बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगामी निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल

शनिबार, ०५ चैत २०७८, १५ : ०२
शनिबार, ०५ चैत २०७८

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका हुन् ।

पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरे । ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए ।

नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दावी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए । उनले भने, ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भड्कावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । एउटा सामान्य ऐन उल्लंघन गर्दाखेरी मान्छे जेल जान्छ । तर संविधान नै उल्लंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारण अब उनलाई सजाय दिने बेला आएको छ । अब यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो सजाय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनुपर्छ हेर्नुस् । तब मात्रै वास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ । तपाई, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ । यस्ता खालका अपराधिक काम उनले गरेका छन् ।’

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुनेगरी तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप