शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरसँग लडिरहेकी डिम्पल झा भन्छिन्, ‘मेरो एउटा सपना पुरा हुँदैछ’

शनिबार, ०५ चैत २०७८, १६ : २६
शनिबार, ०५ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मधेस प्रदेशकी प्रदेशसभा सदस्य डा .डिम्पल झाको एउटा सपना चाँडै पूरा हुँदैन । दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी झा आफै पेसाले डाक्टर हुन् । आयुर्वेद चिकित्सकको जागिर छाडेर राजनीतिमा लागेकी झा आफ्नो गृह जिल्लामा गजेन्द्रनारायण सिंह स्मृति अस्पताल बनाउन सफल भएकी छिन् । त्यसको उद्घाटन यही चैत २७ गते हुँदैछ, उनी भन्छिन्, ‘म २७ गतेसम्म बाँच्छु कि बाच्दिनँ थाह छैन तर म र मेरो श्रीमान्ले देखेको एउटा सपना पुरा हुँदैछ ।’

गौर–चन्द्रनिगाहपुर सडकमा अवस्थित १६ बिघा जमिनमा अस्पतालको संरचना तयार भएको छ । तत्कालका लागि १०० बेडको बन्नेछ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानमार्फत स्थापना गरिएको सो अस्पताललाई शिक्षण अस्पताल बनाउने लक्ष्य पनि उनले लिएकी छिन् । ‘अब म मरेपनि केही चिन्ता छैन,’ ४२ वर्षीया झाले भनिन्, ‘अब मरेँ पनि कुनै पश्चाताप छैन ।’ 

लकडाउनका बेला झालाई क्यान्सर पुष्टि भएपछि उनी दिल्लीमा उपचार गराउँदा त्यहाँको डाक्टरले औषधी उपचार अब नगर्न र जति दिन बाँचिन्छ, खुलेर बाँच्न सुझाव दिएको बताइन् । डाक्टरले सो कुरा भनेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

यस्तो अवस्थामा पनि झा कहिले काहिँ आफ्नो कुरा राख्न प्रदेशसभाका साथै आफ्नो जनताको बीचमा गइरहन्छिन् । दोस्रो संविधानसभाका सदस्य समेत रहेकी झा भन्छिन्, ‘मलाई यतिबेला अरु कसैको होइन, जनताकै माया लाग्छ । जनताका लागि केही गर्न सकिनँ जस्तो लाग्छ । अझै केही बाँचे भने जनताका लागि अवश्य केही गर्छु । खास गरी मधेसीको महिलाको अवस्था दयनीय छ ।’ 

रौतहट र त्यस आसपासमा सुविधा सम्पन्न उपचारको व्यवस्था भएको अस्पताल थिएन । त्यहाँका जनता विशेष उपचारका लागि वीरगञ्ज वा जनकपुर नै जानु पर्ने बाध्यता थियो । उपचारका लागि त्यहाँका जनताले निकै कष्ट पाएको आफूले महसुस गरेको कारण रौतहटमा अस्पताल स्थापना गरेको झाले बताइन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप