो, यही गरौँ न त भनेर । अनि अर्को चाहिँ अब नारीवादका मुद्दा, समसामयिक कुरा पनि आए । हामी मुद्दाहरुमा काम गर्दा बढी नारामा केन्द्रित गर्छौँ तर साहित्यले नारा भन्दा पनि विम्बमार्फत् बोलोस् भन्ने हाम्रो चाहना हो ।
नाटककार श्रेष्ठ पनि निर्देशक प्रदीपकै कुरामा सही थाप्दै भन्छन्, यस उपन्यासले अहिलेको वर्तमान समयलाई पनि सम्बोधन गर्छ । यसमा नारी स्वतन्त्रता, अधिकारका कुरा छ । हिंसा भनेर डाइरेक्ट फिजिकल्ली यसमा नदेखिएला । तर मेन्टल्ली यसमा धेरै कुरा छन् । दोस्रो विश्वयुद्घ लडेर आएको एउटा पुरुषको कुण्ठा र काठमाडौंको एउटा परिवारमा बसेर अलि फरक तरिकाले सोच्ने एउटा महिलाको त्यो बीचको अन्र्तद्वन्द्व पनि यहाँ छ । ५० वर्ष अगाडि नै त्यसरी सोच्ने सकमबरी जस्तो पात्रहरु पनि त रैछन, थिए । अहिलेको समयमा पनि यो जरुरी छ भन्ने लागेर अनि हामीले यो गरेका हौँ । तर चर्चित कृतिमाथि नाटक गर्नु रिस्क चाहिँ छँदै थियो । नढाँटी भन्दा चर्चित भएर नै यो नाटकका लागि छानिएको हो ।
नाटकको परिकल्पनाकार रहेका केदार श्रेष्ठका अनुसार लेखनमा पाँचजना सदस्य रहेको चौथो आयाम टिमले स्क्रिप्ट लेखिसकेपछि त्यसलाई कसरी दृष्यमा उतार्ने, सिनहरुलाई कसरी देखाउनेबारे धेरै माथापच्ची भयो । किनकि यसको फिल्म समेत बनिसकेको छ । अनेक प्रश्नहरु पनि आउलान् भन्ने डर थियो । तर अहिले नाटक मञ्चन भइसकेपछि टिमलाई यसमा अर्को फिल्म पनि गर्न सक्ने आशा पलाएको छ । जुनुको जुत्ता छोटो फिल्म बनाइसकेका श्रेष्ठ भन्छन्, ‘फन्डिङका कुराहरु मिल्यो भने हामी कोलाबोरेटिभ वेबाट नोमिनल कस्टमा शिरीषको फूल राम्रो फिल्म बनाउन सक्छौं ।’
दर्शकले खुशी
होलीको दिन बिहीवार बिहान रातोपाटी प्रतिनिधिसँग कुराकानी भइरहेको थियो । होलीको उमंगमा दर्शक नआउलान् कि शिरीषको फूल टिमलाई चिन्ता थियो । उता परिकल्पनाकार केदार श्रेष्ठको मोवाइलमा घरी घरी फोन आएर टिकट बुकिङका लागि आग्रह भइरहेको थियो, यसले कुराकानी पनि केही बिथोलिरहेको थियो । श्रेष्ठले भने, एउटा खुसीको कुरा के भने अहिले जति दर्शकहरु आउनु भाछ, त्यसको ९० प्रतिशत दर्शक कीर्तिपुर बाहिरबाटै आइराख्नु भाछ । सुरुमै हामीले स्लोगन बनायौँ, कीर्तिपुरमै नाटक घर भनेर १–२ वर्ष अभियान चलाकाथ्यौँ । हामी कीर्तिपुर आउने बित्तिकै एउट लोकल लिङ्क कसरी जाने भन्ने कुराथ्यो । त्रिभुवन विश्वविद्यालय नै एउटा प्रमुख आधार हुन सक्छ भन्ने लागेको थियो । तर पहिला जस्तो सजिलो छैन अहिले विश्वविद्यालयमा । पहिला गुरुकुलको समयमा विश्वविद्यालयको विद्यार्थीले मात्र पनि नाटक चल्थ्यो । अहिले विश्वविद्यालयको विद्यार्थीहरुबाट नाटक ६ दिन चल्न गाह्रो छ । सेमेस्टरका कारण कीर्तिपुर विश्वविद्यालयमा विद्यार्थीहरु छैनन् ।
उता निर्देशक प्रदीप शिरीषको फूल नाटक हेर्न आउन आग्रह गर्दै भन्छन्, पुस्तक पढिसकेका पाठकहरु आइरख्नु भएको छ हाम्रो आँकलनमा । पढेकाहरुले नाट्य रुपान्तरणमा हेर्दा खेरि चाहिँ दृश्यको मिडियममा फरक के छ भन्ने होला । नाटकको रुपमा आएपछि यो नयाँ पिसमा आइसक्यो नि त । विधाकै रुपमा फरक भएकाले हेर्नका लागि उत्सुक हुने रहेछन् । पुस्तक नपढेको दर्शक आउनु भयो भने चाहिँ हाम्रो सफलता त्यो हुनेछ, कमसेकम नेपाली साहित्यको एउटा मानक कृति पढ्न पनि प्रेरित हुनेछन् ।
त्यस्तै, श्रेष्ठ भन्छन्, शिरीषको फूल नपढेकाले हेर्नुपर्छ । पढेकालाई झन हेर्न भन्छु । किनकि उनीहरुको दिमागमा भिजुवल आको हुन्छ पढ्दा खेरि । भिजुवलसँग कत्तिको मिल्यो ? सरर पढ्दाखेरि नै लगभग साढे दुई घण्टा लाग्ने उपन्यास हो यो । यसलाई हामीले नाटक मार्फत् एक घण्टा २० मिनेटको बनाएका छौँ । शब्दले भन्ने कुराहरु दृश्यले कसरी देखाउँदो रैछ त । हामीले आफैले सेल्फ एनेलाइसिस गर्दा खेरि उपन्यासमा भनेका कुराहरु छुटेका छैनन् । अझ त्यसलाई एग्जाजिरेट गरेर एक्सपान्ड गरेर आको छन् कति कुराहरु त । दृश्यको भाषा शक्तिशाली हुन्छ । हजार शब्दहरु एउटा तस्बिरले भन्या जस्तै ।
केदारको विचारमा शिरीषको फूलले धेरै विम्ब र प्रतीक खेलेको उपन्यास हो । सामान्य मान्छेले पनि बुझ्ने विम्बहरु छन्, जसरी सुनगाभा र शिरीषको फूलको प्रसंगमा । चुरोटका कुराहरु, सम्वाद, पात्रहरु होल पिस नै विम्बात्मक छ । उनी भन्छन्, ‘नाटकमा पनि हामीले विम्बहरु खेलिराको हुन्छौँ बेला बेलामा । यो नाटकमा अझ बढी खेलेका छौ । सुयोगवीरले सकमवरीलाई चुम्वन गर्दा फुलदानी झर्छ । त्यो प्रसंग उपन्यासमा छैन ।’
शिरीषको फूलमा खै सार्थक बहस ?
शिरीषको फूल कृतिबारे खासै सार्थक बहस भएको छैन । यसबारे नाटक मन्चन भएपछि मिडियामा पनि कलाकारहरुको भूमिकाबारे नै बढी समीक्षा केन्द्रीत रहेको छ । निर्देशक प्रदीप भन्छन्, उपन्यासमा अप्रभाषित पात्रलाई हामीले नाटकमा स्पेस दिन प्रयत्न गरेका छौँ । तीन बहिनीको सम्बन्धदेखि लिएर सुयोगवीरले युद्घमा हिंसा गरेको माहिलाहरुको फ्लायसब्याकबाट देखाएका छौँ । उनीहरु भोगिएका मात्र छन्, नाटकमा कमसेकम उनीहरुलाई हामीले प्रश्न दिएका छौँ । उपन्यास पढेपछि हरेकको एउटा भिजन हुन्छ । हामीले पनि एउटा भिजन लिएर काम गरिरहेका छौँ । त्यो भिजन मिट भयो भएन, त्यहीबाट हुन्छ सामूहिक बहसको सुरुवात । हामी त्यही बहस चाहन्छौँ ।
परिकल्पनाकार केदार भन्छन्, पारिजातको उपन्यास शिरीषको फूल जति शक्तिशाली छ, त्यस्तै शक्तिशाली उपन्यासको भूमिका हो शंकर लामिछानेको । शंकर लामिछानेले जे चाहेका थिए, त्यही भयो वास्तवमा । उहाँले के किटान गर्नुभाथ्यो भने निलिजम (शून्यवाद) । तर नेपाली साहित्यमा यसबारे बहस नै भएन । मार्क्सवादीहरुले शंकर लामिछानेको भूमिकामा प्रश्न गर्नु पथ्र्यो नि त । मार्क्सवादले प्रश्न गर भन्छ । खै प्रश्न गरेको ? उपन्यास पढ्नुभन्दा अगाडि भूमिका पढेर धेरै पाठक पनि निलिजम तिर गए ।
केदारका विचारमा आजभन्दा ५० वर्ष अगाडि सकम्बरी जस्तो पात्र समाजले पाउनु अथवा नेपाली साहित्यले पाउनु भनेको त त्यो विद्रोह हो । लक्ष्मी मालीले सकम्बरी भनेको विद्रोही पात्र हो भनेकी छन् । योगमायाले सयौं महिलालाई लिएर आत्मदहन गर्दा विद्रोह हुने । अनि सकमबरीले एक चुम्वनको पीडाले आफ्नो शरीरलाई अन्त्य गराउनु विद्रोह नहुने ? सकमबरीको पाटोबाट मात्र हेर्दा विद्रोह नहोला तर पारिजातले ओभरल संसारैभरि लिएर आइन्, एउटा पात्रलाई त । नलेखेको भए विद्रोह नहुन सक्थ्यो । यदि एउटा सकमबरी जस्तो पात्र समाजमा थियो भने ऊ त्यसरी नै अन्त्य भाथ्यो भनेर कसैले थाहा नपाएको भए त्यो विद्रोह, बलिदान नहुन सक्थ्यो । तर पारिजातले करोडौँ मान्छेको लागि ल्याइदिनु भो विद्रोह । अथवा मृत्युका फरक आयाम हुन सक्छन्, यो पनि मृत्युको अर्को नयाँ आयाम हुन सक्छ । हामी चाहिँ यसरी बहस गरिरहेका छौँ । शून्यवादको हिसाबबाट मात्र नहेरिदिनुस् । अरु हिसाबले पनि हेर्नुस् । त्यो चाहिँ हामीले आग्रह नै गरेका छौँ । माक्र्सवादप्रतिको अलिकति झुकावले प्रश्न गर्ने आको भएर हामीले गरिरहेका छौँ । तर हाम्रा सिनियरहरुले किन गरिरहेका छैनन् ? विद्रोह भनेको सिधै हँसिया हँठौडा बोकेर उठ्नु पर्छ र सधैँभरि ?
प्रदीपका विचारमा विचारधारा दर्शनभन्दा पनि सकम्बरीलाई उसको बाहिरी आवरण, आनीबानीले मात्रै सेलिब्रेटी पात्र बनाएको पाइयो । उसले बोलेको संवाद, सुयोगवीरलाई हेर्ने दृष्टिकोण, उसले बोकेको दर्शन र विचारमाथि अझै मन्थन हुन बाँकी नै छ । हामीले नाटकमा सकम्बरीको दार्शनिक पाटोमा पाँचौ, सातौँ, नवौँ दृश्यहरुमा बढी काम गरेका छौँ ।
उता केदार अगाडि भन्छन्, अहिलको सन्दर्भमा चाहिँ सकमवरीले चुरोट खान्छे, कस्तो खतरा केटी, यो तरिकाले ब्याख्या भइरहेको छ । जसरी पुरातन महिलालाई हेर्ने तरिका उसको अनुहार, ओठ, आँखा, कपाल, पिँडुला, पिँठ्यु, स्तन, जिउडाल हेरेर बयान गर्ने गरिन्छ । हो, त्यसरी न सकम्बरीलाई उसले फरक खालको सारी लाउने, कपाल केटाको जस्तो काट्ने, चुरोट खाने त्यसरी मात्र उसलाई हेर्नु भनेको त्यही पुरातन तरिकाले जिउडाल हेरेको बराबर नै हो हाम्रो लगि । उसको सोचलाई कसैले हेरेन । हेर्नुपर्ने सोच हो । जस्तै उसले कसैलाई भेदभाव पनि गरेकी छैने । उसको घरमा पनि एउटा समान खालको वातावरण छ । भाषाको हिसाबले तिमी भन्छे दाइलाई समेत । सुयोगवीर घरभन्दा बाहिरको मान्छे भएर मात्र तपार्इं भन्छे ।
‘शिरीषको फूल’ का प्रमुख पात्र सकमबरी र सुयोगवीरको जीवनचर्या धेरैको मनमा अमिट छाप बनेर बसेको छ । अर्थात् ‘शिरीषको फूल’ उपन्यास धेरैले पढेका छन्, नपढेकाहरुले बजारको कुनै पनि पुस्तक पसलबाट किनेर पढ्न सक्छन् । तर अहिले जीवन्त फुलिरहेको ‘शिरीषको फूल’को मगमगाउँदो वास्ना लिन कीर्तिपुरस्थित राराहिल स्कूल परिसरको थियटर मल धाउनै पर्छ । नाटक १२ चैतसम्म मञ्चन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म