शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : श्रममन्त्री श्रेष्ठ

शनिबार, ०५ चैत २०७८, १४ : १०
शनिबार, ०५ चैत २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दीकी नेतृत्वको समूहले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेको हो । 

भेटवार्तामा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।

भेटका क्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफु प्रयत्नशील रहेको बताए । मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पूँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

व्यवसायीहरुले युएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताएका थिए । भिजिट भिसा सम्वन्धी समस्या समाधानका लागि युएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म युएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरुलाई मिनाहा गर्न र नेपाल लैजानै पर्नेहरुलाई उद्धारमा सहयोग गर्ने प्रतिवद्धता युएई सरकारले जनाएको बताए ।

नेपाली बिजनेस काउन्सिलका पदाधिकारीहरुले युएईमा व्यापारको राम्रो अवसरका साथसाथै यसका चुनौतीका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । नेपाली बिजनेस काउन्सिल यूएईको दुबईमा व्यापार गरिरहेका नेपाली व्यवसायीहरुको सरकारी निकायमा दर्ता भएको व्यापारिक संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप