बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले यसपटक विधिसम्मत रुपमा उम्मेदवार तय गर्छ : प्रकाशमान सिंह

शनिबार, ०५ चैत २०७८, १४ : २२
शनिबार, ०५ चैत २०७८

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन काँग्रेसको चाहना नभई मुलुकको आवश्यकता भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौ क्षेत्र १० ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले केपी ओलीले जनमतको अपमान गरेर संविधान विपरित चलेपछि वर्तमान गठबन्धन  निर्माण भएको सिंहले बताए ।

स्थानीय चुनावमा गठबन्धन गर्नेबारे कार्यकर्ता सुझावका आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धारणा ल्याउने उनले बताए । केपी ओलीले आफ्नो असक्षमता लुकाउन अनावश्यक हल्ला चलाएकोको भन्दै जनताको घर घरमा पुगेर वास्तविकता बुझाउन उनले कार्यकर्तालाई आग्रह गरे ।

मुलुकमा संकट आउँदा काँग्रेसको काँधमा जिम्मेवारी आउने गरेको भन्दै मुलुकलाई काँग्रेसले कुशलतापूर्वक निकास दिने गरेको सिंहको भनाई छ  जनतालाई भ्रममा राख्ने काम काँग्रेसले नगर्ने भन्दै देश र जनताको हितमा सत्ताको अडान राख्ने गरेको उनले बताए । 

कम्युनिस्टहरु भ्रमको खेती गर्न सिपालु रहेको भन्दै काँग्रेसको अगुवाइमा भएका कामबारे प्रचार–प्रसार गरी पार्टीको पक्षमा मत माग्न सिंहले कार्यकर्तालाई निर्देशन दिए  । सार्वजनिक रुपमा उठेका हरेक सवालमा स्वस्थ सवाल जवाफमा उत्रन कार्यकर्तालाई उनले आग्रह गरे ।

यस्तै उनले विगतका अनुभवबाट पाठ सिकेर यसपटक समयमा नै विधिसम्मत रुपमा उमेदवार तय गरेर अघि बढ्ने भन्दै काँग्रेसका पक्षमा चुनावी माहोल निर्माण गर्न समेत उनले निर्देशन दिए ।  सोही कार्यक्रमा काँग्रेस युवा नेता नैनसिंह महरले आसन्न निर्वाचनमा विजयी प्राप्त गर्न पार्टीभित्र आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए । आन्तरिक एकता विना चुनावमा विजयी हासिल गर्न कठिन हुने उनको भनाइ छ।

१४ औं महाधिवेशनले पार्टीमा उत्पन्न चिसोपनालाई हटाएर चुनावमा जानुपर्नेमा नेता महरले जोड दिए । काँग्रेस आन्तरिक एकताका साथ निर्वाचनमा होमिए काँग्रेसलाई कसैले पनि हराउन नसक्ने उनको भनाई छ । ‘गाउँ–गाउँ जाऔं, काँग्रेस जिताऔँ’ अभियानमा वर्तमान सरकारका उपलब्धि, तीन वर्षे ओली  शासनका काण्ड र एमसीसीबारे जनतालाई प्रस्ट पार्नुपर्ने महरले बताए ।

महरले चुनावी गठबन्धन कुनै सिद्धान्त नभई स्थानीय आवश्यकताका आधारमा गरिनुपर्ने बताए । साथै उनले ६ हजार ७ सय ४३ वटा वडाबाट आएको रिपोर्टका आधारमा केन्द्रीय समितिले गठबन्धनबारे निर्णय लिनुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप